सारांश
  • दलाई लामाको ९१औँ जन्मदिनका अवसरमा सम्भावित अवाञ्छित गतिविधि रोक्न बौद्ध र स्वयम्भू लगायतका क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।
  • सुरक्षा निकाय र आयोजकबीच कार्यक्रमलाई शान्तिपूर्ण बनाउने र कुनै पनि राजनीतिक गतिविधि नगर्ने सहमति भएको सुरक्षा स्रोतको दाबी छ।
  • 'एक चीन नीति' अनुसार नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिन तिब्बती शरणार्थी बसोबास क्षेत्रमा निगरानी र गस्ती तीव्र बनाइएको छ।

काठमाडौँ। तिब्बती बौद्ध धर्मगुरु दलाई लामाको ९१औँ जन्मदिनका अवसरमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिलाई दृष्टिगत गरी काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता उच्च पारिएको छ।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायहरूबीच भएको समन्वय बैठकले उपत्यकाका संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार बौद्ध, स्वयम्भू, महाराजगञ्जस्थित चिनियाँ दूतावास आसपास तथा तिब्बती शरणार्थी समुदायको बसोबास रहेका क्षेत्रहरूमा निगरानी बढाइएको सुरक्षा स्रोतले जनाएको छ। ती क्षेत्रहरूमा पिकेट, गस्ती, चेकिङ तथा सुरक्षाकर्मी परिचालनलाई तीव्र पारिएको छ।

यसैबीच, सुरक्षा समितिले दलाई लामाको जन्मदिन मनाउन स्वीकृति दिएको भन्दै कतिपय वृत्तबाट आलोचनासमेत सुरु भएको छ। तर, सुरक्षा अधिकारीहरूका अनुसार जन्मदिनका अवसरमा आयोजना हुने धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण र कानुनी सीमाभित्र सञ्चालन गर्ने विषयमा आयोजकहरूसँग समन्वय भइसकेको छ। आयोजक पक्षबाट कुनै पनि अवाञ्छित वा राजनीतिक प्रकृतिका गतिविधि नगर्ने प्रतिबद्धता आएकाले शान्तिपूर्ण धार्मिक अनुष्ठानका लागि सहजीकरण गरिएको सुरक्षा स्रोतको दाबी छ।

यद्यपि, जिल्ला सुरक्षा समिति वा सम्बद्ध निकायले जन्मदिन मनाउन औपचारिक स्वीकृति दिएको कुनै पनि आधिकारिक निर्णय भने सार्वजनिक गरेका छैनन्। सुरक्षा निकायहरूको मुख्य ध्यान शान्ति सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि रोकथाम गर्नमै केन्द्रित देखिन्छ।

'एक चीन नीति' र बदलिँदो सुरक्षा चासो

नेपाल सरकारले लामो समयदेखि 'एक चीन नीति' प्रति प्रतिबद्धता जनाउँदै नेपाली भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने अडान राख्दै आएको छ। तर, आलोचकहरूले भने वर्तमान सरकार चिनियाँ संवेदनशीलताविपरीत 'फ्री तिब्बत मुभमेन्ट' (स्वतन्त्र तिब्बत आन्दोलन) प्रति नरम रहेको आरोप लगाउने गरेका छन्। यही राजनीतिक खिचातानीका बीच यसपटक सुरक्षा संयन्त्रले जन्मदिनका कार्यक्रमप्रति लिएको नीतिलाई चासोका साथ हेरिएको छ।

उता, केही अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले तिब्बती समुदायका सार्वजनिक तथा सांस्कृतिक कार्यक्रमहरूमाथि सरकारले कडाइ गरेको दाबी गर्दै आएका छन्। सरकारी निकायहरूले भने ती दाबीको खण्डन गर्दै सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी केवल सतर्कता मात्र अपनाइएको स्पष्ट पारेका छन्।

धर्मगुरु दलाई लामाको जन्म सन् १९३५ जुलाई ६ मा तिब्बतमा भएको हो। उनको जन्मदिन हरेक वर्ष जुलाई ६ तारिखमा विश्वभरका बौद्ध अनुयायीहरूले धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाउने गर्छन्।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।