सारांश
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २.३४८ किलो सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।
  • हङकङबाट आएका उनीहरूले सो अर्धठोस पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ।
  • पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
  • बरामद पदार्थसहित दुवै महिलालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम तौलको सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति करिब ११ः१५ बजे काठमाडौं आइपुगेका उनीहरूलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार दुवै महिलाले प्लास्टिकले बेरेर मलद्वार तथा भित्री वस्त्रमा लुकाई आठ थान गोलाकार अर्धठोस पदार्थ ल्याएका थिए। भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन्। प्रहरीका अनुसार लिन लिनाको साथबाट प्लास्टिकको र्‍यापसहित एक हजार ३४० ग्राम तौलका पाँच थान र लिन सिनपिङको साथबाट एक हजार आठ ग्राम तौलका तीन थान अर्धठोस पदार्थ बरामद भएको हो।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले शङ्कास्पद रूपमा पदार्थ लुकाएर ल्याएको फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीले बरामद पदार्थसहित दुवै महिलालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरेको जनाएको छ।

बरामद पदार्थको वास्तविक प्रकृति तथा घटनासम्बन्धी थप विवरण भने अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।