सारांश
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो तीन दिने महाधिवेशन सुरु भएको छ, जसले नयाँ नेतृत्व र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ।
  • सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई सरकार सञ्चालनको मुख्य जिम्मेवारी दिएको र आफू सहयोगी भूमिकामा रहने स्पष्ट पारे।
  • प्रधानमन्त्री बालेन शाहले सरकारले सुकुमवासी र सहकारी समस्या समाधान गर्ने तथा सीमा विवादमा ऐतिहासिक प्रमाणका आधारमा बोल्ने बताए।
  • कांग्रेस र एमालेका शीर्ष नेताहरूले रास्वपाको प्रगतिको प्रशंसा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धा र सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

चितवन:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ। पार्टीको इतिहासमै पहिलो पटक आयोजना गरिएको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै भावी राजनीतिक कार्यदिशा र नीतिगत प्राथमिकता तय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले घण्टी बजाएर गरेका थिए। सोही शैलीमा उद्घाटन सत्रको समापन पनि गरिएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहलाई दिइएको स्पष्ट पार्दै आफू सहयोगी भूमिकामा रहने बताए। “चुनावअघि नै बालेनजीको खुट्टामा बल पुर्‍याइसकेका छौँ, अब गोल हान्ने जिम्मा उहाँकै हो,” उनले भने, “झुक्किएर बल कतै आएछ भने पनि फेरि उहाँकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो।”

उनले आलोचनाप्रति संकेत गर्दै व्यक्तिगत प्रतिवादभन्दा इतिहासप्रति उत्तरदायी भएर बोलेको उल्लेख गरे। साथै, उनले प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गर्दै ती समस्या देशकै चुनौती बन्न सक्ने बताए।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा सरकारको कार्यशैली र प्राथमिकताबारे स्पष्ट धारणा राखे। उनले आफ्नो नेतृत्वको सरकारलाई “एक्सप्रेस–वेमा गुडिरहेको गाडी” को संज्ञा दिँदै गन्तव्यमा नपुग्दासम्म नरोकिने बताए। “हाम्रो गाडी लोकल सडकमा होइन, एक्सप्रेस–वेमा छ; गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ,” उनले भने।

सीमा विवादबारे उठेका प्रश्नमा स्पष्टिकरण दिँदै उनले नेपालसँग पर्याप्त प्रमाण रहेको दाबी गरे। “हामीसँग प्रमाण छन्, प्रमाणका आधारमा कुरा गर्छौँ,” उनले भने, “ब्रिटिसलाई मध्यस्थ बनाउने होइन, आवश्यक परे ऐतिहासिक प्रमाण खोज्ने कुरा मात्र हो।” उनले आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइनु अनुचित भएको पनि बताए।

प्रधानमन्त्री शाहले विगतका अनियमितता र सरकारी सम्पत्तिको दोहनबारे छानबिन गर्न आवश्यक परे अख्तियारसँग दीर्घकालीन छलफल गर्न सकिने बताए। “५ घण्टा मात्र होइन, आवश्यक परे ५ वर्षसम्म पनि छलफल गर्न तयार छौँ,” उनले भने, “हामी नियमभन्दा बाहिर जाँदैनौँ।”

उनले यही कार्यकालभित्र सुकुमवासी तथा सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा नयाँ एजेन्डासहित जनतामाझ जाने संकेत गरे।

महाधिवेशनमा सहभागी अन्य दलका नेताहरूले पनि रास्वपाको उदय र जनसमर्थनबारे धारणा राखेका छन्। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी नेतृत्वमा रवि लामिछाने सर्वसम्मत हुने संकेत गर्दै नेतृत्वमा द्विविधा नरहेको बताए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई वैकल्पिक राजनीतिक अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। उनले व्यक्तिगत स्वार्थका लागि समर्थन गरेको आरोपको खण्डन गर्दै यस्तो टिप्पणी समाजको संकीर्ण सोच भएको बताए।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले छोटो समयमै हासिल गरेको जनसमर्थनलाई “लोभलाग्दो” भन्दै प्रशंसा गरे। “हामी प्रतिस्पर्धी हौँ, दुश्मन होइनौँ,” उनले भने, “हामी तपाईंहरूलाई कमजोर बनाएर होइन, आफूलाई सुधारेर अगाडि बढ्न चाहन्छौँ।”

चितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुका साथै पार्टीको नीति, कार्यक्रम तथा संगठनात्मक संरचना तय गरिनेछ। छोटो समयमै स्थापित भएको रास्वपाको राजनीतिक प्रभावलाई संस्थागत बनाउने दिशामा यो महाधिवेशन महत्वपूर्ण मानिएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।