सारांश
  • लेखकले गाउँको मौलिक जीवनशैली र आधुनिकतासँगै बदलिएका आनीबानीलाई तुलनात्मक रूपमा रोचक ढङ्गले प्रस्तुत गरेका छन्।
  • समाजका विभिन्न क्षेत्रमा हुने अनावश्यक गफगाफ र जिम्मेवारीप्रतिको बेवास्तालाई लेखमा व्यङ्ग्यात्मक रूपमा आलोचना गरिएको छ।
  • सामाजिक सञ्जालमा समय खेर फाल्नुभन्दा सिर्जनशील काममा लाग्न र 'फतफत' गर्ने बानी सुधार गर्न लेखकको सुझाव छ।

अरू बेला अन्त चैत महिनामा जन्त भन्ने त पुरानै उखान छ! यो लहडी लेखकलाई फेरि विदेशमा बसेर पनि सधैँ स्वदेशी गाउँघर तिरका कुरा मात्रै उधिन्नुपर्ने यो के खालको बानी बस्यो, बस्यो? यस कुराको मैले खास आजसम्म कुनै हिसाबकिताब निकाल्न सकेको छैन। बरु हिसाब त निकाल्दै गरौँला, यता पिसाब ननिकाल्दै कुरा सुरु गरिहालौँ कि भनेर पो सोच्दै छु।

जब मैले फतफताउने कुरा सम्झिन्छु, तब ती पुराना दिनहरू मेरो नजरमा झलझली घुम्न थालिहाल्छन्। जस्तो कि एकाबिहानै गाईभैँसीको गोठमा पुगेर कुँडो पकाएको, मकैको पिठो पानीमा हालेर फाँडो फत्काएको कुरा मलाई धेरै नै याद आउँछ। उसो त ओदानमाथि डेक्ची वा कसौडी बसालेको अनि पानी उमाल्दै आटो खसालेको याद त झन् आउने नै भयो। कोही फेरि घरमा ढिँडो त फत्काउँथे। तर खै, ढिँडो नै पचेन, पेट पो दुख्यो बाबै मेरो त भन्दै बाटैमा बसेर लत्काउँथे! सम्झिँदा पनि हाँसोको पहिरो। यो कुरा छ अलि धेरै नै गहिरो!

गाउँबाट बजारतिर सल्केसँगै फतफत सुन्ने कुरामा अत्यधिक कटौती हुँदै आयो। भैँसीलाई कुँडो पकाएको फतफत त झन् सुन्नै परेन। बरु डेक्चीको सट्टा प्रेसर कुकरले बजार जमाउँदै गयो। प्रेसर कुकरले सुइँय सिठी त मार्थ्यो, तर फतफत गरेको भने खासै सुनिएन। स्टोभमा पकाएको भात कुकरभित्रभित्रै फतफत त गर्छ, तर बाहिर धेरै होहल्ला गर्दैन। एकैचोटि सिठीले सातो नै लैजाला झैँ गरेर बज्छ। दिनभरको कामले थाकेको शरीर कुकरमा लतक्क पाकेको भात खाएपछि अरू केही हुँदैन, मजाले पच्छ।

त्यसै गरी घरको काममा हात सघाउँदैनौ भन्दै छोराछोरीसँग फतफत गर्ने बा-आमाका कुरा पनि धेरै सुनिन्थ्यो। स्कुल पढ्न जाने बेला कसरी घरको काममा सहयोग गरून् बरा, स्कुले केटाकेटीहरू। घरमा काम नगरे पनि घरका बा-आमा कराउने। स्कुलमा मास्टरको फतफत सुन्दा सबैको मन अलि डराउने। कोही त समयमै गृहकार्यसँगै कामकुरो गर्थे। कोही उता फतफताउने मास्टर देखेर स्कुल नै सर्थे। उनीहरू त पटकपटक सरेको सर्यै पो गर्थे। केही सरहरूले दामी नै पढाउँथे, तर केही त खाली फतफताइ मात्र रहने। पढाएको बुझिने नै हैन! यो कुरा गरेर अलि साध्य पनि त छैन।

कोही बाटोघाटोमा हिँड्दा पनि फतफताइरहने खालका हुन्छन्। बसमा यात्रा गर्दा फतफताउनेहरूले अरूको कुनै मतलब नै गर्दैनन्। बसको चालक पनि खलासीसँग फतफताइरहन्छ। खलासी फेरि, “लौ लौ, जाम् गुरुजी,” भन्दै फतफत गरिरहन्छ। जता गयो, त्यतै फतफत सुन्न परेकै हुन्छ। जीवन रहेसम्म फतफटाइरहने त हो, यसमा के गुनासो भयो र? समय हुनेहरू फतफत गर्दैमा कसको के नै गयो र? तर कोही अलि शान्त र शालीन स्वभावका पनि हुन्छन्। उनीहरू हतपतमा फतफत गरेको त्यति पाइँदैन। बसमा चढेको बेलामा तिनीहरू बरु किताब निकालेर पढेजस्तो देखिन्छन्। हो, यस्तै गम्भीर र भद्र मानिसहरूको त भोलि इतिहास लेखिन्छ। धेरै फतफत गर्नेहरूको नामनिसाना नै छिट्टै मेटिन्छ।

