काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनमा प्रयोग गरिएको विद्युतीय मतदान उपकरणका सम्बन्धमा उठेका विभिन्न जिज्ञासा र विवादप्रति प्रविधि विकासकर्ताहरूले स्पष्टीकरण दिएका छन्।

राम-लक्ष्मण रिमाल समूहद्वारा जारी प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका सामग्रीहरू तथ्यपरक नभएको उल्लेख गर्दै, तिनले आम नागरिकमा भ्रम सिर्जना गरेकाले प्राविधिक यथार्थ सार्वजनिक गर्न आवश्यक भएको जनाइएको छ। विज्ञप्तिमा कुनै राजनीतिक दल वा निर्वाचन व्यवस्थापन पक्षप्रति पूर्वाग्रह वा आरोप नरहेको स्पष्ट पारिएको छ।

विकासकर्ताहरूका अनुसार विद्युतीय मतदान उपकरणले निर्वाचन प्रक्रियाको अन्तिम चरण अर्थात् मतदान गराउने कार्य मात्र गर्ने भएकाले उम्मेदवारको संख्या, समूह वा क्रम संख्या निर्धारण गर्ने अधिकार सम्बन्धित निर्वाचन आयोगकै हुन्छ। रास्वपा महाधिवेशनमा एउटै समूहमा ६४ जना उम्मेदवार देखिनु निर्वाचन आयोगबाट प्राप्त अन्तिम नामावलीअनुसार नै भएको उनीहरूले बताएका छन्।

त्यसैगरी, उम्मेदवारको नाम र क्रम संख्या फरक परेको भन्ने विषयमा पनि विकासकर्ताहरूले मेसिनमा समावेश विवरण निर्वाचन आयोगबाट हस्ताक्षरसहित प्राप्त अन्तिम सूचीअनुसार जस्ताको त्यस्तै राखिएको दाबी गरेका छन्।

प्रारम्भिक रूपमा ऐच्छिक मतदानको व्यवस्था गर्ने सहमति भए तापनि अन्तिम समयमा निर्वाचन आयोगको लिखित निर्देशनपछि मात्र अनिवार्य मतदान प्रणाली लागू गरिएको जनाइएको छ।

उम्मेदवारको तस्बिर समावेश हुन नसक्नुको कारण अन्तिम नामावली ढिलो प्राप्त हुनु र तत्कालै मतदान सुरु गर्नुपर्ने समयगत बाध्यता रहेको विकासकर्ताहरूले बताएका छन्। सामान्य अवस्थामा फोटोसहितको विद्युतीय मतपत्र तयार गर्न ८ देखि १० घण्टासम्म समय लाग्ने उनीहरूको भनाइ छ।

मतपरिणाम ढिलो आएको विषयमा प्रवासतर्फको मतदान सम्पन्न नभएसम्म मतगणना रोकिएको र त्यसपछि मात्र १० मिनेटमै सबै मत गणना गरी निर्वाचन आयोगलाई उपलब्ध गराइएको स्पष्ट पारिएको छ। नतिजा सार्वजनिक गर्न ढिलाइ हुनु आयोगको आन्तरिक प्रक्रियासँग सम्बन्धित रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा समग्र निर्वाचन व्यवस्थापनमा केही कमजोरी देखिएको सङ्केत गर्दै भविष्यमा अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी निर्वाचन अभ्यासको विकास हुनुपर्नेमा जोड दिइएको छ। साथै, आफूहरूले प्रदान गरेको प्रविधि पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र विश्वसनीय रहेको दाबी गर्दै आवश्यक परेमा जुनसुकै मञ्चमा स्पष्टीकरण दिन तयार रहेको समेत जनाइएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।