काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ। प्राध्यापक डा. भोला थापा उपकुलपतिमा नियुक्त भएसँगै विश्वविद्यालय सुधारको अपेक्षा फेरि एकपटक चुलिएको छ।
प्रधानमन्त्रीसमेत रहेका कुलपतिले उनलाई उक्त जिम्मेवारी दिएका हुन्। यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति रहिसकेका थापा अनुभवी शैक्षिक प्रशासकका रूपमा चिनिन्छन्।
इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानमा लामो समयदेखि सक्रिय थापा नेपालका प्राविधिक शिक्षा क्षेत्रका परिचित नाम हुन्। मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनरसम्बन्धी विषयमा स्नातकोत्तर र हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले पार्ने क्षरण विषयमा विद्यावारिधि गरेका छन्।
उनको शैक्षिक यात्रा पनि साधारण ढंगले सुरु भएको थियो। कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट विद्यालय शिक्षा पूरा गरेका उनले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह हासिल गरेका थिए। त्यसपछि सरकारी सेवाबाट करियर सुरु गर्दै उनी काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक बने। त्यहाँ उनले प्राध्यापकदेखि रजिस्ट्रारसम्मका जिम्मेवारी सम्हाल्दै अन्ततः २०७७ माघमा उपकुलपति बनेका थिए।
अब उनी देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको नेतृत्वमा आएका छन्, जहाँ वर्षौंदेखि शैक्षिक क्यालेन्डर ढिलाइ, प्रशासनिक जटिलता र विद्यार्थी असन्तुष्टिका समस्या देखिँदै आएका छन्।
उनको नियुक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले अनुभवी नेतृत्व आएको भन्दै आशा व्यक्त गरेका छन् भने केहीले विश्वविद्यालयमा वास्तविक सुधार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएका छन्।
जे होस्, अबको ध्यान डा. थापाले के गर्छन् भन्नेमा केन्द्रित हुनेछ। उनको नेतृत्वले त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित र गुणस्तरीय बनाउन सक्छ कि सक्दैन भन्ने प्रश्नको जवाफ आगामी दिनहरूले दिनेछन्।
