काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी साता दक्षिणी छिमेकी भारत भ्रमणमा जाने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।
समाचार स्रोतका अनुसार उनी भारतीय विदेश मन्त्रालय को निमन्त्रणामा यही जेठ १८ र १९ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। यद्यपि, उक्त भ्रमणबारे हालसम्म आधिकारिक रूपमा कुनै पुष्टि गरिएको छैन।
नेपालको नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले कूटनीतिक सम्बन्ध कसरी स्थापना गर्छ र विशेषगरी छिमेकी मुलुकसँग आफ्नो राजनीतिक तथा कूटनीतिक सम्बन्ध कसरी विस्तार गर्छ भन्ने विषयमा चासो बढिरहेका बेला सभापति लामिछानेको सम्भावित भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी, भारतसँगको सम्बन्ध नेपालका लागि संवेदनशील र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण मानिन्छ। त्यसैले यस्तो उच्चस्तरीय भेटघाटको सम्भावना कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। तर, यस्तो भ्रमण सत्तारुढ दलका सभापतिभन्दा प्रधानमन्त्री स्तरबाट भए अझ औपचारिक र संस्थागत हुने धारणा पनि व्यक्त गरिएको छ।
स्रोतहरूका अनुसार रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह तत्काल भारत भ्रमणमा जान इच्छुक नदेखिएकाले सभापति लामिछानेलाई पठाउने तयारी गरिएको बताइएको छ। यसअघि प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका क्रममा भारतीय अधिकारीहरू नेपाल आउन इच्छुक रहे पनि भेटघाटको समय तय नहुँदा भ्रमण स्थगित भएको दाबी समेत गरिएको छ।
यद्यपि, यी सबै विषयहरूबारे रास्वपा वा भारतीय पक्षबाट औपचारिक धारणा सार्वजनिक भएको छैन। लामिछानेले सरकारको समेत प्रतिनिधित्व गर्दै भारत जाने चर्चा गरिए पनि भ्रमणको यथार्थता र एजेन्डाबारे अझै स्पष्टता आएको छैन।
स्रोतका अनुसार उक्त भ्रमणलाई केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित नराखी पार्टीगत स्तरमा समेत विस्तार गर्ने तयारी गरिएको छ। सो क्रममा उनलाई भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको दाबी गरिएको छ, जहाँ उनले भाजपा नेतृत्वसँग राजनीतिक संवाद गर्ने सम्भावना रहेको बताइएको छ।
