- अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्नेलाई 'हुल्याहा' भन्दै अनुशासन उल्लंघन गरे कारबाही गर्ने कडा चेतावनी दिएका छन्।
- निर्वाचनमा मत घटेकोमा चिन्ता व्यक्त गर्दै ओलीले कार्यकर्तालाई इमानदार बन्न र पार्टीको नीति तथा विधान दृढतापूर्वक पालना गर्न निर्देशन दिए।
- महाधिवेशनबाट चुनिएको नेतृत्वलाई हस्ताक्षर संकलन वा चिया गफबाट हटाउन खोज्नु विधानविपरीत र अराजक गतिविधि भएको ओलीको जिकिर छ।
- पार्टीभित्र सुधार, पुनर्गठन र नेतृत्वको कार्यशैलीलाई लिएर प्रभावशाली नेताहरूबीच बढ्दो मतभेदले एमालेको आन्तरिक राजनीतिलाई थप संवेदनशील बनाएको छ।
इलाम — नेकपा एमालेभित्र नेतृत्व, संगठन र पार्टीको आगामी दिशालाई लिएर बढिरहेको असन्तुष्टि अब सामान्य आन्तरिक बहसमा सीमित रहेन। पार्टीका ठूलो संख्याका नेता तथा कार्यकर्ताले नेतृत्वको समीक्षा, संगठनको पुनर्गठन र पार्टीमा रूपान्तरण आवश्यक रहेको आवाज उठाइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भने असन्तुष्ट पक्षप्रति कडा चेतावनी दिएका छन्।
शनिबार इलामको फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र भइरहेको नेतृत्व परिवर्तन र सुधारको बहसलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ भन्दै अस्वीकार गरे। उनले पार्टीमा बस्ने हो भने अनुशासन पालना गर्नुपर्ने र नेतृत्वविरुद्ध गतिविधि नरोकिए विधानअनुसार कारबाही हुने चेतावनीसमेत दिए।
ओलीको यो अभिव्यक्ति त्यतिबेला आएको हो, जब एमालेभित्रै अध्यक्षको नेतृत्वमाथि प्रश्न उठाउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवाज बलियो बन्दै गएको छ। सुधार र पुनर्गठनको बहस गर्दै आएका नेताहरूको एउटा ठूलो समूह अब नेतृत्व परिवर्तनको मागसम्म पुगेको छ। यसले एमालेको आन्तरिक राजनीति निकै संवेदनशील मोडमा पुगेको संकेत गरेको छ।
मत घटेको विषयमा ओली पनि चिन्तित
एमालेभित्र असन्तुष्टिको एउटा प्रमुख कारण पार्टीको पछिल्लो निर्वाचन प्रदर्शन हो। ओलीले स्वयं पार्टीको मत उल्लेख्य रूपमा घटेको विषयलाई गम्भीर मानेका छन्।
‘२८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो,’ उनले भने।
पार्टीमा सदस्य र कार्यकर्ताको संख्या ठूलो भए पनि त्यसको प्रतिबिम्ब निर्वाचनको मतमा नदेखिनु किन भयो भन्ने प्रश्न अहिले एमालेभित्र उठिरहेको छ। ओलीले भने यसको कारण कार्यकर्ताको व्यवहार र पार्टीप्रतिको प्रतिबद्धतासँग जोडेर हेरेका छन्।
‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ। साथीहरूलाई इमानदार बनाउनु छ,’ उनले भने।
उनले पार्टीमा बसेर पार्टीकै उम्मेदवारलाई मत नदिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ‘पार्टी नबदल्ने, भोट बदल्ने जस्ता कुरा लाजमर्दो हो,’ उनले भने।
तर यही कमजोर निर्वाचन परिणामलाई लिएर पार्टीभित्र अर्को प्रश्न पनि उठेको छ—के समस्या केवल कार्यकर्ताको अनुशासनमा छ, वा नेतृत्व, संगठन र जनतासँग पार्टीको सम्बन्धमा पनि सुधार आवश्यक छ? यही प्रश्नले अहिले एमालेको आन्तरिक बहसलाई थप गहिरो बनाएको छ।
‘अध्यक्ष हटाऊँ’ भन्ने बहसप्रति ओली आक्रोशित
पार्टीभित्र आफ्नो नेतृत्व हटाउने विषयमा छलफल र हस्ताक्षर अभियान चलेकोप्रति ओली स्पष्ट रूपमा आक्रोशित देखिए।
‘पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्ने? चिया खाँदै, समोसा खाँदै, अध्यक्ष हटाऊँ भन्ने? यस्तो अराजकता चल्दैन,’ उनले भने।
ओलीले यस्ता गतिविधिलाई पार्टीको विधि र प्रक्रियाविपरीत भएको दाबी गरे। महाधिवेशनले नेतृत्व चयन गर्ने व्यवस्था रहेकाले बीचमै हस्ताक्षर गरेर अध्यक्ष हटाउने प्रयासको कुनै अर्थ नरहेको उनको भनाइ थियो।
