- सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई आईजीपी पदमा पुनर्बहाली गर्ने अन्तरिम आदेश दिन अस्वीकार गर्दै नयाँ नियुक्तिलाई तत्काल निरन्तरता दिएको छ।
- नयाँ आईजीपीले कार्यभार सम्हालिसकेको र संगठनको संवेदनशीलताका कारण अदालतले तत्काल आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।
- अदालतले लिखित जवाफ प्राप्त भएको सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी तोक्न र मुद्दा छिटो टुङ्ग्याउन निर्देशन दिएको छ।
- यस मुद्दाले सरकारको प्रशासनिक अधिकार र प्रहरी नियमावलीले तोकेको चारवर्षे पदावधिको कानुनी सीमाबारे अन्तिम फैसलाबाट व्याख्या गर्नेछ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। तर, अदालतको यो आदेशले कार्कीको पुनर्बहालीको सम्भावना समाप्त गरेको छैन। सरकारले गरेको निर्णय कानुनसम्मत छ कि छैन भन्ने मूल प्रश्नमा सर्वोच्चले अन्तिम सुनुवाइबाट निर्णय गर्ने बाटो खुला राखेको छ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो। अदालतले नयाँ आईजीपी डा. मनोजकुमार केसीले कार्यभार सम्हालिसकेको, प्रहरी संगठनको नेतृत्व सार्वजनिक महत्त्व र संवेदनशीलतासँग जोडिएको तथा रिटमा उठेका कानुनी प्रश्न अन्तिम सुनुवाइमै निरूपण हुने अवस्थालाई आधार बनाएको छ।
अन्तरिम आदेश अस्वीकार गरे पनि अदालतले मुद्दालाई शीघ्र टुंग्याउन निर्देशन दिएको छ। विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्र पेसी तोक्न र पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिन आदेश भएको छ।
पदभार ग्रहण र प्रहरी संगठनको संवेदनशीलता
अदालतले अन्तरिम आदेश जारी नगर्नुको पहिलो आधारका रूपमा मनोजकुमार केसीले आईजीपीको कार्यभार सम्हालिसकेको अवस्थालाई लिएको छ।
आदेशमा नेपाल सरकारको कात्तिक १८ गतेको निर्णयअनुसार केसी प्रहरी महानिरीक्षकमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको उल्लेख छ। सरकारको निर्णय कार्यान्वयन भइसकेको र नयाँ नेतृत्वले संगठनको जिम्मेवारी सम्हालिसकेको अवस्थामा तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको अदालतको ठहर छ।
त्यसैगरी, प्रहरी संगठनको नेतृत्व परिवर्तनलाई सामान्य प्रशासनिक विषयका रूपमा मात्र हेर्न नमिल्ने अदालतको दृष्टिकोण छ। देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणालीसँग जोडिएको विषय सार्वजनिक महत्त्वको र संवेदनशील रहेको आदेशमा उल्लेख छ।
अदालतले रिटमा उठाइएका कानुनी प्रश्न तत्काल अन्तरिम आदेशबाट निरूपण गर्नुभन्दा अन्तिम सुनुवाइका क्रममा सम्बोधन गर्नु उपयुक्त हुने ठहर गरेको छ। सुविधा सन्तुलनको दृष्टिले पनि तत्काल आदेश जारी गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष इजलासको छ।
यसको अर्थ कार्कीको दाबी खारेज भएको होइन। अन्तरिम आदेशमार्फत तत्काल पदमा फर्काउने माग मात्र अस्वीकार भएको हो।
तीन दशकअघि खरेललाई पुनर्बहाली गर्ने सर्वोच्चको फैसला
