- लेखकले स्वादिलो वाम माछा र सत्ताका लोभी वामपन्थी राजनीतिज्ञबीच तुलना गर्दै राजनीतिक विसङ्गति र भ्रष्टाचारमाथि कडा व्यङ्ग्य गरेका छन्।
- वामपन्थी दलहरूले जनवादको नाममा धनवाद र डनवादलाई प्रश्रय दिएको तथा सत्ताका लागि सिद्धान्तहीन सम्झौता र एकता गर्ने गरेको कुरा उल्लेख छ।
- दशकौँसम्म देश र जनतालाई ढाँटेर व्यक्तिगत स्वार्थमा लिप्त नेताहरूका कारण वामपन्थी राजनीतिको अस्तित्व हाल गम्भीर सङ्कटमा परेको विश्लेषण गरिएको छ।
माथि उल्लेख गरिएका एक जोडी नाम हुन् "वाम र खाम"। तपाईंले आफ्नो जीवनकालमा पक्कै पनि कहीँ न कहीँ त सुन्नुभएकै हुनुपर्छ यी दुवै नाम। सुरुमा नै कुन वाम र कुन खामको कुरा आयो फेरि भनेर तपाईं अलि छक्क पर्नुभयो होला है, हैन त? यदि म कुनै पनि वाम नाम पर्ने दलको खाम झोला बोकेको मानिस भएको भए त्यही दलको दलदलमा पक्कै पनि पर्ने थिएँ होला। हुन त शाब्दिक हिसाबले 'दल' र 'दलाल' यी दुवै अलग-अलग हुन्, तर नेपाली माटोमा यत्रतत्र हुँदै सर्वत्र फैलिएर ह्वास्सै गन्हाएका नाम हुन् यी दुवै। उस्तै परे नाकको प्वाल समेत फोर्न सक्ने तागत छ यी दुवै शब्दमा। सुरुमा नै यसको उखानसँगै बखान सुन्ने बाध्यता आइलागेमा पक्कै पनि तपाईंको कम्पारो तात्न सक्ने मेरो पूर्वानुमान छ। तपाईंले मुख नै कुल्ला गर्नुपर्ला कि भन्ने ठानेर नै मैले कुरा अलि अन्तैबाट सुरु गर्न चाहन्छु।
तर यसको ठीक उल्टो तरिकाले पो मैले वाम र खामको बारेमा कुरा बुझेको रहेछु। आफू वामेसर्न सिकेसँगै मैले सुनेको एउटा सुन्दर तथा मिठो नाम हो वाम। आज पनि वाम भन्नेबित्तिकै मलाई त किन हो खै, मुखबाट पानी रसाइहाल्छ अनि खाऊँ-खाऊँ झैँ लागेर आइहाल्छ। यो लेखकले कुन वामको कुरा कोट्यायो भन्ने ठानेर तपाईंलाई अवश्य पनि आश्चर्य लागिसक्यो होला! मैले त उता गाउँघरका खोलाटोलातिर पाइने, पसल-पसलमा असल तरिकाले बेच्न राखिएका 'वाम माछा'को कुरा पो गर्दै छु त।
मानिसको शरीरलाई चाहिने मुख्य तत्व प्रोटिनका हिसाबले पनि फाइदा पुग्ने वाम माछा खान पाएमा कसलाई पो काइदा लाग्दैन होला र? आफू जस्तै छत्तौरे केटाहरूसँगै फत्तौरे कुरा गर्दै झोला बोकेर खोलातिर गएको कुरा सम्झिँदा वामको नाम अहिले पनि मलाई झलझल्ती याद आइरहन्छ। ठुला वामले साना वामलाई त पक्कै खान्छन् होला, तर त्योबाहेक वामले खोला, पोखरी वा तालतलौमा बस्दा के लाउँछन् होला वा के खान्छन् होला? हिलो, ढुँसी, लेउ लगायत झारपात, किराफट्याङ्ग्रा आदि कुरा खाने त होलान् नि! खोलाको वामलाई कसैले पनि चारो दिँदैन, बरु घारो लगेर मार्छन् र आफ्नै भुँडीतिर हालेर लुँडी पारेर पाखानामा झार्छन्, कि कसो हजुर!
