- गगन थापाले सभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक उचाइअनुसार मर्यादित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गरेका छन्।
- थापाले एउटै पार्टीका दुई महाधिवेशन हुन नसक्ने भन्दै देउवा पक्षले गर्ने भनेको छुट्टै महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
- कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित प्रतिनिधिहरू अर्को समूहमा लागेमा पद त्याग गर्नुपर्ने वा कारबाही भोग्नुपर्ने थापाले चेतावनी दिएका छन्।
- निर्वाचन आयोगबाट आधिकारिकता पाएको बताउँदै थापाले असन्तुष्ट नेताहरूसँग संवाद गर्न आफू तयार रहेको उल्लेख गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार सार्वजनिक अभिव्यक्ति दिन आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पाँच पटक प्रधानमन्त्री र लामो समय पार्टी नेतृत्व गरिसकेका वरिष्ठ नेताको बोली र व्यवहार सोहीअनुसार हुनुपर्ने बताए। ‘उहाँ अग्लो हुनुहुन्छ, अग्लाइमै बस्नुस्। तपाईंले आफ्नो लेभल मेन्टेन गर्नुस्,’ थापाले भने, ‘तपाईं कांग्रेस सभापति र पाँच पटक प्रधानमन्त्री भएको नेता हो, त्यसलाई मेन्टेन गर्नुस्।’
देउवाकै सभापतित्वमा आफूले केन्द्रीय कार्यसमितिमा काम गरेको स्मरण गर्दै थापाले उनीप्रति सम्मान र चिन्ता भएकाले सुझाव दिएको स्पष्ट पारे। साथै, जेनजी आन्दोलनका क्रममा देउवाको निवासमा भएको आगजनीमा आफ्नो संलग्नता रहेको आशयसहित देउवाले टाउको हल्लाएको भिडियो र अदालतमा चलखेल भएको भन्ने अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाए। राजनीतिक विषयमा बोल्दा तथ्य र प्रमाणका आधारमा बोल्नुपर्ने उनको भनाइ थियो।
अर्को महाधिवेशन गर्न नमिल्ने चेतावनी
कांग्रेसभित्रको मुख्य विवाद १५औँ महाधिवेशन र नेतृत्वको वैधानिकतालाई लिएर चर्किएको छ। थापा पक्षले असोज १८ देखि २२ गतेसम्म महाधिवेशन सम्पन्न भइसकेको दाबी गर्दै आएको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ।
एउटै पार्टीको दुईवटा महाधिवेशन हुन नसक्ने बताउँदै थापाले देउवा पक्षको भेलामा सहभागी हुनेहरूलाई विधान र राजनीतिक अवस्थाबारे स्पष्ट हुन आग्रह गरे। कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधि अर्को समूह वा दलमा आबद्ध भए पदबाट राजीनामा दिनुपर्ने, अन्यथा विधानअनुसार कारबाही हुने उनले चेतावनी दिए।
असन्तुष्ट पक्षसँग संवादको पहल
थापाले महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तासँग छलफल गर्न आफू तयार रहेको बताए। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनपछि पटक–पटक संवाद भइरहेको उनले जानकारी दिए। ‘महाधिवेशनमा सहभागी नभएका साथीहरूको पनि नेपाली कांग्रेस हो,’ उनले भने, ‘सिनियर नेताहरूसँग छलफल गर्न जान मलाई अप्ठ्यारो छैन।’
निर्वाचन आयोग हुँदै सर्वोच्चमा विवाद
विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा पक्ष उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ। हाल यो विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। दुवै पक्षले आ–आफ्नो नेतृत्वलाई आधिकारिक दाबी गर्दै समानान्तर गतिविधि अघि बढाएपछि पार्टी विभाजनको जोखिम बढेको छ।
