काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई ‘सर्वोत्कृष्ट महिला गीतकार (सुगम संगीत)’ अवार्ड प्रदान गरिएको छ। आइतबार काठमाडौंमा आयोजित नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड)मा उहाँलाई ‘माटोको सुगन्ध’ गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो।
उक्तै गीतबाट ‘सर्वोत्कृष्ट संगीतकार’ अवार्ड सिक्किमका जीवन शर्मालाई प्रदान गरिएको थियो।
समारोहमा वरिष्ठ अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द र चैतदेवी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकार मोहन निरौला, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, पूर्व अध्यक्ष रविन्द्र खड्का, गायक शिव परियार, सीताराम पोखरेललगायत कलाकार तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजना तथा इरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा संगीत, साहित्य, पत्रकारिता, कला, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।
समारोहमा कार्यक्रमका अध्यक्ष माधवराज खरेल र संयोजक कमला जोशी रहनुभएको थियो भने कार्यक्रमको निर्देशन सनम कठायतले गर्नुभएको थियो। सो अवसरमा विभिन्न ३० विधामा जुरी अवार्ड प्रदान गरिएको थियो।
