- साहित्यिक पत्रकार संघद्वारा आयोजित कविता प्रतियोगितामा खोटाङका शुभचन्द्र राई प्रथम, तुलसी घिमिरे दोस्रो र परिवेश मुन्छे तेस्रो भएका छन्।
- विजेताहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।
- कुल १०८ वटा कवितामध्ये वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले अन्तिम नतिजा सार्वजनिक गरेको हो।
- ४० वर्ष मुनिका कविहरू सहभागी यस प्रतियोगिताका लागि अमेरिका निवासी समाजसेवी सपना राउतले पुरस्कार रकम प्रायोजन गरेकी हुन्।
काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ को नतिजा सार्वजनिक भएको छ। प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।
त्यसैगरी मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र भरतपुरका कवि परिवेश मुन्छे तेस्रो भएका छन्। उत्कृष्ट पाँचभित्र सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंकी कवयित्री संगीता खरेल पनि पर्न सफल भएका छन्।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ३०,०००, दोस्रो हुनेलाई रु. २०,००० र तेस्रो हुनेलाई रु. १०,००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट २५ कविलाई पनि प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।
प्रतियोगितामा १०८ वटा कविता प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट २५ कविताको सूची यसअघि नै सार्वजनिक गरिएको थियो।
उत्कृष्ट २५ कवितामा ‘जागौँ वीर युवा’ (विपेन आदिमा), ‘जेनजीबहादुर’ (सुनिता अधिकारी), ‘कवितामा देश’ (तुलसी घिमिरे), ‘प्रेमका परम गणितहरू’ (गुञ्जन राई), ‘आवाजहरूको विद्रोह’ (संगीता खरेल), ‘मुखौटाहरूको महोत्सव’ (रमेश दाहाल), ‘बलिदानीहरूको आवाज’ (सरस्वती विश्वकर्मा ‘सारा’), ‘स्वाभिमान’ (‘प्यासी’), ‘गाउँ जाने बाटो’ (मदन घिमिरे), ‘मान्छे हरायो’ (किरण विश्वकर्मा), ‘सहर अब सहर होइन’ (अञ्चु सुवेदी), ‘के गर्व गर्नु छ?’ (गोपाल खनाल), ‘शून्यहरूको आत्मकथा अनन्तसम्म’ (राजु उवरकोटी), ‘फूलकुमारी’ (सरिता जोशी), ‘भित्तेपात्रोहरू’ (मोहित जोशी), ‘म र झोला’ (मनिभक्त राई), ‘के म नेपाली होइन र?’ (कंडेल), ‘क्षमायाचना’ (सुरज पराजुली), ‘जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा’ (माधवहरि पौडेल), ‘मैले कविता लेख्न सकेको छैन’ (परिवेश मुन्छे), ‘मान्छे : एक अनन्त अन्वेषण’ (इन्द्रप्रसाद गोतामे ‘जगतजंग’), ‘परिवर्तन’ (शून्य नयन), ‘युवालाई आह्वान’ (सुशील पौडेल), ‘एकलव्यको दोस्रो प्रहार’ (शुभचन्द्र राई) र ‘लग्दै छ वृद्धाश्रम’ (निशा काफ्ले) रहेका छन्।
प्रतियोगिताका लागि अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी सपना राउतले पुरस्कार रकम प्रायोजन गरेकी हुन्।
संघका अनुसार प्रतियोगितामा सहभागी हुन कविता समसामयिक विषयमा आधारित, मौलिक तथा अप्रकाशित हुनुपर्ने र सहभागीको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको थियो।
प्रतियोगिताका लागि कविता बुझाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको थियो।
साहित्यिक पत्रकार संघले यसअघि पनि निबन्ध प्रतियोगिता आयोजना गरिसकेको छ।
