सारांश
  • काठमाडौं युथ कन्क्लेभको छैटौँ संस्करण 'जेन-जेड हिरोजलाई सम्मान' नाराका साथ साउन १६ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भएको छ।
  • कार्यक्रममा पर्वतारोही मिङ्मा ग्याबु शेर्पालाई 'युवा प्रेरणा सम्मान' प्रदान गरिनेछ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल प्रमुख अतिथिका रूपमा रहनेछन्।
  • विभिन्न शैक्षिक संस्थाहरूको आयोजनामा हुने यस कन्क्लेभमा युवा नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयमा उत्प्रेरणामूलक छलफल हुनेछ।
  • कन्क्लेभमा राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेलसहित कला र उद्यम क्षेत्रका चर्चित व्यक्तित्वहरूका साथै पाँच हजारभन्दा बढी युवाको सहभागिता रहनेछ।

काठमाडौं । युवा नेतृत्व, उद्यमशीलता, प्रेरणा तथा नागरिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं युथ कन्क्लेभ (केवाइसी) २०२६ को छैटौँ संस्करण आगामी साउन १६ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान मा आयोजना हुने भएको छ।

"जेन–जेड हिरोजलाई सम्मान" भन्ने मूल नारासहित आयोजना हुन लागेको यस वर्षको कन्क्लेभ गत भदौमा भएको जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको साहस, योगदान र समर्पणको सम्मान गर्ने उद्देश्यले केन्द्रित रहने आयोजकले जनाएको छ।

कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै, विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्ने तथा के–टु हिमालको ऐतिहासिक शीतकालीन आरोहणमा सहभागी पर्वतारोही एवं प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा लाई 'केवाइसी युवा प्रेरणा सम्मान' प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, नृत्यांगना तथा मोडल कविता नेपाली, अभिनेता पारस बम, गायक तथा संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, सामग्री निर्माता कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायत विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधान ले गर्नेछन्।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज तथा आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा हुन लागेको कन्क्लेभको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ। एनसेल फाउन्डेसन ले कार्यक्रमलाई सहयोग गरेको छ भने ग्लोबल आइएमई बैंक, रेड बुल नेपाल, खल्ती, नेसनल प्याथल्याब तथा एसीसीए क्रमशः बैंकिङ, ऊर्जा पेय, डिजिटल भुक्तानी, स्वास्थ्य परीक्षण तथा शैक्षिक साझेदारका रूपमा आबद्ध रहेका छन्।

केवाइसीका संयोजक राजु टण्डन का अनुसार कार्यक्रममा करिब पाँच हजारभन्दा बढी युवा तथा विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। उहाँका अनुसार कन्क्लेभले युवालाई प्रेरणा, नेतृत्व विकास, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयमा उत्प्रेरित गर्ने साझा मञ्चका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।