सारांश
  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोलीबाट ज्यान गुमाएका दुई युवकको शव ७ बुँदे सहमतिपछि आफन्तले बुझेर अन्त्येष्टि गरेका छन्।
  • सहमतिमा मृतकका परिवारलाई १० लाख राहत, शहीद घोषणा प्रक्रिया, रोजगारी र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने उल्लेख छ।
  • घटनाका कारण समुदायमा बढेको त्रास र अविश्वास हटाउँदै सामाजिक सद्भाव पुनःस्थापना गर्नु अहिलेको मुख्य चुनौती बनेको छ।

विराटनगर । पाँच दिनसम्म अस्पतालको शवगृहमा रहेका दुई युवकको शव शुक्रबार अन्ततः आफन्तले बुझे। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका २५ वर्षीय ओमप्रकाश मेहता र २२ वर्षीय जयप्रकाश मेहताको अन्त्येष्टि सरकार र पीडित परिवारबीच ७ बुँदे सहमतिपछि सम्भव भएको हो। तर शव उठे पनि गाउँमा फैलिएको शोक, त्रास र सामाजिक दूरी भने अझै मेटिएको छैन।

गत आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना युवा घाइते भएका थिए। घटनास्थलमै ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश मेहताले उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा अन्तिम सास फेरे। अन्य घाइतेमध्ये छ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

शव उठाउने वातावरण बनाउन बिहीबार रातभर सरकार र पीडित पक्षबीच छलफल भएको थियो। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तापछि शुक्रबार बिहान ७ बुँदे सहमति भएको हो। सहमतिअनुसार मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने, मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने, मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी उपलब्ध गराउने तथा उनीहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ।

सहमतिपछि शव बुझ्ने प्रक्रिया अघि बढे पनि केही स्थानीयले सम्झौता कार्यान्वयन हुने सुनिश्चितता नभएसम्म शव नउठाउन आग्रह गरेका थिए। प्रशासनले सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन हुने विश्वास दिलाएपछि मात्रै साँझतिर आफन्तले शव बुझे।

शोकसँगै बढेको सामाजिक दूरी

देवानगञ्जमा अहिले सबैभन्दा ठूलो चुनौती शवको अन्त्येष्टि होइन, समुदायबीच हराउँदै गएको विश्वास पुनःस्थापित गर्नु बनेको छ। लामो समयदेखि मिलेर बसेका समुदायबीच यो घटनापछि असहजता र अविश्वास बढेको स्थानीय बताउँछन्।

गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवका अनुसार घटनाले समुदायबीचको सम्बन्धमा गहिरो असर पारेको छ।

“हिजोसम्म को हिन्दु र को मुस्लिम भन्ने छुट्ट्याउने अवस्था थिएन। सबै एउटै गाउँका नागरिकका रूपमा मिलेर बसेका थियौँ। अहिले त्यो आत्मीयतामा चिसोपन आएको छ,” उनले भनिन्।

उनका अनुसार अहिलेको अवस्था चुँडिएको धागोजस्तै छ। धागो फेरि गाँस्न त सकिएला, तर त्यसको गाँठो भने सजिलै मेटिँदैन। त्यसैले दुवै समुदायले संयमता अपनाएर संवाद र सहकार्यमार्फत विश्वास पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

स्थानीय सामाजिक अगुवा रामनारायण मेहताले पनि न्यायबिनाको मेलमिलाप दिगो नहुने बताए। “हामी सबै यहीँ बस्ने हो। कसैले आफ्नो गाउँ छाडेर जान सक्दैन। त्यसैले दोषीलाई कानुनअनुसार कारबाही गरेर राज्यले न्याय दिएको अनुभूति दिलाउनुपर्छ,” उनले भने।

सुरक्षा व्यवस्था कायमै

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी चन्द्रबहादुर खड्काले सरकार र पीडित परिवारबीच सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको बताए। यद्यपि दुवै समुदायमा अझै त्रास र आशंका कायम रहेकाले सुरक्षा सतर्कता उच्च राखिएको उनले जानकारी दिए।

“दुवै पक्षबाट अझै पनि सुरक्षा सम्बन्धी चासो र जानकारीका लागि फोन आइरहेका छन्। त्यसैले आवश्यक सुरक्षा व्यवस्था कायम राखिएको छ,” उनले भने।

हाल देवानगञ्जको अवस्था नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ। तर स्थानीय प्रशासनले कर्फ्यु आदेश भने तत्काल हटाएको छैन। सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक निर्णय लिइने जनाइएको छ।

शव अन्त्येष्टि भइसकेको छ, तर देवानगञ्जका लागि अबको वास्तविक चुनौती न्याय सुनिश्चित गर्नु, समुदायबीचको विश्वास पुनःस्थापित गर्नु र शोकलाई स्थायी विभाजनमा रूपान्तरण हुन नदिनु हो।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected]