- वालिङ नगरपालिकाले विश्व एक स्वास्थ्य दिवसको अवसरमा मानव, पशु र वातावरणीय स्वास्थ्यको अन्तरसम्बन्धबारे सचेतना जगाउन बहुक्षेत्रीय संवाद कार्यक्रम आयोजना गरेको छ।
- विद्यार्थीहरूले सडक नाटकमार्फत एन्टिबायोटिकको सही प्रयोग, रेबिज रोकथाम, खाद्य स्वच्छता र वातावरणीय संरक्षणको सन्देश समुदायमा प्रवाह गरेका थिए।
- कार्यक्रमको समापनमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयन, समन्वय र सहकार्यका लागि सातबुँदे 'वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३' जारी गरिएको छ।
शुष्मा वस्ती
स्याङ्जा। विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ विषयमा बहुक्षेत्रीय कार्यक्रम आयोजना गरेको छ। मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे जनचेतना अभिवृद्धि गर्दै स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कृषि तथा पशु स्वास्थ्य क्षेत्रका विज्ञ, विद्यार्थी र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक तथा कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेशका प्रमुख सुदीप रेग्मीलगायतले एक स्वास्थ्य अवधारणाको आवश्यकता र कार्यान्वयनका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका विद्यार्थीले एक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरेका थिए। सहभागीहरूले मानव, पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको विषय भएकाले यसको संरक्षणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सडकबाट उठ्यो समुदायको स्वास्थ्यसम्बन्धी सवाल
कार्यक्रमको सुरुआत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा निकालिएको जनचेतनामूलक र्यालीबाट गरिएको थियो। प्लेकार्डसहित वालिङ बजार परिक्रमा गरेको र्याली नगरपालिकाको कार्यालय परिसरमा पुगेर सडक नाटकमा परिणत भएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकमा मानव तथा पशुपन्छीमा एन्टिबायोटिक औषधिको अनुचित प्रयोग, त्यसबाट बढ्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर), रेबिजलगायत पशुबाट मानिसमा सर्न सक्ने रोग तथा कृषि उत्पादनमा विषादीको अव्यवस्थित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरलाई चित्रण गरिएको थियो।
त्यसैगरी, पशुजन्य खाद्यवस्तु दूध, मासु लगायतको स्वच्छता र सुरक्षाका विषयलाई पनि नाटकमार्फत उठाइएको थियो। विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि तोकिएको प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा उत्पन्न हुन सक्ने जोखिमबारे समुदायलाई सचेत गराइएको थियो।
खेतदेखि थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकतालाई समेत नाटकले प्राथमिकताका साथ प्रस्तुत गरेको थियो।
स्वास्थ्यका सवालमा बहुक्षेत्रीय संवाद
सडक नाटकपछि आयोजित ‘एक स्वास्थ्य संवाद : समुदायदेखि नीतिसम्म’ कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि प्राविधिक, किसान, सहकारी, विद्यालय तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिबीच छलफल भएको थियो।
छलफलमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता तथा वातावरण संरक्षणका विषयमा सम्बन्धित क्षेत्रको भूमिका र सहकार्यको आवश्यकताबारे चर्चा गरिएको थियो।
सहभागीहरूले समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रको समस्याका रूपमा मात्र हेर्न नहुने धारणा राखेका थिए। मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीबीचको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
एक स्वास्थ्य नीतिको कार्यान्वयनमा जोड
वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई स्थानीय नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ।
यसै पृष्ठभूमिमा आयोजित विश्व एक स्वास्थ्य दिवसको कार्यक्रमले समुदायमा देखिएका स्वास्थ्य समस्या र सरोकारवालाका सुझावलाई स्थानीय सरकारको नीतिगत प्राथमिकता तथा कार्यान्वयनसँग जोड्ने अवसर प्रदान गरेको छ।
कार्यक्रमले एक स्वास्थ्यलाई मानव स्वास्थ्य क्षेत्रको विषयमा मात्र सीमित नराखी कृषि, पशुपालन, खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा तथा स्थानीय सुशासनसँग जोडिएको साझा विकास अवधारणाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।
सातबुँदे वालिङ एक स्वास्थ्य घोषणापत्र जारी
कार्यक्रममा उठेका सवाल र छलफलका निष्कर्ष समेट्दै ‘वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३’ जारी गरिएको छ।
घोषणापत्रमार्फत एक स्वास्थ्य नीति तथा कार्यविधिको कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणीय क्षेत्रबीच समन्वय, रेबिजलगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवर्द्धनमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने र साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना निर्माण गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ।
घोषणापत्रले विभिन्न निकायको जिम्मेवारी निर्धारण, स्रोत परिचालन तथा कार्यक्रमको नियमित समीक्षा र अनुगमनलाई समेत प्राथमिकता दिएको छ।
‘समृद्ध समुदाय निर्माणको आधार : एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार’ भन्ने नारासहित जारी घोषणापत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यमार्फत कार्यान्वयनमा लैजाने आधार तयार गरेको छ।
अन्य स्थानीय तहका लागि पनि सिकाइको अवसर
मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यसँगै कृषि तथा खाद्य प्रणालीलाई एकीकृत रूपमा सम्बोधन गर्ने एक स्वास्थ्य अवधारणाको महत्व विश्वव्यापी रूपमा बढिरहेका बेला वालिङ नगरपालिकाको पहललाई स्थानीय तहमा यसको संस्थागत अभ्यास गर्ने प्रयासका रूपमा हेरिएको छ।
एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणापत्रलाई एउटै प्रक्रियामा जोडिएको यस कार्यक्रमले अन्य स्थानीय तहलाई पनि एक स्वास्थ्यसम्बन्धी नीति निर्माण र कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने देखिन्छ।
तर घोषणापत्रमा व्यक्त प्रतिबद्धतालाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना, जिम्मेवारी बाँडफाँट, पर्याप्त स्रोत परिचालन र नियमित अनुगमन आवश्यक हुनेछ। यी पक्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वालिङको अनुभव अन्य नगरपालिकाका लागि समेत अनुकरणीय बन्न सक्नेछ।
समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यावहारिक कार्यान्वयनसँग जोड्ने वालिङको यो प्रयासले एक स्वास्थ्य अवधारणालाई स्थानीयकरण गर्ने नयाँ आधार तयार गरेको छ।
