सारांश
  • धुलिखेलमा नेपालमै पहिलोपटक 'अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम' सम्पन्न भएको छ, जसमा ६५ जनाको सहभागिता थियो।
  • परिना इन्टरनेसनलद्वारा आयोजित कार्यक्रममा मेसिनको सुरक्षित सञ्चालन, नियमित मर्मत र नयाँ प्रविधिका बारेमा व्यवहारिक जानकारी दिइयो।
  • यस कार्यक्रमले अपरेटरहरूको दक्षता वृद्धि गर्दै उनीहरूका प्राविधिक समस्या समाधान र अनुभव साटासाट गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

काठमाडौं: निर्माण क्षेत्रमा मेसिनको सुरक्षित र प्रभावकारी सञ्चालनसँगै अपरेटरको प्राविधिक दक्षता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही पक्षलाई ध्यानमा राख्दै नेपालमा पहिलोपटक आयोजना गरिएको ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ धुलिखेलस्थित सन्राइज रिसोर्टमा सम्पन्न भएको छ।

नेपालका लागि अपोलो इन्फ्राटेक ग्रुपको आधिकारिक डिलर परिना इन्टरनेसनल प्रालि., एकान्तकुना, ललितपुर को आयोजनामा भएको कार्यक्रममा देशका विभिन्न स्थानबाट करिब ६५ जना अपरेटर तथा सम्बन्धित प्राविधिक सहभागी भएका थिए।

कार्यक्रममा सहभागी अपरेटरहरूले दैनिक कामका क्रममा मेसिन सञ्चालन गर्दा भोग्ने समस्या, त्यसका व्यावहारिक समाधान र मेसिनलाई लामो समयसम्म प्रभावकारी अवस्थामा राख्ने उपायबारे प्रत्यक्ष रूपमा छलफल गर्ने अवसर पाए। यसले कार्यक्रमलाई औपचारिक तालिममा मात्र सीमित नराखी अनुभव साटासाट गर्ने साझा मञ्चका रूपमा समेत स्थापित गरेको थियो।

तालिमका क्रममा कार्मिक्स एसएलएम मेसिनको सही सञ्चालन, सुरक्षा मापदण्ड, नियमित मर्मतसम्भार, प्राविधिक पक्ष तथा नयाँ प्रविधि सम्बन्धमा सैद्धान्तिक र व्यावहारिक जानकारी दिइएको थियो। मेसिन सञ्चालनका क्रममा आइपर्न सक्ने प्राविधिक समस्या पहिचान गर्ने र समयमै समाधान गर्ने विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रममा परिना इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक दीपक आचार्य, निर्देशकहरू तथा डीजीएम शिवकुमार उपाध्यायको उपस्थिति थियो। अपोलो इन्फ्राटेक ग्रुपका डिलर डेभलपमेन्ट म्यानेजर कौशल मेहता, सर्भिस एन्ड स्पेयर म्यानेजर विमल पटेल तथा अपोलो कार्मिक्सका असिस्टेन्ट म्यानेजर इर्फान सेख विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधि र अपरेटरबीच प्रत्यक्ष संवादसमेत भएको थियो। अपरेटरहरूले आफूले कामका क्रममा सामना गर्ने प्राविधिक चुनौतीबारे प्रश्न राखेका थिए भने सम्बन्धित प्राविधिकहरूले समाधानका उपायबारे जानकारी दिएका थिए।

अपोलो कार्मिक्स इक्युपमेन्टस् प्रालिले उत्पादन गर्ने कार्मिक्स एसएलएम मेसिनको स्पेयर पार्ट्स तथा सर्भिसको जिम्मेवारी प्राइम मोटर्स प्रालि., एकान्तकुना, ललितपुर ले सम्हाल्दै आएको जनाइएको छ।

परिना इन्टरनेसनल प्रालिले अपोलो इन्फ्राटेक ग्रुपका कार्मिक्स, कंक्रिट ब्याचिङ प्लान्ट, कंक्रिट पेभर, अपटेकलगायतका उत्पादन बिक्री–वितरण गर्दै आएको छ। कम्पनीले पार्कर ग्रुपका एस्फाल्ट ड्रम मिक्स, पेभर, एस्फाल्ट ब्याचिङ प्लान्ट, ब्लक मेकिङ मेसिन तथा ह्युमपाइप मेसिनको बिक्री–वितरणसँगै मर्मत तथा बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।

आयोजकका अनुसार, नेपालमा पहिलोपटक आयोजना गरिएको यस्तो कार्यक्रमले मेसिन बेच्ने वा प्राविधिक जानकारी दिने काममा मात्र सीमित नभई अपरेटर र प्राविधिकबीच निरन्तर सिकाइ र सहकार्यको वातावरण बनाउन समेत सहयोग पुर्‍याएको छ।

“मेसिनको क्षमता जति महत्वपूर्ण हुन्छ, त्यसलाई सही ढंगले सञ्चालन गर्ने दक्षता पनि त्यत्तिकै आवश्यक हुन्छ,” भन्ने मान्यताका साथ आयोजना गरिएको कार्यक्रमले अपरेटरहरूको सीप र आत्मविश्वास बढाउन सहयोग पुगेको आयोजकको विश्वास छ।

सहभागी अपरेटरहरूले पनि यस्ता कार्यक्रमबाट आफूले व्यवहारिक ज्ञान र नयाँ अनुभव प्राप्त गरेको बताउँदै आगामी दिनमा नियमित रूपमा तालिम, अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, एउटै प्रकृतिको मेसिन चलाउने अपरेटरबीच प्रत्यक्ष अनुभव आदानप्रदान हुँदा दैनिक काममा देखिने समस्या समाधान गर्न थप सहज हुने गरेको छ।

आयोजकले आगामी दिनमा पनि आवश्यकता र अपरेटरहरूको सुझावअनुसार यस्ता प्राविधिक तालिम तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।