काठमाडौं। टिकटकमार्फत चर्चित तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।
ललितपुर प्रहरीका एसपी गौतम मिश्रका अनुसार अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। उनी विदेश फरार भएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत रेड नोटिस जारी गरिएको थियो।
अधिकारीविरुद्ध गत साउनमै प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी उजुरी दर्ता भएको थियो। अनुसन्धानका क्रममा बैंक खाताहरू जाँच गर्दा ठूलो रकमको कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि उनी फरार रहँदै आएकी थिइन्।
प्रहरीले अधिकारीमाथि थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
