काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रमा उत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी पुरस्कृत गरिएको छ। ‘अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६’ अन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो।
पुरस्कृत हुनेहरू तीन विभिन्न विधामा चयन गरिएका छन्। ती विधाहरूमा ‘बेस्ट इन्गेजमेन्ट भिडियो’, ‘बेस्ट ब्राण्ड भिडियो’ र ‘बेस्ट कन्सेप्ट एण्ड स्टोरीटेलिङ’ समावेश छन्।
‘बेस्ट इन्गेजमेन्ट भिडियो’ विधामा नमामी शाक्यले जित हासिल गरिन्। उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। ‘बेस्ट ब्राण्ड भिडियो’ विधामा प्रथा जोशी उत्कृष्ट भइन् र उनले पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। ‘बेस्ट कन्सेप्ट एण्ड स्टोरीटेलिङ’ विधामा सुभाना कायस्थ विजयी भइन् र उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
प्रत्येक विधामा अन्तिम छनोटमा परेका तीन–तीन जनाको नामावली सार्वजनिक गरिएको थियो। तीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा एक–एक जना विजेता घोषणा गरिएको हो। त्यसपछि विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
विजेताहरूलाई अजमेरा फेशन लिमिटेड, भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय अजमेराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन्। ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिको प्रस्तुति तथा अजमेरा फेसन प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
आयोजकका अनुसार, यस अवार्ड कार्यक्रमले पछिल्लो समय फेसन तथा डिजिटल क्षेत्रमा सक्रिय सर्जक, स्टोरीटेलर, इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको सिर्जनशील कार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा फेसन क्षेत्रका व्यवसायी, कलाकार, सामाजिक सञ्जाल प्रभावक, डिजिटल क्रिएटर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। आयोजकले यस कार्यक्रमलाई सिर्जनशीलता, नेटवर्किङ, प्रेरणा र सम्मानको साझा मञ्चका रूपमा प्रस्तुत गरेको जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल कन्टेन्ट निर्माण र फेसन उद्योगको विस्तारसँगै यस्ता अवार्ड कार्यक्रमहरू पनि बढ्दै गएका छन्। यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई प्रिफ्याब प्यानल नेपाल, १०० पसल कुमारीपाटी, जेबी अटोमोटिभ तथा कलश स्टक मार्केटलगायत संस्थाहरूले सहयोग गरेका छन्।
