- मुगुमा रारा ताल जाँदै गरेको जिप दुर्घटना हुँदा काठमाडौंका तीन पर्यटकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
- बा १७ च १८६४ नम्बरको जिप सडकबाट ६ सय मिटर तल खसेको हो भने सबै यात्रु घुम्नका लागि मुगु आएका थिए।
- घाइते चालक र उनकी श्रीमतीको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
- सडकको भाग भासिएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ, यद्यपि यसबारे विस्तृत अनुसन्धान जारी छ।
मुगु : मुगुको रारा ताल जाने सडकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सुर्खेतबाट रारातर्फ जाँदै गरेको जिप आइतबार साँझ छायानाथ रारा नगरपालिका–७, टोप्लामा सडकबाट करिब ६ सय मिटर तल खसेको हो।
प्रहरीका अनुसार बा १७ च १८६४ नम्बरको जिप साँझ करिब ४ः४५ बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा परी काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिए।
गम्भीर घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्याइएका तीनै जनालाई चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।
दुर्घटनामा जिप चालक ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय कञ्चन थापा र उनकी श्रीमती ५४ वर्षीया अन्जु थापा घाइते भएका छन्। उनीहरू दुवै जनाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको र अवस्था मध्यम रहेको डीएसपी थपलियाले बताए।
दुर्घटनामा परेका पाँचै जना रारा ताल अवलोकनका लागि काठमाडौं र ललितपुरबाट मुगु आएका थिए। सुर्खेत हुँदै रारातर्फ गइरहेको जिप ताल पुग्न करिब चार किलोमिटर दूरी बाँकी रहँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक रूपमा सडक भासिएका कारण जिप दुर्घटनामा परेको हुन सक्ने अनुमान गरेको छ। दुर्घटनास्थलको प्रकृति हेर्दा सडकको केही भाग भासिएपछि जिप सडकबाट तल खसेको देखिएको डीएसपी थपलियाले बताए।
‘सडक भासिएर जिप सडकबाट करिब ६ सय मिटर तल खसेको देखिन्छ,’ उनले भने।
यद्यपि, सडक भासिनु नै दुर्घटनाको कारण हो वा अन्य कुनै कारणले जिप दुर्घटनामा परेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
