- रोल्पाको थबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
- पहिरोमा अझै नौ जना स्थानीय बेपत्ता रहेका छन्, उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
- घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा बेपत्ताको खोजीमा सक्रियतापूर्वक खटिएका छन्।
- अविरल वर्षाका कारण थप पहिरोको जोखिम कायमै रहँदा उद्धार कार्यमा केही कठिनाइ भइरहेको छ।
रोल्पा । अविरल वर्षासँगै गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५, बोटलबारामा तीन जनाको मृत्यु भएको छ। पहिरोमा परी नौ जना अझै बेपत्ता छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छ वटा घर तथा गोठ पुरेको थियो। पहिरोमा परी १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको थियो।
उद्धारका क्रममा बिहीबार बिहान थप ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोबाट उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरोमा परी जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर बेपत्ता छन्।
बिहीबार बिहानैदेखि घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासी र उद्धार टोलीले बेपत्ताको खोजी गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहितको टोली परिचालन गरिएको छ।
त्यस्तै, नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा प्रहरी टोली पनि खोज तथा उद्धारमा खटिएको छ।
लगातारको वर्षाका कारण घटनास्थलमा थप पहिरो खस्ने जोखिम कायमै छ। जोखिमबीच पनि सुरक्षाकर्मी र स्थानीयवासीले बेपत्ताको खोजी तथा उद्धारलाई निरन्तरता दिएका छन्। परिवारजन भने आफ्ना आफन्त सकुशल भेटिने आशामा घटनास्थलमा पर्खिरहेका छन्।
