सारांश
  • नवनियुक्त केन्द्रीय सदस्य मनिषकुमार मिश्रले नेपाली कांग्रेसमा परिणाममुखी नेतृत्व र सकारात्मक राजनीतिक संस्कारको आवश्यकता रहेको बताएका छन्।
  • गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वले मधेशमा नयाँ जनलहर ल्याउने विश्वास व्यक्त गर्दै उनले पार्टी र मधेशबीचको सम्बन्ध सुदृढ गर्ने बताए।
  • दुई दशकपछि कांग्रेस फर्किएका मिश्रले परम्परागत शैली त्यागेर जनताले अपनत्व महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त केन्द्रीय सदस्य मनिषकुमार मिश्रले मुलुकले अहिले परम्परागत राजनीतिक शैलीभन्दा फरक, सकारात्मक सोच र परिणाममुखी काम गर्न सक्ने नेतृत्व खोजिरहेको बताएका छन्।

कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएपछि पहिलोपटक धारणा सार्वजनिक गर्दै मिश्रले पछिल्लो राजनीतिक परिस्थितिले राजनीतिक नेतृत्वसँग बलियो कार्यान्वयन क्षमता र जनताले अपनत्व महसुस गर्ने राजनीतिक संस्कारको अपेक्षा गरेको बताएका हुन्।

मिश्रले आफूले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन भएको आधिकारिक पत्र प्राप्त गरेको जानकारी दिँदै नयाँ जिम्मेवारी आफ्ना लागि खुसीसँगै गम्भीर दायित्वको सुरुवात भएको बताएका छन्। पार्टीका नेता, सहकर्मी तथा शुभेच्छुकबाट प्राप्त बधाई र शुभकामनालाई उनले आफूले पाएको हौसला र विश्वासका रूपमा लिएको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेपछि मिश्रले कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका अग्रज नेता तथा समायोजन समितिका सदस्यहरू अर्जुननरसिंह केसी, उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्माप्रति आभार व्यक्त गरेका छन्।

मिश्रले आफू यसअघि पनि राजनीतिक दलमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको बताएका छन्। महासचिवको जिम्मेवारीमा रहँदा आफू गाउँ–गाउँसम्म पुगेको र मधेशका अधिकांश जिल्लामा पुगेर स्थानीय समस्या बुझ्ने तथा आफ्नो क्षमताअनुसार समाधानका लागि पहल गर्ने प्रयास गरेको उनले स्मरण गरेका छन्।

तर अहिलेको परिस्थितिमा विगतको अनुभव र प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ। देशको सबैभन्दा तल्लो तहको वडाको कुनादेखि सगरमाथाको चुचुरोसम्म फरक शैली, सकारात्मक सोच र परिणाममुखी दृष्टिकोणका साथ काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।

‘कुन पार्टी राम्रो र कुन पार्टी खराब’ भन्ने बहसमा आफू अल्झिन नचाहेको उल्लेख गर्दै मिश्रले पछिल्लो राजनीतिक घटनाक्रमले अब घिसिपिटी राजनीतिक शैलीभन्दा बलियो कार्यान्वयनको आवश्यकता देखाएको बताएका छन्।

उनका अनुसार जनताले राजनीतिक पदमा रहने व्यक्तिबाट जिम्मेवारी निर्वाह मात्र होइन, देशप्रति अपनत्वको भावना विकास गर्न सक्ने नेतृत्वको अपेक्षा गरेका छन्। युवाले गर्व गर्न सक्ने र उनीहरूको भावनासँग जोडिन सक्ने राजनीतिक नेतृत्व आवश्यक रहेको भन्दै मिश्रले देशको माटोले समृद्धि खोजिरहेको बताएका छन्।

थापाको नेतृत्वप्रति विश्वास

मिश्रले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै २०८२ सालको आमनिर्वाचनमा थापालाई सहयोग गर्ने उद्देश्यले आफूले तत्कालीन पार्टीगत जिम्मेवारी त्यागेको बताएका छन्।

देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्ने क्षमता, समर्पण र देशहितका लागि संघर्ष गर्ने प्रतिबद्धता थापामा आफूले देखेको उनको भनाइ छ। यही विश्वासका कारण आफू तत्कालीन राजनीतिक जिम्मेवारीबाट अलग भएर थापालाई साथ दिने निर्णयमा पुगेको उनले बताएका छन्।

मिश्रले कांग्रेसको आन्तरिक प्रक्रियाका कारण आफूले पाउनुपर्ने जिम्मेवारी केही ढिला प्राप्त भएको पनि उल्लेख गरेका छन्। आफूसँगै कांग्रेस प्रवेश गरेका केही नेताहरूको जिम्मेवारीबारे अझै छलफल भइरहेको उनले बताएका छन्।

‘करिब दुई दशकपछि आफ्नै घरमा फर्किएँ’

मिश्रले आफ्नो राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको उल्लेख गर्दै करिब दुई दशक मधेशकेन्द्रित राजनीतिक दलमा सक्रिय रहेपछि पुनः कांग्रेसमा फर्किएको बताएका छन्।

कांग्रेसमा फर्किनुको प्रमुख कारण वर्तमान नेतृत्व भएको उनको भनाइ छ। विगतमा मधेश र कांग्रेसबीचको सम्बन्ध निकै निकट रहेको स्मरण गर्दै मिश्रले तत्कालीन नेतृत्वको अनुदार व्यवहारका कारण कांग्रेसले मधेशमा आफ्नो प्रभाव गुमाएको धारणा व्यक्त गरेका छन्।

उनका अनुसार अहिले मधेशले पुनः नेपाली कांग्रेसलाई खोजिरहेको छ। लामो राजनीतिक संघर्षपछि मधेशमा निर्माण भएको राजनीतिक आधार नेपाली कांग्रेसको ‘न्यानो छाहारी’मा पुनः जोडिन खोजिरहेको उनको दाबी छ।

मिश्रले वर्तमान कांग्रेस नेतृत्वले मधेश र कांग्रेसबीचको सम्बन्धलाई पुनः बलियो बनाउने वातावरण तयार गरेको बताएका छन्।

‘गगन र विश्वप्रकाशको सोचले मधेशमा नयाँ जनलहर ल्याउनेछ’

मिश्रले कांग्रेस सभापति गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्माको सोच तथा नेतृत्वबाट मधेशमा नयाँ राजनीतिक जनलहर सिर्जना हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेस नेतृत्वले मधेशका आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ छ। मधेशको समग्र विकास, राजनीतिक सहभागिता र जनतासँगको सम्बन्धलाई थप बलियो बनाउन आवश्यक रहेको उनले बताएका छन्।

मधेशमा कांग्रेसप्रति पुनः आकर्षण बढाउन र जनतासँगको सम्बन्ध सुदृढ गर्न पार्टीले प्रभावकारी रूपमा काम गर्नुपर्ने मिश्रको धारणा छ।

मिश्रले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र एकता कायम गर्दै देश र समाजका पक्षमा योगदान पुर्‍याउन आफू निरन्तर जनतामाझ रहेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

नयाँ जिम्मेवारीलाई आफूले पदका रूपमा मात्र नभई जनताको पक्षमा काम गर्ने अवसरका रूपमा लिएको मिश्रले बताएका छन्।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।