काठमाडौँ | फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान लस एन्जलसस्थित रङ्गशालामा भएको खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को सहज र सानदार जित दर्ता गरेको छ। यो जितसँगै स्पेन जारी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश मात्र गरेको छैन, बरु विश्वकपको नकआउट चरणमा १६ वर्षदेखि जित्न नसकेको नमीठो इतिहासलाई समेत बदल्न सफल भएको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै उपाधि चुमेयता स्पेनले पहिलो पटक विश्वकपको नकआउट खेलमा जितको स्वाद चाख्न पाएको हो।

स्पेनलाई ऐतिहासिक सफलता दिलाउने क्रममा स्टार खेलाडी मिकेल ओयाजाबालले दुई गोल गर्दै मैदानमा जादुमयी प्रदर्शन गरे भने पेड्रो पोरोले एक गोल थपे। खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको स्पेनले ३६ औँ मिनेटमा पहिलो अग्रता लिएको थियो। मार्क कुकुरेलाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै ओयाजाबालले बललाई जाली चुमाएका थिए। यो गोल स्पेनका लागि निकै भावुक र ऐतिहासिक बन्यो; किनभने सन् २०१० को फाइनलमा आन्द्रेस इनेस्टाले गरेको विजयी गोलपछि विश्वकपको नकआउट चरणमा स्पेनले गरेको यो नै पहिलो गोल थियो।

खेलको पहिलो हाफमा स्पेनले गोल गर्ने थप अवसरहरू सिर्जना गरे पनि अस्ट्रियाका गोलकिपर अलेक्जान्डर स्लागाको उत्कृष्ट प्रदर्शनका कारण अग्रता बढाउन सकेन। खेलको २९ औँ मिनेटमा नै कुकुरेलाले गोल गरिसकेका थिए, तर रेफ्रीले त्यसलाई फाउल घोषित गर्दै अस्वीकार गरिदिएका थिए। यद्यपि, दोस्रो हाफमा स्पेनले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। ६६ औँ मिनेटमा एलेक्स बाएनाको सटिक क्रसमा पेड्रो पोरोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने ८९ औँ मिनेटमा ओयाजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित सुनिश्चित गरे।

यो खेलमा दुई गोल गरेसँगै ओयाजाबालको जारी विश्वकपमा गोल सङ्ख्या चार पुगेको छ, जसले उनलाई गोल्डेन बुटको प्रतिस्पर्धामा बलियो रूपमा उभ्याएको छ। हाल विश्वकपको सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसी ६–६ गोलसहित शीर्ष स्थानमा छन् भने एर्लिङ हालान्ड र ह्यारी केनको नाममा ५–५ गोल रहेको छ। अब अर्को चरणमा स्पेनले पोर्चुगल र क्रोएसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ, जहाँ १६ वर्षको खडेरी तोडेको स्पेनको वास्तविक परीक्षा हुनेछ।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।