केही खाने अवसर पाउँदा यी खोले वामहरू पनि बिनासर्त जुट्छन् होला, अनि सानो कुरामा मत नमिल्दा यिनीहरू पनि त फुट्छन् होला। तर यिनीहरू फुटे पनि वा जुटे पनि तालकै बेताल त बनाउँदैनन् होला! खोलाकै चोला सकाउने काम गरेर बदनाम पनि त गरेका हुँदैनन् होला। खान पाइएला कि नपाइएला भनेर कहिल्यै पनि डाको छोडेर रुँदैनन्। यो कुरा मलाई केवल मनमा लागेको मात्र होइन, बरु वामहरूको खामनीति देखेर मेरो निद्रा नै कता-कता भागेको भने पक्का हो। नौबिसेदेखि धुन्चेहुँदै रुच्चे स्वरमा यो कुरा सुनिएकै हो। अब म वामहरूको रामकहानी मात्र हैन कि, खामकहानी पनि यसै निबन्धमा विस्तारित गर्दै जाने अनुमति चाहन्छु।
वर्तमान परिप्रेक्ष्यमा, खोले-टोले वामको कुरासँगै अब ढोले र टोले वामको कुरा पनि गरौँ। ढोलेहरूले विकासको कुरा गरेर निकास दिने भन्दै ढोल पिटेका हुन्। उनीहरू विगत चार दशकदेखि विभिन्न खाले ढसक पारेर गाउँसहरमा लसक-लसक डुलेकै हुन्। कहिले जुट्ने, कहिले टुट्ने, फुट्ने र देशै लुट्ने काममा यिनीहरूले नाम कमाएकै हुन्। यो कुरा दिनको घाम र रातको जूनझैँ प्रस्ट नै छ, हैन र? छैन भन्न सक्ने खै को छ? गाँस र बाससँगै देशमा केही गर्लान् भन्ने आशमा भोट दिएको बदलामा उनीहरूले चोट मात्र दिए। राष्ट्रको रकम लुटेर नोट जति सबै के-कसरी कुम्ल्याएर आफैँ लिए, हे प्रभु! हामीले खै कसरी सहनु यिनको यो जाली र बेइमानी काम र कुरा!
"ढोले र टोले वामहरूमा एउटा बडो गजबको गुण हुन्छ। सत्ता र भत्ता नपाउँदा ठुला कुरा गर्ने यिनीहरू दुईजिब्रे प्राणी हुन्। कहिले देशभक्तिका कुरा गरेर भोट लुटे, कहिले शासनसत्ताको मोहनीमा परेर देशका जनता नै कुटे।"
ढोले र टोले वामहरूमा एउटा बडो गजबको गुण हुन्छ। सत्ता र भत्ता नपाउँदा ठुला कुरा गर्ने यिनीहरू दुईजिब्रे प्राणी हुन्। कहिले देशभक्तिका कुरा गरेर भोट लुटे, कहिले शासनसत्ताको मोहनीमा परेर देशका जनता नै कुटे। विभिन्न नामधारी वामहरूको काम नै गाउँका कुकुर भुकाउने र जनता झुक्काउने हो। तर जनतालाई सधैँ ढाँट्न नसकिने रहेछ। यो कुरा बल्ल यी 'माल पाएर चाल नपाउने' कमालका जीवले बुझेको हुन सक्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ। यो कुरा सुन्दा यिनका हनुमानको श्वास नै कुन बेला रोकिन्छ, त्यो कुरा अलि थाहा भएन। यसरी भन्दा कसैको खास केही पनि गएन।
अब कुरा आउला फेरि, के यिनीहरूको कुनै दर्शन वा सिद्धान्त हुन्छ कि हुँदैन? हो, यिनको दर्शन अवश्य पनि हुन्छ। यिनीहरू जनवादका पारखी नै हुन्छन्। जस्तै: कोही बाउँदलीय जनवाद मान्छन्, कोही आमादलीय, दाई, भाई, दिदी, बहिनी, सासू, ससुरा, नातागोता आदि दलीय जनवाद मान्छन्। विरोधीहरूलाई यिनीहरूले कहिले बोलेर त कहिले पोलेर ठाउँको ठाउँ काँचै खान्छन्। यिनीहरूले आफूलाई खै के-के न ठान्छन्, त्यो त उनीहरू नै जानून्। हातमा लिएकै त थिए नि देशको नियम-कानुन!
