सिराहा। एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटल पावन मिथिलामा भव्यताका साथ सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रवीणकुमार लामाको अध्यक्षतामा यही जेठ १५ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित स्थानीय किसान, कृषि व्यवसायी तथा सरोकारवालाहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि जिल्ला उपसभापति दिलीपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणमा यस्ता अन्तरक्रियाहरूको ठूलो भूमिका रहने बताए।
कार्यक्रममा प्राविधिक तथा व्यावसायिक पक्षमाथि गहन छलफल भएको थियो। पशु विज्ञ जगत यादवले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक बन्न र आगामी दिनमा आफ्नो व्यवसायलाई आधुनिक तथा नाफामूलक कसरी बनाउने भन्नेबारे विस्तृत जानकारी गराए। साथै कम्पनीका अर्का सञ्चालक प्रदीप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना तथा किसान लक्षित विभिन्न कार्यक्रमहरूमाथि प्रकाश पार्दै कम्पनीले किसान हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अन्तरक्रियाका क्रममा उपस्थित किसानहरूले आफ्ना व्यावहारिक समस्याहरू राख्दै महत्वपूर्ण सुझावहरू दिएका थिए। उनीहरूले उत्पादित कृषि सामग्रीको बिक्रीका लागि व्यवस्थित बजार प्रणालीको विकास गर्न, प्राकृतिक प्रकोपबाट बच्न बाली बीमाको व्यवस्था मिलाउन, उत्पादन सुरक्षित राख्न कोल्ड स्टोर (शीत भण्डार) स्थापना गर्न तथा सरकार र बैंकहरूबाट उपलब्ध अनुदानमा आधारित कृषि कर्जाका लागि कम्पनीले समन्वयकारी भूमिका खेलिदिन आग्रह गरेका थिए।
