- उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ, जसमा वैदेशिक अध्ययन र प्रेमको भावनात्मक कथा छ।
- निर्मल श्रेष्ठको शब्द र संगीत रहेको यस गीतको म्युजिक भिडियोमा एन्जल राई र गायक आदित्यको अभिनय रहेको छ।
- गीतले भौगोलिक दूरीभन्दा आपसी विश्वास र साँचो प्रेमको सम्बन्ध बलियो हुने मार्मिक सन्देश प्रवाह गरेको छ।
- 'ब्याटल अफ द ब्यान्ड्स' का विजेता आदित्यले यसै गीतमार्फत आफ्नो व्यावसायिक सांगीतिक यात्राको औपचारिक सुरुवात गरेका हुन्।
काठमाडौं । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथावस्तुमा आधारित यस गीतले अध्ययनका लागि विदेश जान लागेकी युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई मार्मिक रूपमा चित्रण गरेको छ।
गीतले भौगोलिक दूरीभन्दा विश्वासको सम्बन्ध अझ बलियो हुने र साँचो प्रेमलाई पारस्परिक भरोसाले जीवनभर जोडिराख्न सक्ने सन्देश दिन्छ। युवा पुस्ताको प्रेम, भविष्यप्रतिको सपना तथा अध्ययनका लागि विदेशिनुपर्ने यथार्थलाई गीतमार्फत संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।
गीतमा निर्मल श्रेष्ठको शब्द, संगीत तथा निर्देशन रहेको छ। म्युजिक भिडियोको छायांकन तथा सम्पादन निरज भुसालले गरेका छन्। भिडियोमा एन्जल राई र गायक आदित्य श्रेष्ठ स्वयंले अभिनय गरेका छन् भने सृजनात्मक निर्देशक (क्रियटिभ डाइरेक्टर) का रूपमा सुब्रत आचार्यले सहकार्य गरेका छन्।
सानैदेखि संगीतप्रति रुचि राख्दै आएका आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित प्रथम स्थान हासिल गरेका थिए। त्यसअघि सन् २०१७ मा आयोजित ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बनेका थिए।
‘बाचा’ आदित्य श्रेष्ठको सांगीतिक यात्राको पहिलो आधिकारिक प्रस्तुति हो। प्रेम, विश्वास, सपना र विदेश अध्ययनका कारण सिर्जिने दूरीजस्ता समसामयिक विषयलाई समेटिएको यस गीतले युवा पुस्तासँग सहज रूपमा सम्बन्ध स्थापित गर्दै श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