जनवादसँगै धनवाद पनि यिनीहरूको अर्को महत्त्वपूर्ण दर्शनको पाटो रहेको छ। धन-पैसा पायो कि अरबौँ-अरब पनि एकै पटक हसुर्न सक्ने दैवी क्षमता यी वामहरूमा रहेको पाइन्छ। घरजग्गा जोड्ने लगायतका काण्डहरूमा विश्वब्रह्माण्ड हल्लाउने क्षमताका धनी हुन्छन् यिनीहरू! साथै कुर्सीमा हुँदा यिनीहरूको फुर्ती नै गजबको हुन्छ। आसेपासे, झोलेझाम्टे र चम्चेहरू नै यी वामहरूका ठुला सारथी रहेका हुन्छन्। तर यिनीहरूभन्दा अझै धेरै कुम्ल्याउन सक्ने शेरहरू पनि अहिले धुमधामसँग विदेशतिर घुमघाम गरिरहेको कुरा सुन्नमा आएको छ। शेरदेखि शमशेरका छोरानातीले समेत लुटेको देशमा वामको कुरा गरेर मात्र काम सकिँदैन।
अझ धेरै गहिरो कुरा गरेर ठुलै पहिरो नै हालौँ होला कि! जनवाद र धनवादसँगै डनवादको विकास गर्ने पनि यिनै वामहरू नै हुन् भनेर हामीले जुग जमानादेखि बुझेको कुरा हो। डनहरू पालेर चुनावमा तिनैलाई भोट हाल्न लगाएर यिनीहरू जमेका हुन्। शासनसत्तामा रजगज गरेर भत्तामा रमेका पनि त हुन्।
जसरी खोलाका वाम माछाहरू पानीबिना एक मिनेट पनि बाँच्न सक्दैनन्, त्यसै गरी यी लोभीपापी वामहरू पनि सत्ताको रसास्वादनबिना एक दिन पनि काट्न सक्दैनन्; जुन कुरा यिनीहरूको अहिलेको रुवाबासी देखेर लख काट्न कुनै गाह्रो हुँदैन। सत्ताको स्वादबिना यिनीहरूको शरीरको नसामा रगत नै बन्द होला झैँ भएको छ। आजभोलि सोसल मिडियामा छ्यापछ्याप्ती यो कुरा सत्य साबित हुँदै गएको पनि त छ।
यही असार महिनाको सुरुको एक दिन वाम दलका खाम कमरेडहरू मिलेर एउटै मञ्चमा गुँड बनाएर जनवादको अण्डा कोरल्दै ओथारो बसिरहेको पाइएको छ। साथमा उनीहरूले आफ्ना जननेतालाई सम्झेर निकै रोइलो गरेको कुरा पनि अपुष्ट खबरमा छ। अब यी खाम कमरेडहरूले टाउकोमा एक-एक किलो हिउँ बोकेर हिँड्ने र सत्ताको पिरले तातेर रन्केको जिउ चिस्याउने बारेमा आपसी सरसल्लाह समेत भएको कुरा विभिन्न अखबारहरूले समेत छापेको छाप्पै छन्। यो कुरा अरिष्ट वाम नेता खामरेड छलनाथले प्रस्ताव गर्नुभएको बुझिएको छ। अरूले भने हात हल्लाएर साथ दिन सहमति जनाएका छन्।
"यी दलहरूका वयोवृद्ध नेताहरू सत्ताको स्वर्ग अब नपाइने पिरले सुकेनास लागेको बिरामी झैँ भएका छन्। कहिले एकता त कहिले 'ए कता?' को अनेक नाटक मञ्चन गरेको गर्यै छन्।"
खोला वा पोखरीका वामहरू, जब भलाबाढी आउँछ तब पुरै सङ्कटमा पर्छन् या त उनीहरूले जीवन नै गुमाउन पुग्छन्। समुद्रमा सुनामी आउँदा वाम माछाको अस्तित्व पुरै समाप्त हुन्छ। यता पनि गत फागुन २१ गते २०८२ मा आएको सुनामीमा परेर वामहरूको अस्तित्व सङ्कटमा परेको हो। यस महासङ्कटको घडीमा यी वामहरू कुहिरोको काग झैँ निकै अलमलमा परेका छन्। कहिले ज्वरोले थलिएको बिरामी झैँ बर्बराइरहेको कुरा बाहिरिएको छ। उता यी दलहरूका वयोवृद्ध नेताहरू सत्ताको स्वर्ग अब नपाइने पिरले सुकेनास लागेको बिरामी झैँ भएका छन्। कहिले एकता त कहिले 'ए कता?' को अनेक नाटक मञ्चन गरेको गर्यै छन्। जे होस्, यस पीडाले सबै वाम तथा खाओवादीहरूको निद्रा एकै पटक हराम भएको कुरा सजिलै बुझ्न सकिन्छ।