तर असन्तुष्ट नेताहरूको दृष्टिमा भने पार्टी सुधारको माग उठाउनु र नेतृत्वको समीक्षा गर्नु स्वाभाविक राजनीतिक प्रक्रिया हो। यही फरक बुझाइका कारण एमालेभित्रको विवाद केवल व्यक्तिगत असहमतिको विषय नभई पार्टी सञ्चालनको शैली र नेतृत्वको जवाफदेहितासँग जोडिएको छ।
अनुशासनको नाममा कारबाहीको चेतावनी
ओलीले पार्टीमा बसेर सामाजिक सञ्जाल वा अन्य माध्यमबाट नेतृत्व र पार्टीविरुद्ध जथाभावी बोल्ने छुट नरहेको बताए।
‘पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ,’ उनले भने।
उनले सम्झाउँदा पनि नमान्नेहरूलाई विधानअनुसार कारबाही गरिने बताए।
ओलीको यो चेतावनीले विवाद अझ तल्लो तहसम्म पुग्न सक्ने सम्भावना पनि देखाएको छ। नेतृत्वको आलोचना गर्ने नेतामाथि कारबाही हुन्छ कि संवादमार्फत असन्तुष्टि सम्बोधन गरिन्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण बन्नेछ।
ओली पनि दबाबमा
एमालेको वर्तमान संकटलाई केवल ओली र केही असन्तुष्ट नेताबीचको विवादका रूपमा बुझ्न कठिन हुँदै गएको छ। पार्टी सचिवालयमा ओलीको पक्ष कमजोर बनेको र उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका प्रभावशाली नेताहरू पार्टीभित्र सुधार र पुनर्गठनको बहसमा सक्रिय भएपछि नेतृत्वको समीकरण थप जटिल बनेको छ।
यही कारण ओलीले पछिल्लो समय केन्द्रीय सदस्य र कार्यकर्तासँग प्रत्यक्ष संवाद बढाउँदै आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्। इलामको सम्बोधन पनि त्यसैको एउटा उदाहरणका रूपमा हेरिएको छ।
उनले आफूलाई महाधिवेशनबाट अत्यधिक मत प्राप्त भएको स्मरण गराउँदै अहिले पार्टी अप्ठ्यारोमा परेका बेला जिम्मेवारीबाट पछि नहट्ने बताए।
‘पार्टी अप्ठ्यारोमा पर्दा जिम्मेवारी फालेर भाग्ने मान्छे म होइन,’ ओलीले भने।
पार्टी फुट्नेभन्दा ठूलो चुनौती विश्वासको संकट
ओलीले एमालेमा ठूलो विग्रह नहुने र पार्टी एकताबद्ध भएर अघि बढ्ने दाबी गरेका छन्। तर अहिलेको चुनौती पार्टी औपचारिक रूपमा फुट्छ कि फुट्दैन भन्नेमा मात्र सीमित छैन। पार्टीभित्र नेतृत्वप्रतिको विश्वास कति बाँकी छ र असन्तुष्ट नेताहरूलाई कति ठाउँ दिइन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ।
ओलीले आफूविरुद्ध उठेका आवाजलाई ‘हुलदङ्गा’ भनेका छन्। असन्तुष्ट पक्ष भने त्यसलाई पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रयासका रूपमा प्रस्तुत गरिरहेको छ। यी दुई दृष्टिकोणबीचको दूरी घट्न नसके एमालेभित्रको विवाद अझ गहिरिन सक्छ।
राजनीतिक दलभित्र मतभेद अस्वाभाविक होइन। तर मतभेदलाई संवादबाट समाधान गर्ने कि अनुशासनको कारबाहीमार्फत दबाउने भन्ने निर्णयले पार्टीको भविष्य निर्धारण गर्न सक्छ। एमालेजस्तो ठूलो राजनीतिक दलका लागि अहिलेको बहस नेतृत्वको व्यक्तित्वभन्दा पनि संस्थागत लोकतन्त्र, पुस्तान्तरण, संगठनको पुनर्निर्माण र जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने विषयसँग जोडिएको छ।
ओलीले भने कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन्। ‘पार्टी बलियो, सुदृढ र एकताबद्ध हुनुपर्छ। यही भावनाका साथ पार्टी अगाडि बढ्छ,’ उनले भने।
अब एमालेका लागि मुख्य चुनौती यही हो—असन्तुष्ट आवाजलाई दबाएर एकता देखाउने कि असन्तुष्टिको कारण खोजेर पार्टीभित्रै सुधारको बाटो खोल्ने। आगामी केन्द्रीय कमिटी बैठक र त्यसपछि विकसित हुने शक्ति समीकरणले एमालेको यो आन्तरिक संकट केवल अस्थायी विवाद हो कि पार्टीको नेतृत्व र संरचनामा ठूलो परिवर्तनको सुरुवात हो भन्ने तय गर्नेछ।
