सारांश
  • भक्तपुर बार एसोसिएसनले कानुन व्यवसायीहरूबीच सद्भाव र सहकार्य बढाउन ‘लयर्स फुटसल कप–२०८३’ सफलताका साथ सम्पन्न गरेको छ।
  • प्रतियोगितामा काठमाडौं उपत्यका र काभ्रेका विभिन्न बार एसोसिएसन तथा अदालतका गरी कुल १४ टोलीले सहभागिता जनाएका थिए।
  • फाइनल प्रतिस्पर्धामा नेपाल न्यायले उपाधि जित्यो भने भक्तपुर बार ‘ए’ उपविजेता र काठमाडौं बार ‘सी’ तेस्रो स्थानमा रहे।
  • यस कार्यक्रमले अदालत र बारबीचको सम्बन्ध सुदृढ बनाउनुका साथै व्यवसायीहरूबीच आपसी विश्वास र आत्मीयता अभिवृद्धि गरेको छ।

भक्तपुर । अदालतको इजलासमा कानुनी बहस गर्ने कानुन व्यवसायीहरू यसपटक फुटसल कोर्टमा प्रतिस्पर्धा गर्दै मित्रता, सद्भाव र सहकार्यको सन्देश दिएका छन्। कानुन व्यवसायी, अदालत तथा न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भक्तपुर बार एसोसिएसनले आयोजना गरेको ‘लयर्स फुटसल कप–२०८३’ दुईदिने प्रतिस्पर्धापछि सम्पन्न भएको छ।

प्रतियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्म गरी १४ टोलीको सहभागिता रहेको थियो। व्यावसायिक जिम्मेवारीभन्दा बाहिर पनि न्याय क्षेत्रसँग आबद्ध व्यक्तिहरूबीच आत्मीयता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी टोलीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।

रोमाञ्चक फाइनल प्रतिस्पर्धामा नेपाल न्यायले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा लेखायो। भक्तपुर बार ‘ए’ उपविजेतामा सीमित रहँदा काठमाडौं बार ‘सी’ तेस्रो र भक्तपुर बार ‘बी’ चौथो स्थानमा रह्यो। विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले ट्रफी, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको आयोजक भक्तपुर बार एसोसिएसनका अध्यक्ष रामसुन्दर खाइतुले जानकारी दिनुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष मिश्रले अदालत र बारबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले कानुन व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध मात्र होइन, आपसी विश्वास, सहकार्य र सद्भावलाई पनि निरन्तर बलियो बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्दै जिल्ला बार एसोसिएसनहरूले यस्ता खेलकुद, सामाजिक तथा व्यावसायिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल, जिल्ला न्यायाधीशहरू, विभिन्न जिल्लाका वरिष्ठ कानुन व्यवसायी तथा न्याय प्रशासनसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताका खेलहरू चार समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। लिग चरणका खेल दुई हाफमा ७–७ मिनेट तथा नकआउट चरणका खेल दुई हाफमा १०–१० मिनेटका आधारमा खेलाइएको थियो।

प्रतियोगिता सम्पन्न गर्न नेपाल टेलिकम, नेपाल इको प्यानल, अयुप इन्टरनेशनल, महालक्ष्मी इन्टरप्राइजेज प्रा.लि., श्रीभक्त कासिछ्वा, नेपाल लक्ष्मी फेसन प्रा.लि. लगायतका संस्था तथा विभिन्न कानुन व्यवसायी फर्महरूले सहयोग गरेका थिए। संवाहक मिडिया हाउस र नागरिक दैनिक मिडिया पार्टनर तथा मध्यपुर अस्पताल प्रा.लि. स्वास्थ्य साझेदारका रूपमा सहभागी रहेको भक्तपुर बार एसोसिएसनका सचिव अनिस सुवालले जानकारी दिनुभयो।

आयोजकका अनुसार प्रतियोगिताले विजेता र उपविजेता छनोट गर्ने उद्देश्य मात्र पूरा गरेको छैन, न्याय क्षेत्रसँग आबद्ध विभिन्न संस्था र व्यक्तिहरूबीचको सम्बन्धलाई थप आत्मीय बनाउने अवसर पनि प्रदान गरेको छ। इजलासमा फरक–फरक पक्षको प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरू खेल मैदानमा भने एउटै समुदायका सदस्यका रूपमा भेटिँदा आपसी विश्वास, सहकार्य र पेशागत सम्बन्ध अझ मजबुत बनेको आयोजकको विश्वास छ।

चिरञ्जीवी शर्मा
लेखक
चिरञ्जीवी शर्मा

चिरञ्जीवी शर्मा काठमाडौंस्थित लेखक तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक, वातावरणीय, आध्यात्मिक तथा अन्य समसामयिक विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।