सारांश
  • शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
  • कम्पनीले तीन दिनको बिक्रीबाट प्राप्त शतप्रतिशत रकम र उपभोक्ताहरूको योगदानलाई समेटेर उक्त राहत रकम जुटाएको हो।
  • प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गर्दै विपद्को समयमा निजी क्षेत्र र उपभोक्ताको सहकार्य महत्वपूर्ण हुने बताइन्।

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि आईविवी नेपालले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नेपालमा आईविवी अष्ट्रेलिया (AIWIBI AUSTRALIA) ब्रान्डका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम्हेल्थ केयर प्रोडक्ट्स प्रा. लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम प्रदान गरेको हो।

कम्पनीकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

कम्पनीका अनुसार बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले पछिल्ला तीन दिनदेखि बिक्रीमा आधारित राहत अभियान सञ्चालन गरिएको थियो। अभियानमा आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ताको योगदानलाई समेटिएको थियो।

कम्पनीले तीन दिनको बिक्रीबाट प्राप्त रकमको १०० प्रतिशतलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा सहयोग गरेको जनाएको छ।

चेक हस्तान्तरणका क्रममा सर्राफले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले सहयोग रकम कम्पनीको मात्र नभई आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर र डिलरहरूको समेत योगदान भएको बताइन्।

“यो डोनेसन आईविवीले होइन, तपाईंहरूले गर्नुभएको हो,” सर्राफले भनिन्।

उनका अनुसार उपभोक्ताको खरिद, रिटेलरको सहयोग र डिलरहरूको साथका कारण छोटो समयमै ५० लाख रुपैयाँ जुटाउन सकिएको हो।

सर्राफले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ताप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको सहयोगबिना अभियान सफल हुन नसक्ने बताइन्। उनले बाढीपछि राहत तथा उद्धारमा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, राष्ट्रसेवक र स्वयंसेवकप्रति पनि आभार व्यक्त गरिन्।

आईविवी नेपालले आफ्नो बिक्री सञ्जालमा रहेका उपभोक्ता, रिटेलर र डिलरलाई अभियानमा जोडेर राहतका लागि रकम जुटाएको जनाएको छ। कम्पनीले व्यावसायिक गतिविधिबाट प्राप्त रकमलाई विपद्मा परेका परिवारको सहयोगमा प्रयोग गरेको हो।

कम्पनीले आगामी दिनमा पनि प्राकृतिक विपद्का बेला निजी क्षेत्र, उपभोक्ता र व्यावसायिक साझेदारबीच सहकार्य गरेर प्रभावित परिवारलाई सहयोग गर्न सकिने जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।