हामीहरू त फतफताउन परेमा संसारकै उत्तम दर्जामा पर्छौँ होला। हामी भन्नाले सबै, जो जता छौँ उतै। कोही नेतागिरी गरेर कुरा काट्दै, भाषण छाँटेर फतफत गरेका हुन्छन्। कोही ट्वाल्ल परेर सुनेका सुन्यै हुन्छन्। कोही पढाउने काम छोडेर बदाम खाँदै घाम तापेर फतफत गरे पनि जागिरमा फापेकै हुन्छन्। कोही कर्मचारीले आफ्नो धर्म छोडेर फतफटाउने कर्म रोज्छन्। कोही लुकीछिपी अर्कै जिनिस खोज्दै हिँड्छन्! त्यस खालका राष्ट्रसेवकले देश र जनतालाई केवल सास्ती मात्र दिन्छन्। काममा सधैँ लतपत गर्ने र कुरा काटेर उखान हालेर बखान गर्नेको पारा पनि सारा संसारले देखेकै हो। त्यसैले त जनता तातेर बाँदर लघारेझैँ कुर्सीबाटै लघारे। कोर्ली बाच्छीजस्तै नौलो सत्तालाई सिंहासनमा पधारे! खासमा उता फतफटाउनेका दिन अब गए। यता फतफटाउनै नसक्ने यी नयाँ सरकारका बडा हाकिम साहेब पनि खै के भए, भए?

देशका कुरा मात्र कति गरौँ, भो, अब त विदेशतिर पनि झरौँ। विदेशीहरू पनि फतफटाउन त खोज्छन्। तर यिनीहरूले हामीलाई जित्न कहिल्यै सक्दैनन्। हामीहरू बढी कुरामा भरोसा गर्छौँ, यतातिर कामलाई नै कतिसारो पूजा गर्छन्। तब मात्र न बिहान-बेलुका भुजा खान पाइन्छ। यति भएपछि कसलाई के नै चाहिन्छ? तपाईं नै बुझ्नुहोस्, धेरै फतफटाएर के नै पाइन्छ? “रातभरि करायो, दक्षिणा हरायो” भन्ने उखान वास्तविक रूपमा ठीक पो रहेछ। म पनि कुरा बुझ्दै कामलाई मात्र पूज्दै पो छु।

अब यस विषयको चुरो कुरोमा प्रवेश गरौँ। त्यसपछि बेलीबिस्तार लाउँदै मेलो सरौँ। खासमा अहिलेको जुगजमाना नै फतफतेहरूको गौरवशाली समय हो। यस गौरवशाली समयमा जन्म भएका हामी संसारका सबैभन्दा भाग्यमानी मानिस हौँ! त्यसैले त हामीले चौबीसै घण्टा फतफत गरेको सुनिरहेकै पनि त छौँ! यो फतफत पुराण पुरानो जुगजमानाभन्दा कैयौँ गुणा फरक छ। फेसबुक र युट्युबमा गरिने फतफत भातको फतफत हैन, बरु यो त वातको फतफत हो। बाह्रै महिना अनलाइनमा फतफत गरेर वात मार्दै भात पचाउनेहरू ह्वात्तै बढेर गएका छन्, आजको यो ढोंगीहरूको दुनियाँमा!

के बूढा, के बालक, सबै जना मुढामा बसेर घुँडा दुख्ने गरी फोनमा घोप्टेकै भेटिन्छन्। फेसबुकमा फतफत गरेर रमाउनेहरू मात्र बढेका हैनन्, यता पैसा कमाउने पनि बढेकै होलान्। जुन कुरा राम्रो र फलदायी छ, त्यो त सुन्नै पर्ने हुन्छ। तर नानाथरी कुरा गरेर चर्चा कमाउने र गोप्यता खोलेर रमाउनेहरू देख्दा कसको पारो तात्दैन होला? भान्सामा पस्दादेखि बाथरुम बस्दा पनि फतफते भिडियोहरू सुनेको पाइन्छ। साँच्चै यति साह्रो फोनमा झुमेर के नै पाइन्छ? बाटो काट्दा समेत फोनमा फतफटाउनेहरू के कुनै अप्रिय घटनामा पर्नबाट रोकिएलान्? या त नजिकै रहेको रुखमा गएर ठोकिएलान्।

फेसबुकमा लाइभ आएर वा कुनै कुरा काटेर निकै बहादुरी गरेजस्तो गर्ने पनि छन्। उसो त कुरैकुराको जालो बुनेर संसारको सबै ज्ञान आफैँले बटुलेको र सेयर गरेर दुनियाँलाई गुन लगाएझैँ गरेको पनि पाइन्छ। यति भन्दै गर्दा सेयर नै गर्न हुँदैन भन्ने यो लेखक भई टोपलेको म जस्तो सञ्जालकर्मीको मनसाय हैन! तर जे पायो, त्यो पोस्टाएर आफैँलाई रित्त्याउन पनि हुँदैन। जसरी बजारमा पाइने सबै सामान एकैपटक किन्नै सकिँदैन, अनलाइनमा भेटिने सबै माल सही वा गलत के चिन्नै सकिन्छ? यसरी समयको बर्बाद गरेर मात्र हुँदैन, बरु त्यो समयलाई कुनै नवीन काम वा सिर्जनशील बाटोमा लैजानु उत्तम कुरा हुन सक्छ।

अन्तमा, म पनि धेरै समय तपाईँसँगै बसेर पलेटी कसेर फतफत गर्न पुगेछु। समय मिल्दा फेरि पनि फतफताउँला। हामी फेरि दामी कुरा काट्दै सामाजिक सञ्जालको जञ्जालमा रमाउँला। फतफतेहरू सबैको जय होस्। फतफत नगर्नेहरूको बुद्धि अरू धेरै बढोस्।


भोज अर्याल
लेखक
भोज अर्याल

हाल क्यानडामा बसोबास गर्दै आएका लेखक भोज अर्याल हास्य, व्यंग्य, निबन्ध तथा समसामयिक राजनीतिक विषयमा कलम चलाउने स्थापित सर्जक हुन्। सरल, प्रभावकारी र विचारोत्तेजक शैलीमा समाज तथा समसामयिक घटनाक्रमलाई प्रस्तुत गर्नु उनको लेखनको विशेषता हो।