- बझाङको केदारस्युँमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना गम्भीर घाइते भएका छन्।
- खराब मौसम र मुसलधारे वर्षाका कारण जिप सडकबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।
- प्रतिकूल मौसमले हेलिकप्टर अवतरण हुन नसकेपछि स्थानीय र सुरक्षाकर्मीले घाइतेहरूको उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
नेपालगन्ज: बझाङमा शनिबार दिउँसो एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार केदारस्युँ गाउँपालिका–७ कडाचौरबाट दुर्गाथली गाउँपालिकाको चुहावनतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ च २६४४ नम्बरको जिप दिउँसो करिब ४ बजे सडकबाट तल खसेको थियो।
दुर्घटनाको स्पष्ट कारण खुलिसकेको छैन। यद्यपि, उक्त क्षेत्रमा परिरहेको मुसलधारे पानी र खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। मौसमकै कारण उद्धार कार्यमा समेत ठूलो बाधा पुगेको छ। घाइतेहरूलाई तत्काल अस्पताल पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण घटनास्थलमा बस्न सकेन र चैनपुर फर्कन बाध्य भयो।
हेलिकप्टर अवतरण गर्न नसके पनि स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। उनीहरूले प्रतिकुल मौसमको प्रवाह नगरी घाइतेहरूको उद्धार गरिरहेका छन्।
चालकसहित १५ जना सवार उक्त जिप दुर्घटनामा परेका घाइतेमध्ये तीन जनाको अवस्था निकै गम्भीर रहेको र उनीहरूको उपचारको व्यवस्था मिलाइँदै गरेको बझाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
