काठमाडौं । पूर्णबहादुर सिंह ‘समरजङ्ग’को नवऔपनिवेशिक दलाल पुँजीवाद र खम्बु चन्दको समाजवादको मौलिक मार्गचित्र पुस्तक बुधबार काठमाडौंमा विमोचन गरिएको छ।
राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा वक्ताहरूले दुवै पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलन, त्यसका वैचारिक बहस र समाजवादी राजनीतिको सम्भावित दिशाबारे छलफल अघि बढाउन योगदान गर्न सक्ने धारणा राखे।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नवऔपनिवेशिक दलाल पुँजीवादमा नेपाली कम्युनिस्ट आन्दोलनका समस्या र नेपालको अर्थ–राजनीतिक अवस्थाबारे विश्लेषण गरिएको बताए। उनका अनुसार चन्दको समाजवादको मौलिक मार्गचित्रले ती समस्याको समाधानका लागि समाजवादी दिशाबारे बहस अघि सारेको छ।
ओलीले नेपालमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका प्रयास कमजोर हुँदै गएको र देशको अर्थतन्त्र क्रमशः परनिर्भर बन्दै गएको दाबी गरे। उनले नेपालमा नवउदारवादी आर्थिक नीतिको प्रभावसँगै सार्वजनिक संस्थान र उद्योगधन्दाको अवस्था कमजोर बनेको पनि बताए।
उनले पूर्वअर्थमन्त्री रामशरण महतको भूमिकामा नेपालमा नवउदारवादी नीति भित्रिएको आरोप लगाउँदै हेटौंडा–काठमाडौं रोपवे, ट्रली बसलगायतका सार्वजनिक यातायात तथा उद्योगसँग सम्बन्धित संरचना बन्द हुनु त्यसैको परिणाम भएको दाबी गरे। यस्ता परिवर्तन रोक्न तत्कालीन कम्युनिस्ट राजनीतिक शक्ति प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।
कार्यक्रममा प्राध्यापक डा. सुरेन्द्र केसीले दुवै पुस्तकले नेपाली कम्युनिस्ट आन्दोलनका कमजोरी र समाधानका सम्भावित बाटोबारे बहस गर्न खोजेको बताए। राजनीतिक असहमतिलाई आरोप–प्रत्यारोपमा सीमित गर्नुभन्दा समाधानमुखी बहस आवश्यक रहेको उनको धारणा थियो।
केसीले कम्युनिस्ट आन्दोलनभित्र विगतदेखि नै एकअर्कामाथि दोषारोपण गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै नयाँ पुस्ताले त्यसबाट फरक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए।
नेकपा (बहुमत)का महासचिव उदयबहादुर चलाउने ‘दीपक’ले नेपाली कम्युनिस्ट पार्टीहरूले समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने अवसर गुमाएको दाबी गरे। उनले नेपालको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाको विकल्पका रूपमा समाजवादलाई प्रस्तुत गर्दै लेखकद्वयले कम्युनिस्ट आन्दोलनको समीक्षा र त्यसको दिशाबारे वैचारिक बहस अघि सारेको बताए।
नवऔपनिवेशिक दलाल पुँजीवादका लेखक सिंहले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा एकअर्कामाथि दोषारोपण गर्ने प्रवृत्ति प्रमुख कारणमध्ये एक रहेको बताए। उनले नेपालको कम्युनिस्ट राजनीतिक स्कुल र विगतका अभ्यासको समेत समीक्षा आवश्यक रहेको धारणा राखे।
उनका अनुसार विभिन्न कम्युनिस्ट समूह र नेताबीच हुने विरोधका कारण आन्दोलनको साझा लक्ष्य कमजोर बनेको छ। समाजवादतर्फ अघि बढ्न विगतका कमजोरीको गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए।
अर्का लेखक चन्दले आफ्नो पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनमा भएका विभाजन, टुटफुट र असफलताको कारण पहिल्याउने प्रयास गरिएको बताए। उनले विगतका नेताहरूलाई मात्र दोष दिएर आफूलाई क्रान्तिकारी साबित गर्ने प्रवृत्तिले आन्दोलनलाई थप कमजोर बनाएको धारणा राखे।
अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष मिलन राईले कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा नेतृत्वको कार्यशैली र संगठनभित्रको एकाधिकारवादी सोच पनि जिम्मेवार रहेको बताए। बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार संगठनको स्वरूप, नेतृत्व शैली, दक्षता र आन्दोलनका कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो।
अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद थापाले नेपालको समाज र जनताबीच परिवर्तनको चाहना रहेको बताउँदै क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा राखे। उनले दुवै पुस्तकले आगामी वैचारिक बहसका लागि आधार प्रस्तुत गरेको बताए।
समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतमले नेपालमा जनवादी तथा समाजवादी राजनीतिको लक्ष्य प्राप्त गर्न कम्युनिस्ट शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता औंल्याए।
वरिष्ठ साहित्यकार रामेश्वर राउतले पठन संस्कृति कमजोर हुँदै गएको समयमा राजनीतिक तथा वैचारिक विषयमा पुस्तक प्रकाशन हुनु सकारात्मक भएको बताए। उनले दुवै कृतिले नेपाली समाजमा पठन र वैचारिक बहसको संस्कृतिलाई अघि बढाउन सहयोग पुग्ने धारणा राखे।
कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकका विषयवस्तु र लेखकका विश्लेषणमाथि थप बहस आवश्यक रहेको बताएका थिए।
