काठमाडौँ, नेपाल । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ। बुधबार काठमाडौँमा महासङ्घद्वारा आयोजित कार्यक्रममा व्यवसायीमाथिको धरपकड भने गलत भएको जनाइएको छ।

महासङ्घको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदबहालीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खिमनारायण पराजुलीले व्यवसायीमाथिको धरपकडप्रति रोष व्यक्त गरेका छन्।

"सरकारका सकारात्मक कामप्रति समर्थन र गलत कार्यप्रति हाम्रो खबरदारी रहने छ, तर अनावश्यक रूपमा व्यवसायीलाई आतङ्कित तुल्याउनु राम्रो विषय होइन," पराजुलीले भने। अध्यक्ष पराजुलीले बजार व्यवस्थापनका नाममा व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्दै भने, "गैरकानुनी रूपमा भएका गतिविधिमाथि नियन्त्रण गर्नु जायज भए पनि अनावश्यक रूपमा व्यवसायी तर्साउने कदमको महासङ्घले प्रतिवाद गर्नेछ।"

पराजुलीले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भए पनि यसको कार्यान्वयनलाई व्यावहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताए।

बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बीजकीकरणलाई निर्मूल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव हुने उनले बताए।

उनले एमआरपी कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योगी तथा व्यवसायीसँग परामर्श र समन्वय, साना व्यवसायीका लागि सहजीकरण र अभिमुखीकरण, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा 'क्यूआर–बारकोड' प्रणालीको विकास, र स्वदेशी उद्योग तथा उत्पादनलाई सहुलियत दिनुपर्ने लगायतका सुझाव समेत दिएका छन्। साथै, एमआरपी सम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार, निजी क्षेत्र र उपभोक्ताबीच निरन्तर संवाद तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी शैक्षिक परामर्श फर्महरूमा सरकारले छापा मारेको विषयमा पनि महासङ्घले आफ्नो धारणा सार्वजनिक गरेको छ। अध्यक्ष पराजुलीले अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायी फर्महरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न दबाब दिने, नभए नियमअनुसार कारबाही गर्नुको विकल्प नभएको बताए।

पत्रकार सम्मेलनमा महासङ्घका नवनिर्वाचित महासचिव सूर्य थापा (विक्रम) ले 'राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण' को नारा बोकेर स्थापना भएको महासङ्घले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउने बताए।

महासङ्घको राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ, जसमा पछि ७ जना थपिनेछन्।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।