- प्रतिष्ठानले नेपाली लोक तथा दोहोरी सङ्गीत क्षेत्रको वर्तमान अवस्था र चुनौती समेटिएको प्रतिवेदन संस्कृति मन्त्रीलाई हस्तान्तरण गरेको छ।
- लोक सङ्गीतमा बढ्दो विकृति, अश्लीलता र सिर्जना चोरी नियन्त्रण गर्दै मौलिकता जोगाउन राज्यको ध्यानाकर्षण गराइएको छ।
- कलाकारको सामाजिक सुरक्षा, स्वास्थ्य बिमा र दोहोरी साँझलाई व्यवस्थित एवं मर्यादित बनाउन स्पष्ट कानुनी मापदण्डको माग गरिएको छ।
- सङ्गीत क्षेत्रलाई सांस्कृतिक पर्यटनसँग जोड्दै कलाकारको श्रमको उचित मूल्याङ्कन र प्रोत्साहनका कार्यक्रम ल्याउन प्रतिवेदनले सुझाव दिएको छ।
काठमाडौँ, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेललाई ‘नेपाली लोक तथा दोहोरी सङ्गीत क्षेत्रको एकीकृत प्रतिवेदन–२०८३’ हस्तान्तरण गरेको छ। प्रतिवेदनमा नेपाली लोक तथा दोहोरी सङ्गीतको वर्तमान अवस्था, चुनौती, सम्भावना र राज्यले खेल्नुपर्ने भूमिकाबारे विस्तृत सुझावहरू समेटिएका छन्।
नेपाली लोक तथा दोहोरी सङ्गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्रका रूपमा विकास हुँदै गएको विषय प्रतिवेदनमा उल्लेख छ। पछिल्ला वर्षहरूमा लोक सङ्गीतप्रति युवा पुस्ताको आकर्षण समेत निकै बढेको छ। प्रविधिको द्रुत विकाससँगै डिजिटल माध्यममार्फत नेपाली लोक गीत विश्वभर सहजै पुग्न थालेकाले यस क्षेत्रको पहुँच र विस्तार झनै फराकिलो बनेको हो।
हाल हजारौँ कलाकार, सर्जक र व्यवसायी यस क्षेत्रमार्फत रोजगारीमा आबद्ध भएका छन्। यद्यपि, लोक सङ्गीत क्षेत्रमा विकृति र विसङ्गति समेत उत्तिकै बढ्दै गएका छन्। सङ्गीतको मौलिकता हराउँदै जानु, अश्लील तथा भड्किलो प्रस्तुति बढ्नु, सिर्जनाको चोरी हुनु, कलाकारको श्रमको उचित मूल्याङ्कन नहुनु र डिजिटल प्लेटफर्ममा सामग्रीको दुरुपयोग हुनुजस्ता समस्याप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराइएको छ।
प्रतिवेदनमा लोक कलाकारहरूको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ। ज्येष्ठ कलाकार, आर्थिक रूपमा कमजोर सर्जक तथा ग्रामीण क्षेत्रका कलाकारलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, दुर्घटना बिमा र नियमित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
त्यस्तै, देशभर सञ्चालन भइरहेका दोहोरी साँझलाई व्यवस्थित, मर्यादित र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ। दोहोरी साँझलाई स्पष्ट कानुनी मान्यता प्रदान गर्दै सञ्चालन मापदण्ड तयार गर्न, कलाकारको पारिश्रमिक सुनिश्चित गर्न र यसलाई सांस्कृतिक पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न माग गरिएको छ।
कतिपय लोक गीतमा परिवारसँगै बसेर हेर्न नसकिने खालका छाडा शब्द र अङ्ग प्रदर्शन भइरहेको भन्दै प्रतिवेदनले गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता विकृति र विसङ्गति रोक्न सरकारी तहबाट मात्र नभई स्वयम् सरोकारवालाहरू पनि उत्तिकै जिम्मेवार र सचेत हुन जरुरी देखिएको छ।