कार्कीको रिटमा कानुन व्यवसायीहरूले प्रस्तुत गरेको महत्त्वपूर्ण नजिरमध्ये तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको मुद्दा पनि एक हो। प्रहरी नेतृत्वमा सरकारको हस्तक्षेप र पदावधिको कानुनी सुरक्षासम्बन्धी बहसमा यो प्रकरणलाई महत्त्वपूर्ण मानिन्छ।
२०५३ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियो। उनको स्थानमा ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।
सरकारले खरेललाई अर्को महत्त्वपूर्ण जिम्मेवारी दिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको थियो। तर, खरेलले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे।
उनको मुख्य जिकिर सरकारले पदावधि तोकिएको प्रहरी महानिरीक्षकलाई पर्याप्त कानुनी आधारबिना अर्को जिम्मेवारीमा पठाउन नसक्ने भन्ने थियो।
सर्वोच्च अदालतको विशेष इजलासले २०५५ असार १९ गते सरकारको निर्णय बदर गर्दै खरेललाई पुनः प्रहरी महानिरीक्षक पदमा पदस्थापन गर्न परमादेश जारी गर्यो। अदालतले उनलाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त गर्ने निर्णयलाई आधार, कारण र औचित्यविहीन तथा बदनियतपूर्ण ठहर गरेको थियो।
त्यस फैसलामा सर्वोच्चले प्रहरी संगठनको व्यावसायिकता, निष्पक्षता र संस्थागत स्थायित्वलाई महत्त्व दिएको थियो। प्रहरी प्रमुखको नियुक्ति र पदमुक्ति राजनीतिक परिवर्तन वा सरकारको इच्छामा मात्र निर्भर हुन नहुने अदालतको व्याख्या थियो।
सरकारसँग नियुक्ति र प्रशासनिक व्यवस्थापनको अधिकार भए पनि त्यसको प्रयोग कानुन, औचित्य र वस्तुनिष्ठ आधारमा हुनुपर्ने सन्देश खरेल प्रकरणले दिएको थियो।
कार्कीका कानुन व्यवसायीहरूले अहिले यही नजिरलाई आधार बनाउँदै प्रहरी महानिरीक्षकको पदावधि र सरकारको निर्णय गर्ने अधिकारबीचको कानुनी सीमा परीक्षण गर्नुपर्ने तर्क गरेका छन्।
हितेन्द्रदेव शाक्य प्रकरणले पनि उठाएको थियो पदावधिको प्रश्न
कार्कीको मुद्दामा सान्दर्भिक अर्को नजिर नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको हो।
तत्कालीन सरकारले २०८१ चैतमा कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर, २०८२ असोजमा अर्को सरकारले शाक्यलाई उक्त जिम्मेवारीबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गर्यो। उनको स्थानमा मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।
सरकारको निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगे। आफूलाई कानुन र निर्धारित प्रक्रिया पूरा नगरी पदबाट हटाइएको उनको जिकिर थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले २०८२ मंसिर २३ गते शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएको थियो।
अदालतले शाक्यलाई हटाउँदा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा, सर्त तथा सुविधासम्बन्धी विनियमावली र उनीसँग गरिएको कार्यसम्पादन सम्झौतामा तोकिएको प्रक्रिया पालना नभएको ठहर गरेको थियो। हटाउने निर्णयलाई स्वच्छ, न्यायसंगत र उचित कारणमा आधारित मान्न नसकिने अदालतको निष्कर्ष थियो।
शाक्य प्रकरणले पनि सरकारसँग जिम्मेवारी परिवर्तन गर्ने अधिकार भए पनि सम्बन्धित कानुन र प्रक्रियाको पालना अनिवार्य हुने सन्देश दिएको थियो।
