सारांश
  • काठमाडौंमा दाइजो प्रथा र महिला हिंसाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ (कल्कि वुमेन) को औपचारिक शुभारम्भ गरिएको छ।
  • अभिनेत्री रेखा थापा र मिस नेपाल उषा खड्गीले अभियानको उद्घाटन गर्दै महिला अधिकार र सशक्तीकरणका लागि सामाजिक ऐक्यबद्धतामा जोड दिए।
  • अभियानले दाइजोमुक्त समाज निर्माण गर्न कल्कि कानुन, डिजिटल मुद्रा र महिला-मैत्री कानुनी सुधारका विभिन्न अवधारणाहरू अघि सारेको छ।
  • आगामी तीन वर्षभित्र दाइजो प्रथा अन्त्य गर्ने र महिलाको सुरक्षा तथा आर्थिक अधिकार सुदृढ बनाउने मुख्य लक्ष्य अभियानले राखेको छ।

काठमाडौं: दाइजो कुप्रथा, महिला हिंसा तथा लैङ्गिक विभेदविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘महिला शक्ति जागरण अभियान’ औपचारिक रूपमा सुरु गरिएको छ। कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरले आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरी ‘कल्कि वुमेन’ अभियानको शुभारम्भ गरेको हो।

अभियानको उद्घाटन अभिनेत्री रेखा थापा र मिस नेपाल उषा खड्गीले संयुक्त रूपमा गरेका थिए। संस्थाले ‘कल्कि कानून’ र ‘कल्कि करेन्सी’ अवधारणासहित महिला अधिकार, कानुनी सुधार तथा सामाजिक रूपान्तरणका विषयमा दीर्घकालीन अभियान सञ्चालन गर्ने जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अभिनेत्री रेखा थापाले नेपालमा महिलाले अझै पनि पूर्ण रूपमा समान अधिकारको अनुभूति गर्न नसकेको उल्लेख गर्दै महिलाको सशक्तीकरणका लागि सञ्चालन गरिने हरेक सकारात्मक अभियानलाई समाजले साथ दिनुपर्ने बताइन्। उनले महिलामुक्तिका लागि विगतदेखि विभिन्न अभियान सञ्चालन हुँदै आए पनि ‘कल्कि वुमेन’ अभियानले नयाँ ढङ्गबाट सामाजिक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।

थापाले कल्किजम रिसर्च सेन्टरका संस्थापकप्रति आभार व्यक्त गर्दै विदेशमा अध्ययन र व्यावसायिक सफलता हासिल गरेपछि पनि स्वदेश फर्केर महिला अधिकार र सामाजिक न्यायका विषयमा काम गर्न थालेको कदम प्रशंसनीय रहेको धारणा राखिन्।

कार्यक्रममा कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा. उमा शंकर प्रसादले वर्तमान विश्व व्यवस्थामा प्रचलित विभिन्न राजनीतिक तथा आर्थिक विचारधाराले अपेक्षित सामाजिक न्याय दिन नसकेको दाबी गरे। उनले पूँजीवाद, समाजवाद र साम्यवादको विकल्पका रूपमा ‘कल्किवाद (कल्किजम)’ लाई स्थापित गर्दै समाजलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

मिस नेपाल उषा खड्गीले दाइजो प्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध प्रभावकारी जनचेतना अभिवृद्धि गर्दै कानुनी सुधारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यम, नागरिक समाज तथा सम्बन्धित सरोकारवालाको सक्रिय सहयोग आवश्यक रहेको बताइन्।

कार्यक्रममा संस्थापक ‘मिस्टर ६६६’ ले अभियानको मुख्य उद्देश्य नेपाललाई दाइजो कुप्रथामुक्त राष्ट्र बनाउनु रहेको बताए। उनका अनुसार आगामी तीन वर्षभित्र दाइजो प्रथाको अन्त्य, महिलाको सुरक्षा र अधिकारलाई कानुनी रूपमा थप सुदृढ बनाउने तथा सामाजिक न्यायका विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने लक्ष्य राखिएको छ।

उनले विवाहमा केटा र केटी पक्षले समान रूपमा खर्च गर्ने कानुनी व्यवस्था लागू गर्नुपर्ने, बारकोडयुक्त ‘कल्कि करेन्सी’ लागू गरी नेपाललाई पूर्ण रूपमा नगदरहित (क्यासलेस) अर्थतन्त्रतर्फ लैजानुपर्ने तथा प्रत्येक परिवारका लागि छुट्टै डिजिटल मुद्रा प्रणाली विकास गर्ने अवधारणा पनि सार्वजनिक गरे।

महिलामाथि हुने हिंसाका घटनामा उजुरी दर्ता भएपछि दोषीबाट आर्थिक जरिवाना असुल गरी त्यसैबाट महिला सुरक्षा प्रविधि विकास तथा महिला प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे। साथै, बुहारीको हत्या वा शंकास्पद आत्महत्याको घटनामा विवाहका क्रममा भएको सम्पूर्ण खर्च २५ प्रतिशत ब्याजसहित केटी पक्षलाई फिर्ता गराउने तथा सम्बन्धित परिवारका पुरुषलाई पुनः विवाह गर्न रोक लगाउने कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा कल्किजम रिसर्च सेन्टरकी उपाध्यक्ष डा. पञ्चकुमारी मानन्धरले महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा समानता र न्यायमा आधारित समाज निर्माणका लागि महिला–मैत्री कानुनी व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

संस्थाकी सदस्य भूपी ऐरले सम्पत्तिको अधिकारसम्बन्धी कानुनी व्यवस्थामा सुधार आवश्यक रहेको धारणा राख्दै आमाबुवाको निधनपछि मात्र छोरा–छोरीले सम्पत्तिमा अधिकार पाउने व्यवस्था गर्नुपर्ने तथा सन्तानको सम्पत्तिमा पनि आमाबुवाको कानुनी अधिकार सुनिश्चित गरिनुपर्ने प्रस्ताव प्रस्तुत गरिन्। पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत रहेकी उनले महिला हिंसा अन्त्यका लागि महिलाहरू स्वयं सचेत र संगठित हुनुपर्नेमा जोड दिइन्।

जेनजी अभियान्ता जश्मिन ओजाले ‘महिला शक्ति जागरण अभियान’ ले महिला सशक्तीकरण र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा ‘कल्कि वुमेन’ का केन्द्रीय सदस्य, विभिन्न सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।