सारांश
  • काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक प्रदीप जैशीद्वारा लिखित सामाजिक कथावस्तुमा आधारित उपन्यास ‘काउले’ लोकार्पण गरिएको छ।
  • यस उपन्यासले अछामको स्थानीय परिवेश, भाषा, संस्कृति र विसं २०५० को दशकको नेपाली समाजको प्रभावकारी चित्रण गरेको छ।
  • कृतिले बालमनोविज्ञान, यौनमनोविज्ञान र समाजमा व्याप्त अन्धविश्वास तथा रूढिवादविरुद्ध सशक्त आवाज उठाएको समीक्षकहरूले बताएका छन्।
  • भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको ४०८ पृष्ठको यस उपन्यासको मूल्य ७५० रुपैयाँ तोकिएको छ।


काठमाडौं । सामाजिक कथावस्तुमा आधारित उपन्यास ‘काउले’ लोकार्पण गरिएको छ। भुँडीपुराण प्रकाशनले शुक्रबार काठमाडौंस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा उपन्यासको लोकार्पण गरिएको हो।

लोकार्पण कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोखरेलले उपन्यासमा विषयवस्तुको प्रस्तुतिकरण प्रभावकारी र रोचक रहेको बताए। उनले उपन्यास पढ्दै जाँदा विसं २०५० को दशक आसपासको नेपाली समाज, विशेषगरी तत्कालीन सामाजिक परिवेशलाई लेखकले सरल र प्रभावकारी ढंगले प्रस्तुत गरेको उल्लेख गरे।

कार्यक्रममा डा. हर्कबहादुर शाहीले ‘काउले’ ले अछामी भाषाको अभिलेखीकरणमा समेत योगदान पुर्‍याएको बताए। स्थानीय भाषा, संस्कृति र सामाजिक परिवेशलाई साहित्यिक कृतिमार्फत संरक्षण गर्ने प्रयासका रूपमा उपन्यासलाई महत्त्वपूर्ण मान्नुपर्ने उनको भनाइ थियो।

कृतिमाथि समीक्षा गर्दै समीक्षक शिवप्रसाद जोशीले उपन्यासको शीर्षक ‘काउले’ लाई नकारात्मक पात्रका रूपमा मात्र बुझ्न नहुने बताए। उनका अनुसार उपन्यासले सकारात्मक र नकारात्मक दुवै पक्ष बोकेका पात्रमार्फत समाजका विभिन्न पक्षलाई प्रस्तुत गरेको छ। उपन्यासले बालमनोविज्ञान, यौनमनोविज्ञान तथा समाजमा विद्यमान अन्धविश्वास र रूढिवादविरुद्ध सशक्त आवाज उठाएको उनले बताए।

त्यस्तै, समीक्षक डा. अमृता शर्माले पहाडी जिल्ला अछामको स्थानीय परिवेशलाई केन्द्रमा राखेर साहित्यिक कृति सिर्जना हुनु महत्त्वपूर्ण रहेको बताइन्। उनले उपन्यासले अछामका नागरिकले भोग्दै आएका पीडा, दुःख, संघर्ष र जीवनका अनुभवलाई साहित्यिक कथावस्तुसँग जोड्न सहयोग गरेको उल्लेख गरिन्।

डा. शर्माका अनुसार ‘काउले’ को विषयवस्तु अछामको स्थानीय परिवेश वरिपरि घुमेको छ। भाषिक दृष्टिले पनि उपन्यास आञ्चलिक विशेषता बोकेको उनको भनाइ थियो। उपन्यासले अछामका जनताको संघर्षशील जीवनलाई साहित्यमा अभिव्यक्त गर्न सफल भएको उनले बताइन्। साथै, कृतिमा क्षेत्रीय, जातीय तथा भाषिक मूल्यको खोजी गर्नुका साथै न्यूनवर्गीय मनोविज्ञान, बालमनोविज्ञान र पर्यावरणीय पक्षसमेत अभिव्यक्त भएको उनले उल्लेख गरिन्।

लोकार्पण कार्यक्रममा सांसदहरू यज्ञबहादुर बोगटी र रत्ना थापा, महेन्द्ररत्न क्याम्पस ताहाचलका तिलकप्रसाद शर्मा, चेतराज शर्मा, कालिकेश्वरी प्राथमिक विद्यालय तुर्माखाँदका पूर्वशिक्षक मनिराम बुढा, मनबहादुर बयक, बज्जिका भाषाका संरक्षक रामचन्द्र महतो, उपन्यास समाजका अध्यक्ष शङ्कर भारती तथा पत्रकारहरू राजेश खनाल, जयराम बिहारी, नवीन पल्लव, धनराज वास्तविक, खेम थपलिया र सुदर्शन मङ्गोललगायत लेखक तथा साहित्यकारहरूको सहभागिता थियो।

उपन्यासका लेखक प्रदीप जैशीले समीक्षक तथा पाठकबाट प्राप्त सुझाव र आलोचनालाई आत्मसात् गर्दै आगामी दिनमा थप रचनात्मक काम गर्ने बताए।

४०८ पृष्ठको उपन्यास ‘काउले’ को मूल्य ७५० रुपैयाँ रहेको छ।

भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शेरबहादुर विश्वकर्माले मन्तव्यसहित स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन कुशल बोगटीले गरेका थिए।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।