काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीको यही मे ११ देखि हुने भनिएको दुईदिने नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ । नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै हुन लागेको यो उच्चस्तरीय भ्रमण औपचारिक रुपमा तय हुन नपाउँदै स्थगन हुनुलाई निकै चासोका साथ हेरिएको छ । 

औपचारिक रुपमा घोषणा नगरिएको भएपनि मे ११ देखि मिश्रीको नेपाल भ्रमण तय भएको थियो । बिभिन्न संचारमाध्यमहरुले उनको नेपाल भ्रमण नयाँ दिल्लीको विशेष आग्रहमा स्थगित गरिएको जनाएका थिए । 
भारतीय पक्षले विदेश सचिव मिश्रीको कार्यव्यस्तता र पूर्व–निर्धारित प्रतिबद्धताका अन्य कार्यक्रमहरुका कारण तत्काल नेपाल भ्रमणमा आउन नसक्ने जानकारी नेपाल सरकारलाई गराएको परराष्ट्र मन्त्रालय श्रोतको बनाई रहको छ।

नयाँ सरकारसँगको संवादमा पूर्णविराम
बालेन्द्र शाहको नेतृत्वमा नयाँ समीकरण बनेपछि भारतबाट हुन लागेको यो पहिलो औपचारिक कुटनीतिक भ्रमण थियो। भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री र अन्य उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको थियो। नयाँ सरकारका प्राथमिकताहरू बुझ्न र दुई देशबीचका थाती रहेका द्विपक्षीय मुद्दाहरूमा छलफल गर्न यो भ्रमणलाई प्रारम्भिक ’ग्रउन्ड वर्क’का रूपमा लिइएको थियो।

स्थगनका कारण र अन्यौलता


भारतले आधिकारिक रूपमा ’कार्यव्यस्तता’ लाई कारण देखाए पनि कुटनीतिक वृत्तमा भने यसलाई विभिन्न ढङ्गले विश्लेषण गर्न थालिएको छ। विशेषगरी नेपालको बदलिँदो राजनीतिक परिदृश्य र नयाँ सरकारको कार्यदिशाप्रति नयाँ दिल्लीले सूक्ष्म अध्ययन गरिरहेको बुझिन्छ। यद्यपि, भ्रमण पूर्ण रूपमा रद्द नभई केही समयका लागि मात्र सारिएको स्रोतको दाबी छ।

भारतीय राजदूतावास वा नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणको अर्को मितिबारे हालसम्म कुनै औपचारिक जानकारी दिएका छैनन्। नयाँ दिल्लीले थप विवरण सार्वजनिक नगरेका कारण यो स्थगनले केही समयका लागि दुई देशबीचको उच्चस्तरीय संवादमा ’पर्ख र हेर’ को स्थिति सिर्जना गरेको छ।

नेपाल–भारत सम्बन्धका जानकारहरूका अनुसार, यो भ्रमण हुनु र नहुनुले नयाँ सरकारप्रतिको भारतीय दृष्टिकोणलाई संकेत गर्ने भएकाले अबको केही समय कुटनीतिक हिसाबले निकै महत्वपूर्ण मानिनेछ।