- तेस्रो इन्फा अवार्डमा 'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र बन्यो भने निर शाह, विपिन कार्की र मिरुना मगरले उत्कृष्ट अभिनयको अवार्ड जिते।
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो भने पल शाह र जसिता गुरुङ लोकप्रिय कलाकार घोषित भए।
- हरिहर शर्मा नेतृत्वको निर्णायक मण्डलले ४० भन्दा बढी चलचित्रको मूल्याङ्कन गरी विभिन्न विधामा विजेताहरू छनोट गरेको थियो।
- नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित आयोजित समारोहमा कलाकारहरूले विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरू दिएका थिए।
काठमाडौं — नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक तथा चलचित्रकर्मीका लागि शनिबार विशेष दिन बन्यो। सिर्जना, संघर्ष र योगदानको सम्मान गर्दै आयोजना गरिएको तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) भव्य समारोहबीच सम्पन्न भएको छ। समारोहमा कलाकारहरूको प्रस्तुति, अवार्ड घोषणासँगै नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टाप्रति सम्मान व्यक्त गरिएको थियो।
अवार्ड समारोहमा वरिष्ठ अभिनेता निर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए भने अभिनेत्री मिरुना मगर उत्कृष्ट अभिनेत्रीको अवार्डबाट सम्मानित भइन्। निर्देशक नविन चौहान उत्कृष्ट निर्देशक बने। ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको अवार्ड जित्दै समारोहको प्रमुख आकर्षण बन्न सफल भयो।
त्यस्तै, अभिनेता पल शाह लोकप्रिय अभिनेता र अभिनेत्री जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए। दर्शकबीच लोकप्रियता हासिल गरेका कलाकारलाई प्रदान गरिने यी विधाका अवार्डले समारोहमा थप उत्साह ल्याएको थियो।
इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्र प्रतिस्पर्धामा सहभागी थिए। विभिन्न विधामा ती चलचित्रबाट उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो। मनोनयनमा परेकामध्ये निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा अन्तिम विजेता चयन गरिएको आयोजकले जनाएको छ।
अवार्डको निर्णायक मण्डलमा वरिष्ठ कलाकार हरिहर शर्मा जुरी संयोजक तथा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा जुरी सदस्यका रूपमा रहेका थिए। चलचित्रको प्रस्तुति, कलाकारको अभिनय, निर्देशनलगायत सम्बन्धित विधाका आधारलाई मूल्याङ्कन गर्दै विजेता छनोट गरिएको आयोजकको भनाइ छ।
समारोहको सबैभन्दा भावुक क्षणमध्ये एक रह्यो—वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको लाइफटाइम एचिभमेन्ट अवार्ड। नेपाली हास्यव्यङ्ग्य, अभिनय र मनोरञ्जनको क्षेत्रमा दशकौँदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
श्रेष्ठको सम्मानले नेपाली मनोरञ्जन क्षेत्रमा लामो समय योगदान दिएका पुस्ताका कलाकारको यात्रालाई सम्झाउने अवसरसमेत दिएको थियो। नयाँ पुस्ताका कलाकारको उत्साह र अग्रज कलाकारप्रतिको सम्मान एउटै मञ्चमा देखिनु समारोहको विशेष पक्ष बनेको थियो।
अवार्ड वितरणसँगै समारोहमा संगीत र नृत्यले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी. लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।
मञ्चमा कलाकारहरूको प्रस्तुति चलिरहँदा विभिन्न विधाका विजेताको नाम घोषणा हुँदै थियो। आफ्ना मनपर्ने कलाकार तथा चलचित्रले अवार्ड जित्दा समारोहमा उपस्थित दर्शक र चलचित्रकर्मीबीच खुसीको माहोल देखिएको थियो।
इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्कीले नेपाली चलचित्र क्षेत्रका प्रतिभालाई एउटै मञ्चमा ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको अवार्ड समारोह आयोजना गर्न सफल भएको बताए। उनका अनुसार नेपाली चलचित्र र कलाकारलाई स्वदेशमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको हो।
पछिल्लो समय नेपाली चलचित्रले कथावस्तु, अभिनय, निर्देशन र प्राविधिक पक्षमा नयाँ प्रयोग गर्दै दर्शकको ध्यान तानिरहेको अवस्थामा यस्ता सम्मानले कलाकार तथा चलचित्रकर्मीलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। अवार्ड केवल प्रतिस्पर्धाको परिणाम नभई चलचित्र निर्माणमा संलग्न कलाकार, प्राविधिक र सिर्जनाकर्मीको मेहनतलाई सार्वजनिक रूपमा सम्झने र सम्मान गर्ने माध्यमसमेत बनेको छ।
तेस्रो संस्करणसम्म आइपुगेको इन्फा अवार्डले नेपाली चलचित्रको बदलिँदो यात्रा, नयाँ पुस्ताको प्रवेश र अग्रज कलाकारको योगदानलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको देखिन्छ। शनिबारको समारोहले अवार्डका विजेतालाई सम्मानित गर्नुका साथै नेपाली चलचित्र क्षेत्रका लागि सिर्जना, सहकार्य र अन्तर्राष्ट्रिय पहिचानको यात्रालाई निरन्तरता दिने सन्देशसमेत दिएको छ।
