- महादीप पोखरेलको अध्यक्षतामा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको नयाँ केन्द्रीय कार्यसमिति काठमाडौंमा आयोजित भेलाद्वारा सर्वसम्मत निर्वाचित भएको छ।
- नवनिर्वाचित अध्यक्ष पोखरेलले साम्राज्यवाद, नवउदारवाद र वातावरणीय विनाश विरुद्ध सशक्त बौद्धिक आन्दोलन र वैचारिक बहस सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
- संघको पदाधिकारीमा सात उपाध्यक्षसहित महासचिवमा परशु कोइराला, सचिवमा आशिष जोशी र कोषाध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन्।
- संस्थाले आगामी दिनमा देशव्यापी बौद्धिक छलफल र अनुसन्धान गर्दै युवाहरूलाई नीति निर्माण र सामाजिक रूपान्तरणमा सहभागी गराउने लक्ष्य लिएको छ।
काठमाडौं, नेपाल। अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा आयोजित भेलाले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो। बौद्धिक क्षेत्रलाई संगठित गर्दै समसामयिक राजनीतिक, सामाजिक र आर्थिक मुद्दामा हस्तक्षेप गर्ने उद्देश्यसहित संघको नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद तथा वातावरणीय विनाशका विरुद्ध सशक्त बौद्धिक आन्दोलन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्लो समय सुस्ताउँदै गएको प्रगतिशील बौद्धिक आन्दोलनलाई पुनर्जीवित गर्दै नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ संघलाई सक्रिय बनाइने बताए। “समाजमा बढ्दो असमानता, बेरोजगारी, र प्राकृतिक स्रोतको दोहनविरुद्ध वैचारिक बहस र जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता हो,” उनले भने।
भेलामा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्दै मुलुकको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालहरू कमजोर बन्दै गएको सन्दर्भमा यस्तो संघको गठन अत्यन्त महत्वपूर्ण रहेको धारणा राखे। उनीहरूले प्रगतिशील तथा कम्युनिस्ट आन्दोलनलाई बौद्धिक आधार प्रदान गर्न संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपाका संयोजक लोकनारायण सुवेदी, नेकपा (बहुमत) का नेता दीपक चलाउने, नेकपा नेता नारायणप्रसाद शर्मा, जेन–जी अभियन्ता रमेश विक्रान्त तथा वातावरणविद् आशिष जोशीलगायतले सम्बोधन गर्दै संघको सफल कार्यकालको कामना गरेका थिए।
भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती, श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल र राजेन्द्र साउदलाई चयन गरेको छ। त्यसैगरी महासचिवमा परशु कोइराला, सचिवमा आशिष जोशी र कोषाध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यहरूमा महेश पौडेल, बासुदेव नाथ, सुशील भट्टराई, खेम पौडेल, मोहन खतिवडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगीरथ घिमिरे, पवन खवास, ध्रुव भण्डारी, अच्युत कट्टेल र भक्त रसाइली रहेका छन्।
संघले डा. डीपी पौडेल, रमेश पौडेल, टीका कडेल र निरेन्द्र कुँवरलाई सल्लाहकारमा मनोनयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिले निकट भविष्यमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै देशव्यापी रूपमा बौद्धिक छलफल, गोष्ठी तथा अनुसन्धानमूलक गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। साथै, शिक्षित युवाहरूलाई नीति–निर्माण र सामाजिक रूपान्तरणका प्रक्रियामा सक्रिय सहभागी गराउने लक्ष्य समेत संघले अघि सारेको छ।
