काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उपयुक्त समय आएपछि मात्र विदेश भ्रमण सुरु गर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका मन्त्री खनालले आइतबार दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारतसहित अन्य मुलुकको सम्भावित भ्रमणबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त धारणा व्यक्त गरेका हुन्।
पछिल्लो समय प्रधानमन्त्री शाहले विशेषगरी दक्षिणी छिमेकी भारतको भ्रमण नगरेको, तर सत्तारूढ दलका शीर्ष नेताहरूले भने विदेश भ्रमण गरिरहेको भन्ने चर्चाबीच मन्त्री खनालको यस्तो प्रतिक्रिया आएको हो। उनले प्रधानमन्त्रीको विदेश भ्रमणलाई लिएर कुनै भ्रम नराख्न आग्रह गर्दै आवश्यक तयारी र उपयुक्त समयको प्रतीक्षामा सरकार रहेको स्पष्ट पारे।
उनका अनुसार वर्तमान सरकार आर्थिक वर्षको अन्त्यतिर गठन भएकाले सुरुवाती चरणमै बजेट निर्माण, नीतिगत प्राथमिकता निर्धारण तथा जनअपेक्षाअनुसार तत्काल देखिने काम अघि बढाउनु प्राथमिकतामा परेको छ।
“जनताले ठूलो अपेक्षासहित मत दिनुभएको छ। त्यसैले छोटो समयमै परिणाम देखाउनुपर्ने दबाब छ,” मन्त्री खनालले भने, “प्रधानमन्त्री काममार्फत परिणाम दिन प्रतिबद्ध हुनुहुन्छ।”
उनले सरकार अहिले आन्तरिक सुशासन सुदृढीकरण, सेवा प्रवाह सुधार, आर्थिक गतिविधि चलायमान बनाउने तथा विकास आयोजनाहरूलाई गति दिने कार्यमा केन्द्रित रहेको बताए। यसका साथै अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन कूटनीतिक तहमा आवश्यक गृहकार्य भइरहेको पनि उनको भनाइ छ।
“विदेश भ्रमण केवल औपचारिकता नभई राष्ट्रिय हितसँग जोडिएको विषय हो,” उनले भने, “त्यसैले आवश्यक तयारी पूरा भएपछि र द्विपक्षीय हितअनुसार उपयुक्त समय आएपछि प्रधानमन्त्रीको भ्रमण तय हुनेछ।”
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा प्रारम्भिक कूटनीतिक छलफल भइरहे पनि औपचारिक मिति भने तय भइसकेको छैन। नेपाल–भारतबीच व्यापार, ऊर्जा, पूर्वाधार तथा सीमासम्बन्धी विषयमा उच्चस्तरीय संवाद आवश्यक रहेकाले उक्त भ्रमणलाई महत्वका साथ हेरिएको छ।
सरकार गठनपछि छोटो अवधिमै प्रभावकारी काम देखाउनुपर्ने दबाब, बजेट कार्यान्वयनको चुनौती तथा प्रशासनिक सुधारका एजेन्डा अगाडि बढाइरहेको वर्तमान अवस्थामा प्रधानमन्त्रीको विदेश भ्रमणलाई रणनीतिक रूपमा अघि बढाइने सरकारको संकेत छ।
