सारांश
  • ओन्टारियो सरकारले नेपाली समुदायलाई प्रान्तको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउने र आर्थिक-सामाजिक विकासमा योगदान पुर्याउने महत्वपूर्ण समुदायका रूपमा सम्मान गरेको छ।
  • ब्राम्पटनमा आयोजित 'नेपाल फेस्टिभल'मा नेपाली मौलिक कला, संगीत, नृत्य र परिकारको प्रदर्शन गर्दै सांस्कृतिक पहिचानको प्रवर्द्धन गरियो।
  • राजदूत भरतराज पौडेल र जनप्रतिनिधिहरूले नयाँ पुस्तालाई नेपाली भाषा र परम्परासँग जोड्न यस्ता सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
  • लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबद्वारा आयोजित यस उत्सवले क्यानडामा नेपाली पर्यटन र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याएको छ।

ब्राम्पटन (क्यानडा)। क्यानडाको ओन्टारियो प्रान्तमा बसोबास गर्ने नेपाली समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै ओन्टारियो सरकारका नागरिकता तथा बहुसांस्कृतिक सहायक मन्त्री ग्राहम म्याकग्रेगरले नेपाली–क्यानेडियन समुदायलाई प्रान्तको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउने महत्वपूर्ण समुदायका रूपमा चित्रण गरेका छन्।

ब्राम्पटनस्थित चिङ्गुआकुसी पार्कमा लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबद्वारा आयोजित नेपाल फेस्टिभल–२०२६ लाई सम्बोधन गर्दै मन्त्री म्याकग्रेगरले नेपाली समुदायले आफ्नो संस्कृति र पहिचानलाई जोगाउँदै क्यानडाको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए। उनले नेपाली समुदायको सक्रियता, मेहनत र सामाजिक सहभागिताले ओन्टारियोलाई अझ समावेशी र विविधतापूर्ण समाज बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

उनले नेपाल फेस्टिभलजस्ता सांस्कृतिक उत्सवहरू केवल मनोरञ्जनका कार्यक्रम नभई फरक–फरक समुदायलाई एकअर्काको संस्कृति बुझ्ने, सम्मान गर्ने र सम्बन्ध विस्तार गर्ने साझा अवसर भएको बताए। यस्ता कार्यक्रमले बहुसांस्कृतिक समाजलाई थप बलियो बनाउने विश्वास पनि उनले व्यक्त गरे।

रङ्गीन नेपाली झण्डा, मौलिक सांस्कृतिक पहिरन, परम्परागत संगीत र नृत्यले भरिएको महोत्सवमा दिनभर नेपालीपन झल्किएको थियो। नेपाली लोक तथा आधुनिक सांगीतिक प्रस्तुति, विभिन्न जातीय समुदायका सांस्कृतिक नृत्य, लाखेनाच, नेपाली परिकार तथा हस्तकलाका स्टलमा सहभागीहरूको उल्लेखनीय भीड देखिएको थियो। कार्यक्रममा नेपाली समुदायका साथै अन्य जातीय समुदायका क्यानडेली नागरिकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौडेल, संघीय तथा प्रान्तीय जनप्रतिनिधि, स्थानीय नगरपालिकाका निर्वाचित प्रतिनिधि, विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधि, व्यवसायी तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले क्यानडामा हुर्कँदै गरेको नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल फेस्टिभल क्यानडामा नेपाली कला, संस्कृति, पर्यटन र मौलिक पहिचानको प्रवर्द्धन गर्ने प्रमुख सामुदायिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ। समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपालको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष परिचित गराउने साझा मञ्चका रूपमा यो महोत्सव वर्षेनी विस्तार हुँदै गएको आयोजकको विश्वास छ।

अमृत क्षेत्री
लेखक
अमृत क्षेत्री

अमृत क्षेत्री क्यानडामा आधारित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी नेपाल, क्यानडा तथा नेपाली डायस्पोरासँग सम्बन्धित विविध विषयमा समाचार तथा लेखहरू सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।