- रेस्पोन्सिभ मिडिया प्रालिले नेपाली भाषा र साहित्य प्रवर्द्धनका लागि 'राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३' को आवेदन खुला गरेको छ।
- यस अवार्डमा कविता, उपन्यास र बालसाहित्यसहित २० भन्दा बढी विधामा स्वदेश तथा विदेशमा रहेका साहित्यकारहरूले आवेदन दिन सक्नेछन्।
- इच्छुक स्रष्टाहरूले तोकिएको फाराम भरी आवेदन दिन सक्नेछन् र थप जानकारीका लागि ९८५११९४२३९ मा सम्पर्क गर्न सकिनेछ।
- अवार्डको अन्तिम चरण तथा पुरस्कार वितरण समारोह आगामी वसन्त पञ्चमीको अवसरमा आयोजना गरिने आयोजकले जनाएको छ।
काठमाडौं । नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवर्द्धन गर्दै उत्कृष्ट साहित्यकारहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको 'राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३' का लागि आवेदन खुला गरिएको छ।
अवार्डका आयोजक रेस्पोन्सिभ मिडिया प्रालिले जारी गरेको विज्ञप्तिअनुसार गुरु पूर्णिमाको अवसर पारेर आवेदन फाराम खुला गरिएको हो।
आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन्।
उनका अनुसार अवार्डअन्तर्गत सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट महाकाव्य, सर्वोत्कृष्ट खण्डकाव्य, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट मुक्तक, सर्वोत्कृष्ट हाइकु, सर्वोत्कृष्ट उपन्यास, सर्वोत्कृष्ट कथा, सर्वोत्कृष्ट लघुकथा, सर्वोत्कृष्ट नाटक, सर्वोत्कृष्ट निबन्ध, सर्वोत्कृष्ट नियात्रा, सर्वोत्कृष्ट संस्मरण, सर्वोत्कृष्ट आत्मकथा/जीवनी, उत्कृष्ट बालसाहित्य, सर्वोत्कृष्ट अनुवाद, सर्वोत्कृष्ट अनुसन्धान, सर्वोत्कृष्ट मातृभाषा साहित्य तथा सर्वोत्कृष्ट डायस्पोरा साहित्य गरी विभिन्न विधामा सम्मान प्रदान गरिनेछ।
अध्यक्ष थापाले राष्ट्रिय नेपाली साहित्य अवार्डले नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
इच्छुक व्यक्तिहरूले आयोजकले तोकेको आवेदन फाराम भरी आवश्यक विवरण तथा कागजातसहित आवेदन पेस गर्न सक्नेछन्। थप जानकारीका लागि ९८५११९४२३९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार वसन्त पञ्चमीको अवसरमा राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ को अन्तिम चरण (फाइनल) तथा पुरस्कार वितरण समारोह आयोजना गरिनेछ।
