- भक्तपुरको हनुमानघाटमा विश्व शान्तिको कामना गर्दै ६३० दिवसीय 'विश्व शान्ति विराट ज्ञान महायज्ञ' सञ्चालन भइरहेको छ।
- महायज्ञमा दैनिक हवन र वेद-पुराण पाठमार्फत धार्मिक पर्यटन र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।
- कार्यक्रमको १०० दिन पूरा भएको अवसरमा २० जना पुरोहितहरूलाई कर्मकाण्डसम्बन्धी पुस्तक तथा आवश्यक सामग्री हस्तान्तरण गरियो।
- रामजानकी मन्दिर संरक्षण संस्थाद्वारा आयोजित यो विशेष धार्मिक अनुष्ठान २०८४ साल माघ शुक्ल पूर्णिमामा समापन हुनेछ।
भक्तपुर । भक्तपुर नगरपालिका–७, त्रिवेणीधामस्थित श्री हनुमानघाट परिसरमा ६३० दिवसीय ‘विश्व शान्ति विराट ज्ञान महायज्ञ’ सञ्चालन भइरहेको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको हनुमानघाट क्षेत्रमा विश्व शान्तिको कामना गर्दै महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार श्री रामजानकी मन्दिरको प्राङ्गणमा २०८३ वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विशेष धार्मिक कार्यक्रमसहित महायज्ञ सुरु गरिएको हो। महायज्ञअन्तर्गत दैनिक हवन, रुद्राभिषेक तथा चार वेद र १८ पुराणको पाठ–पारायण भइरहेको छ।
महायज्ञले व्यक्तिगत शान्तिदेखि परिवार, टोल, छरछिमेक, समाज, समुदाय, जिल्ला हुँदै देश र विश्वमै शान्तिको कामना गर्ने उद्देश्य लिएको आयोजकको भनाइ छ। धार्मिक आस्था र संस्कृतिको संरक्षण तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धनसँगै भक्तपुरको धार्मिक पर्यटन विकासमा समेत महायज्ञले योगदान पु¥याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यो कार्यक्रम २०७९ मंसिर ११ गतेदेखि सुरु भएको पाँचवर्षीय तीर्थ प्रचार महाअभियानको अन्तिम कार्यक्रमका रूपमा आयोजना गरिएको हो। महायज्ञको समापन २०८४ माघ शुक्ल पूर्णिमाका दिन गर्ने उल्लेख गरिएको छ।
महायज्ञका संकल्पकर्ता श्री दीपक सापकोटा (कान्छा) रहेका छन्। संरक्षकका रूपमा समाजसेवी विशिष्ट व्यक्तित्व श्री भरतमणि जंगम एवं सम्पूर्ण जंगम परिवार तथा अनन्त धौभडेल एवं सम्पूर्ण धौभडेल परिवार, भक्तपुर रहेका छन्।
कार्यक्रमको आयोजक श्री रामजानकी मन्दिर संरक्षण संस्था, भक्तपुर नगरपालिका–७, त्रिवेणीधाम हनुमानघाट, भक्तपुर रहेको छ।
यसैबीच, ६३० दिवसीय विश्व शान्ति विराट ज्ञान महायज्ञ १०० दिन पूरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा २० जना पुरोहितलाई कर्मकाण्डसम्बन्धी पुस्तक तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
