सारांश
  • अमेरिकी टोली उल्भ्स ईस्पोर्ट्सले लाहोरमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (PMGO) २०२६ सिजन २ को उपाधि जितेको छ।
  • प्रतियोगितामा ‘म्याच-पोइन्ट’ नियम लागू गरिएको थियो, जहाँ ६७ अङ्कको थ्रेसहोल्ड पार गरेर खेल जित्ने टोली विजेता बन्ने प्रावधान थियो।
  • नेपालको होरा ईस्पोर्ट्स ८६ अङ्कसहित चौथो स्थानमा रह्यो भने अर्को नेपाली टोली T2K फाइनलमा पुग्न असफल भयो।
  • सर्वाधिक ९४ अङ्क जोडेको एके गोल्ड उपविजेता र ८८ अङ्क प्राप्त गरेको ४के ईस्पोर्ट्स तेस्रो स्थानमा सीमित भए।

काठमाडौँ : पाकिस्तानको लाहोरमा आइतबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (PMGO) २०२६ सिजन २ को उपाधि अमेरिकी टोली उल्भ्स ईस्पोर्ट्सले जितेको छ। प्रतियोगिताको अन्तिम दिन ‘स्न्याश रूल’ (म्याच-पोइन्ट नियम) अनुसार रोमाञ्चक मोडमा पुगेको ग्राण्ड फाइनाल्समा उल्भ्सले उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगिताभर उच्च प्रदर्शन गरेको नेपालको होरा ईस्पोर्ट्सले भने चौथो स्थानमा चित्त बुझाएको छ।

दुई दिनसम्म चलेको १२ म्याचको ग्राण्ड फाइनाल्समा अङ्क तालिकाको समीकरण प्रतियोगिताको म्याच-पोइन्ट नियमका कारण निकै प्रतिस्पर्धात्मक बनेको थियो। यस नियमअनुसार प्रतियोगिता जित्नका लागि टोलीहरूले पहिले ६७ अङ्कको सीमा पार गर्नुपर्थ्यो। सो सीमा पार गरिसकेपछि हुने कुनै पनि खेलमा जित (चिकन डिनर) हात पार्ने टोली नै समग्र विजेता बन्ने प्रावधान रहेको थियो।

प्रतियोगिताभर सबैभन्दा बढी ९४ अङ्क जोडेको एके गोल्ड ईस्पोर्ट्सले ६७ अङ्कको थ्रेसहोल्ड पार गरे पनि त्यसपछिको खेल जित्न नसक्दा उपविजेतामै सीमित भयो। यस्तै, ८८ अङ्क जोडेको ४के ईस्पोर्ट्स तेस्रो स्थानमा रह्यो। ११ औँ खेलमा ६७ अङ्क पार गरेको उल्भ्स ईस्पोर्ट्सले १२ औँ खेल (मिरामार म्याप) मा जित हासिल गर्दै कूल ८६ अङ्कसहित प्रतियोगिताको मुख्य ट्रफी जित्न सफल भयो।

नेपालको होरा ईस्पोर्ट्सले शनिबार फाइनाल्सको पहिलो दिन ५७ अङ्कसहित शीर्ष स्थान ओगटेर बलियो सुरुआत गरेको थियो। दोस्रो दिन पनि उपाधि होडमा कायम रहेको होराले उल्भ्स सरह कूल ८६ अङ्क जोडेको थियो। तर, ११ औँ खेलको निर्णायक क्षणमा ब्राजिलियन टोली इन्फ्लुएन्स रेजसँग पराजित भएपछि होरा म्याच-पोइन्ट हासिल गर्नबाट चुक्यो। परिणामस्वरुप, टाइब्रेकरका आधारमा नेपालको टोली चौथो स्थानमा रहन पुग्यो।

इन्फ्लुएन्स रेज ८१ अङ्कसहित सातौँ स्थानमा सीमित रह्यो भने नेपालको अर्को प्रतिनिधि टोली T2K ईस्पोर्ट्स अघिल्लो सर्भाइभल स्टेजबाटै बाहिरिएकाले ग्राण्ड फाइनाल्समा प्रवेश पाउन सकेन।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।