- एनआरएनए र आईएलओले आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सहकार्यलाई थप प्रभावकारी बनाउने भएका छन्।
- विदेशबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने तथा उनीहरूको पुनःस्थापनाका लागि वातावरण बनाउन दुवै संस्था सहमत भएका छन्।
- मध्यपूर्व र युरोपमा रहेका नेपालीका साझा समस्या समाधान गर्न र शव ल्याउने जस्ता जटिल कानुनी प्रक्रियामा प्रभावकारी सहयोग पुर्याइनेछ।
- श्रमिकका समस्या बुझ्न समुदायमै पुग्ने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा व्यवस्थित बनाउन सरोकारवालासँग थप समन्वय गर्ने निर्णय गरिएको छ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न सहकार्यलाई अझ प्रभावकारी बनाउने भएका छन्।
एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र आईएलओका नेपाल प्रमुख (कन्ट्री डाइरेक्टर) नुमान ओज्कानबीच भएको छलफलमा आप्रवासी नेपाली श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, सामाजिक सुरक्षा, आपत्कालीन सहयोग, पुनःस्थापना तथा विदेशबाट फर्किएका श्रमिकको सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने विषयमा छलफल भएको हो।
छलफलका क्रममा विदेशमा काम गर्ने नेपाली श्रमिकले भोग्ने समस्या देशअनुसार फरक भए पनि धेरै चुनौती साझा रहेको डा. शर्माले बताउनुभयो। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आवश्यक सहयोग र संरक्षण दिन एनआरएनएले लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले कोभिड–१९ महामारीका समयमा समेत एनआरएनए र आईएलओबीचको सहकार्यबाट धेरै श्रमिक लाभान्वित भएको स्मरण गर्नुभयो।
विदेशमा नेपाली श्रमिकले सिकेको सीप, ज्ञान र अनुभवलाई नेपालमै उपयोग गर्ने वातावरण बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। नेपाली श्रमिकका समस्या मध्यपूर्वमा मात्र नभई युरोपलगायत विभिन्न क्षेत्रमा फैलिँदै गएकाले सम्बन्धित देशमा रहेका एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को सञ्जाललाई प्रभावकारी रूपमा परिचालन गरेर आईएलओसँग थप सहकार्य गर्न सकिने उहाँको भनाइ थियो।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले श्रमिकसम्म सूचना र सहयोग पुर्याउन समुदायमै पुगेर काम गर्नुपर्ने बताउनुभयो। विदेशबाट नेपाल फर्किएका नेपालीलाई आवश्यक सेवा कहाँ पाइन्छ, सम्बन्धित निकायसँग कसरी सम्पर्क गर्ने र समस्यामा पर्दा कहाँ सहयोग माग्ने भन्ने विषयमा स्पष्ट जानकारी आवश्यक रहेको उहाँले बताउनुभयो।
एनआरएनए महासचिव डा. चिरञ्जीवी खड्काले मध्यपूर्वमा संघले पहिलोपटक श्रमिक सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै आईएलओलाई सहभागी हुन निमन्त्रणा दिनुभयो। उहाँले आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा अत्यन्त महत्वपूर्ण विषय भएको बताउँदै यस क्षेत्रमा सरकारसँग समेत सहकार्य भइरहेको जानकारी दिनुभयो।
क्रोएसिया, रोमानियालगायत युरोपेली मुलुकमा पछिल्लो समय ठूलो संख्यामा नेपाली श्रमिक जाने गरेको उल्लेख गर्दै खड्काले उनीहरूको सामाजिक सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
विदेशमा नेपाली श्रमिकको मृत्यु भएपछि शव नेपाल ल्याउने क्रममा पनि परिवारले अनेक कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो। कानुनी प्रक्रिया, आवश्यक कागजात, दोभाषे, स्थानीय निकायसँगको समन्वय तथा अन्य व्यवस्थापनका कारण शव नेपाल ल्याउने प्रक्रिया जटिल बन्ने गरेको उहाँको भनाइ थियो। यस्तो अवस्थामा सहयोग गर्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभयो।
आईएलओका नेपाल प्रमुख नुमान ओज्कानले विदेशमा रहेका नेपाली श्रमिकको आवाज सम्बन्धित निकायसम्म पुर्याउन एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संकटमा परेका श्रमिकलाई सहयोग गर्न उनीहरूकै समुदायसम्म पुगेर प्रत्यक्ष संवाद गर्नुपर्ने उहाँले बताउनुभयो।
“लक्षित मानिससम्म पुग्नु हाम्रो उद्देश्य हो,” ओज्कानले भन्नुभयो, “त्यसका लागि समुदायसँग वास्तविक रूपमा जोडिएर उनीहरूका समस्या र आवश्यकतालाई बुझ्नुपर्छ।”
ओज्कानले वैदेशिक रोजगारीलाई श्रमिक विदेश जाने र फर्किने प्रक्रियामा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभयो। विदेश जानुअघि आवश्यक तालिम र तयारी, रोजगारीका क्रममा सुरक्षा तथा अधिकारको संरक्षण र स्वदेश फर्किएपछि पुनःस्थापनासम्मको सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो।
सरकारले अहिले आप्रवासी श्रमिकका लागि उपलब्ध गराइरहेका सेवा र संयन्त्रको अध्ययन गरी त्यसमा एनआरएनए, आईएलओ तथा अन्य संस्थाले कहाँ र कसरी थप सहयोग गर्न सक्छन् भन्ने पहिचान गर्नुपर्ने उहाँले बताउनुभयो।
छलफलमा आगामी दिनमा एनआरएनए, आईएलओ, सरकार, सम्बन्धित मन्त्रालय, मानसिक स्वास्थ्य सेवा प्रदायक तथा अन्य साझेदार संस्थाबीच सहकार्यलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको छ। विदेशमा रहेका नेपाली श्रमिकलाई सुरक्षित, सम्मानजनक र आवश्यक परेको बेला भरपर्दो सहयोग पाउने वातावरण बनाउन संयुक्त रूपमा कार्यक्रम अघि बढाउने आवश्यकता पनि औंल्याइएको छ।