यद्यपि, शाक्यको मुद्दा र कार्कीको मुद्दाको कानुनी आधार एउटै होइन। शाक्य प्राधिकरणको कार्यकारी निर्देशक थिए भने कार्की प्रहरी ऐन तथा नियमावलीअन्तर्गतको प्रहरी महानिरीक्षक पदमा थिए। त्यसैले शाक्यको फैसलालाई कार्कीको मुद्दामा स्वतः लागू हुने नजिरका रूपमा लिन मिल्दैन। तर, सरकारी निर्णयको औचित्य र कानुनी प्रक्रियाको परीक्षण गर्ने सन्दर्भमा उक्त फैसला महत्त्वपूर्ण हुन सक्छ।
सरकारको तर्क र कार्कीको जिकिरबीचको कानुनी विवाद
कार्कीले प्रहरी नियमावलीमा आईजीपीको पदावधि चार वर्ष तोकिएको अवस्थामा सरकारले जिम्मेवारी हेरफेरका नाममा आफूलाई पदबाट हटाउन नमिल्ने जिकिर गरेका छन्। प्रहरी नियमावलीमा आईजीपीको अनिवार्य अवकाश उमेर ५८ वर्ष, सेवा अवधि ३० वर्ष र पदावधि चार वर्ष तोकिएको छ।
सरकारले भने कार्कीलाई पदबाट हटाइएको नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा थप जिम्मेवारी दिइएको तर्क गरेको छ। आवश्यकताअनुसार जिम्मेवारी तोक्ने अधिकार सरकारसँग रहेको सरकारी पक्षको जिकिर छ।
महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहित सरकारी वकिलहरूले अन्तरिम आदेश जारी गर्न नहुने माग गरेका थिए।
यस विवादको केन्द्रमा सरकारको प्रशासनिक अधिकार र कानुनले सुनिश्चित गरेको पदावधिबीचको सम्बन्ध छ। सरकारले प्रहरी संगठनको नेतृत्व व्यवस्थापन गर्न पाउने अधिकार राख्छ कि राख्दैन भन्ने प्रश्नभन्दा पनि उक्त अधिकार प्रयोग गर्दा पदावधिसम्बन्धी कानुनी व्यवस्था र निर्धारित प्रक्रियाको सीमा पालना गरिएको छ कि छैन भन्ने विषय अबको सुनुवाइमा महत्त्वपूर्ण हुनेछ।
सात दिनभित्र पेसी तोक्न आदेश
अन्तरिम आदेश नदिए पनि सर्वोच्चले मुद्दाको संवेदनशीलतालाई ध्यानमा राख्दै छिटो सुनुवाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
अदालतले प्रहरी संगठनको नेतृत्व, नियन्त्रण प्रणाली र देशको शान्ति सुरक्षासँग जोडिएको विषय भएकाले मुद्दालाई लामो समयसम्म अनिर्णीत राख्न नहुने ठहर गरेको छ। विपक्षीहरूबाट लिखित जवाफ आएपछि वा जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्र पेसी तोक्न आदेश दिइएको छ। पेसी नहटाउने पूर्वसूचना दुवै पक्षलाई दिनसमेत भनिएको छ।
कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय र डा. मनोजकुमार केसीसमेतलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।
अब सर्वोच्च अदालतले प्रहरी नियमावलीले सुनिश्चित गरेको चारवर्षे पदावधि, सरकारको अधिकारक्षेत्र र जिम्मेवारी हेरफेरका नाममा पदबाट हटाउन मिल्ने वा नमिल्ने भन्ने प्रश्नको निरूपण गर्नुपर्नेछ।
खरेल प्रकरणमा सरकारले गरेको निर्णय बदर गरेको सर्वोच्चको पुरानो फैसला र शाक्यलाई पुनर्बहाली गर्ने पछिल्लो नजिरका बीच कार्कीको मुद्दाले प्रहरी नेतृत्वको कानुनी सुरक्षाबारे नयाँ व्याख्याको सम्भावना बोकेको छ।
अहिलेका लागि मनोजकुमार केसीले आईजीपीका रूपमा काम गरिरहने बाटो खुलेको छ। तर, सरकारको निर्णय अन्ततः कानुनसम्मत ठहरिन्छ कि ठहरिँदैन भन्ने प्रश्न भने सर्वोच्चको अन्तिम फैसलापछि मात्र टुंगिनेछ।