समाजवादको नारा उराल्दै देशलाई स्वर्ग बनाउने कसम खाएका वामहरू आफूसँगै आफ्नाहरूलाई बनाउन सफल त भए, तर हिजो जनतालाई बाँडेका सपना खै कहाँ गए? यो कुरा वृद्धदेखि बालक सबैले बुझेका छन्। टोलेदेखि ढोले वामहरूले आफ्नो जिन्दगी बनाएका छन् भने जनता र देशको सपनामाथि चिसो पानी खन्याएका छन्। यो कुरामा कुनै शङ्का गर्न लङ्का जानुपर्दैन।
यता वामहरू सकिने कि फेरि बौरेर उठ्ने भन्ने जीवन-मरणको दोसाँधमा छन्, तर उनीहरू पुनः उठ्न सजिलो हुने छैन। यिनीहरूको हरिविजोग देखेर अब कुनै पनि देशवासीको मन कदापि रुने छैन। सरकारका कदम एकपछि अर्को गर्दै कठोर बन्दै गएमा आगामी दिन वामहरूका लागि दुःखदायी हुने अनुमान गर्न कुनै अप्ठ्यारो छैन। दशकौँसम्म नकाम गरेका वाम र खामवादी आउनुभन्दा रवि दाईका गोठालाहरूको रजगज केही समय चल्नेछ। "खाने नै भए नयाँले खाऊ, तर देश बनाऊ।" यो कुरा जनजनको मनमनमा छैन भन्न सकिँदैन। यसर्थ, पटकौँ पटक चुसेर ढाडिएका किर्नाहरू अब केही समय बाहिरै बसून्, सिंहदरबारतिर भने नपसून्।
वामको कुरासँगै देश चुस्ने व्यापारी, कर्मचारी तथा घुसखोर जति सबैको सातो जाने गरी बालेन सरकारको बुताले पनि केही नाप्न सकेन भने पुनः अर्को सुनामी नआउला भन्न सकिँदैन। वाम लगायत सबैलाई खाम्ला झैँ गरेर यो सरकार लागेको झैँ देखिएको त छ, तर यसको पनि गर्जन मात्र ठुलो तर कामले माखो मार्न नसक्ने हो भने छिट्टै यो पनि धुलोमा मिल्ने दिन आउनेछ। यदि यसो भएमा पुनः वामहरूको खाम यात्रा तय हुनेछ। तर जनताले यति सजिलै यी बैगुनीका घण्टहरूलाई सत्तामा पुर्याउने कुनै छनक छैन।
जब म यी देश चलाइसकेका वाम र खोलामा पाइने ती वामलाई फर्केर हेर्छु, कता-कता मलाई ती निर्दोष खोले वामहरू नै ठीक छन् झैँ लाग्छ। उनीहरू कसैको पेट भर्नका निम्ति मर्न पनि तयार हुन्छन्— यद्यपि अन्जानमै भए पनि। उनीहरू पोखरीमा विष समेत पिएर मर्दिन्छन्, तर यता यी विवेकशील ठानिएका झोले वामहरू नीति र दर्शनका कुरा मात्र ठुला गर्छन्। फुक्ला कुराले मात्र मानिसको पेट कहिल्यै भरिँदैन। उस्तै परे उनीहरू जनता ढाँट्न मात्र हैन कि मार्न र काट्न समेत पछि पर्दैनन्।
यो सबै कुरा गर्दै गर्दा उनीहरूको मनमा चिसो त पस्ला, तर विगतले देखाएको सत्य कुरा यही नै हो। यो सबै गहिरो गरी बुझ्दै जाने हो भने यी वाम नाम गरेका दल र तिनका दलालहरूसँग फेरि कसको नै दिल बस्ला? त्यसैले सत्ताको स्वाद र लुटको स्वर्ग फर्किएला कि भनेर यिनीहरू मरिहत्ते गरे पनि अब त्यो दिन निकै महँगो पर्नेछ। जनताले रिसको झोँकमा यी खान पल्केका खन्चुवा वामलाई भैँसी चुटेझैँ चुटे भने अचम्म नमान्दा हुनेछ। एकताको नाटक मञ्चन गरी हिँड्ने ढोङ्गीहरूको अनुहारमा सुनामीपछिको सन्नाटा छाउनेछ। आशा गरौँ, तर भर चाहिँ नपरौँ; त्यो दिन पनि छिट्टै फर्किआउनेछ।
अन्तमा, वाम नामधारी दल बरु छोडौँ, वाम प्रजातिका माछा खाने काम कहिल्यै पनि नछोडौँ।
