- स्पेनको कोस्टाब्लाङ्कामा नेपाली समुदायले धर्म र संस्कृति जोगाउन मन्दिर–गुम्बासहितको धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माण अभियान सुरु गरेका छन्।
- अभियानका लागि प्रारम्भिक चरणमै २० जना सदस्यहरूबाट जनही ५ हजार युरोका दरले कुल १ लाख युरो सहयोगको प्रतिबद्धता जुटेको छ।
- यो केन्द्रले प्रवासमा नेपालीहरूलाई एकताबद्ध गर्ने र नयाँ पुस्तालाई आफ्नो भाषा तथा संस्कारसँग जोड्ने साझा थलोको रूपमा काम गर्नेछ।
- अभियानलाई प्रभावकारी बनाउन नवदुर्गा पूजा र तीज कार्यक्रम आयोजना गर्दै विश्वभरका नेपालीसँग सहयोगको अपिल गरिएको छ।
स्पेन । हजारौं किलोमिटर टाढा परदेशमा बसे पनि आफ्नो धर्म, संस्कृति, भाषा र परम्परासँगको सम्बन्ध जोगाइराख्ने नेपालीहरूको चाहना स्पेनको कोस्टाब्लाङ्कामा एउटा नयाँ अभियानमार्फत मूर्त रूप लिन थालेको छ। नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काको पहलमा मन्दिर–गुम्बासहित धार्मिक तथा सांस्कृतिक केन्द्र निर्माण गर्ने अभियान सुरु गरिएको छ, जसका लागि प्रारम्भिक चरणमै १ लाख युरो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जुटेको छ।
नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसरबहादुर थापा र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीको अध्यक्षतामा सोमबार बसेको संयुक्त बैठकले धार्मिक धरोहर निर्माणलाई समुदायको साझा अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।
बैठकमा सहभागी नेपाली समुदायका सदस्यहरूले जनही ५ हजार युरोका दरले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसरी संकलन हुने १ लाख युरो नेपाली रुपैयाँमा करिब १ करोड ७७ लाख २० हजार बराबर हुन्छ। यो रकम केवल एउटा भवन निर्माणका लागि मात्र नभई प्रवासमा नेपाली पहिचान जोगाउने साझा प्रयासको प्रतीकका रूपमा हेरिएको छ।
मुकुन्द लामिछाने, सुरेन्द्र भुजेल थापा, रितेश श्रेष्ठ, बिपिन बुढाथोकी, केसरबहादुर थापा, रुद्र खत्री, सुरेश बज्राचार्य, दुर्गा भण्डारी, बद्रीप्रसाद कोइराला, द्वारिका लामिछाने, हेमराज सापकोटा, नवराज दुवाडी, दिपेश श्रेष्ठ, ईश्वर गौतम, अन्जु पुन, अक्कल बोहोरा, राजन थापा, केशवराज कडेल, देबराज सापकोटा र बिनोद शेरचनलगायतले अभियानमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्दिर–गुम्बा निर्माण अभियानका संयोजक मुकुन्द लामिछानेका अनुसार निर्माण हुने केन्द्र केवल पूजा–आराधनाको स्थल मात्र हुने छैन, यो नेपाली समुदायको भेटघाट, सामाजिक एकता, संस्कार र सांस्कृतिक गतिविधिको साझा थलोका रूपमा विकास गरिनेछ। विशेषगरी विदेशमा हुर्किरहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने माध्यम बन्ने विश्वास गरिएको छ।
अभियानलाई थप सशक्त बनाउन बैठकले नौदिने नवदुर्गा पूजा आयोजना गर्ने निर्णय गरेको छ। पूजा–पाठको नेतृत्व पण्डित ईश्वर गौतमले गर्नेछन् भने मन्दिरका लागि आवश्यक मूर्ति व्यवस्थापनको जिम्मेवारी समाजका संरक्षक सुरेन्द्र भुजेल थापालाई दिइएको छ।
यसैबीच, आगामी तीज कार्यक्रमलाई पनि समुदायलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिइएको छ। कार्यक्रम स्थल व्यवस्थापनको जिम्मेवारी रितेश श्रेष्ठ र सुरेश बज्राचार्यलाई दिइएको छ भने पूजा तथा धार्मिक कार्यक्रम सञ्चालनका लागि आवश्यक स्थान एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन बुढाथोकीले उपलब्ध गराउने भएका छन्। तीज कार्यक्रमको समग्र व्यवस्थापन स्मृति गौतम, डा. सबिता पाठक र रीता आचार्यले गर्नेछन्।
मन्दिर–गुम्बा निर्माण तथा आर्थिक सहयोग अभियानको समन्वयकारी भूमिकामा समाजका संरक्षक रुद्र खत्री रहने निर्णयसमेत गरिएको छ।
बैठकमा सहभागी १४ जना प्रतिनिधिहरूले यो अभियानलाई केवल कोस्टाब्लाङ्का वा स्पेनमा सीमित नराखी विश्वभर रहेका नेपाली समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल समाज एसोसिएसनका महासचिव अशिम लोप्चन तामाङले विश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई अभियानमा साथ दिन आह्वान गरेका छन्।
प्रवासी भूमिमा निर्माण हुन लागेको यो धार्मिक तथा सांस्कृतिक केन्द्रले नेपाली धर्म, संस्कृति, कला र सामाजिक एकताको संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ। परदेशमा जन्मिएका र हुर्किरहेका भावी पुस्ताले आफ्ना जरा, संस्कृति र पहिचानलाई नबिर्सून् भन्ने उद्देश्यका साथ सुरु गरिएको यो अभियान नेपाली समुदायको साझा सपना र सामूहिक प्रयासको उदाहरण बनेको छ।
