- काठमाडौँमा एआई र कम्प्युटेसनल साइन्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो, जसमा नेपालसहित विभिन्न देशका २२० जना सहभागी थिए।
- सम्मेलनमा ३९ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गरिनुका साथै अनुसन्धान पत्रहरूको सार समेटिएको ‘एब्स्ट्र्याक्ट बुक’ सार्वजनिक गरियो।
- नाइजेरिया, लिथुआनिया, दक्षिण कोरिया र अस्ट्रेलियाका विज्ञहरूले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्दै एआईको विकासबारे चर्चा गरे।
- नेपाल इन्जिनियरिङ परिषद्ले कार्यपत्र प्रस्तुतकर्तालाई सीपीडी मूल्याङ्कनमा समेटेको छ भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
काठमाडौँ, २१ असोज । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (IC-AICSE 2026) बुधबार काठमाडौँमा सम्पन्न भएको छ।
एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजना तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुढानीलकण्ठमा सम्मेलन भएको हो।
सम्मेलनको उद्घाटन बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गर्नुभएको थियो। सम्मेलनका सदस्यसचिव सहप्राध्यापक इन्जिनियर राजन लामाले सहभागीलाई स्वागत गर्नुभएको थियो। सहआयोजकका तर्फबाट इन्जिनियर चर्चित नगिलाले पनि स्वागत मन्तव्य दिनुभएको थियो।
उद्घाटन सत्रमा सम्मेलनमा प्रस्तुत अनुसन्धान पत्रहरूको सार समेटिएको ‘एब्स्ट्र्याक्ट बुक’ सार्वजनिक गरिएको थियो। इन्जिनियर प्रकृति गिरी र इन्जिनियर जस्मी खड्काले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा OPEN का अध्यक्ष नवराज पाण्डे, कम्प्युटर एसोसिएसन नेपाल (CAN) का प्रतिनिधि, IEEE Women in Engineering की अध्यक्ष डा. प्रतिमा प्रधान तथा अन्तर्राष्ट्रिय प्रतिनिधिले नेपालमा एआई र कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङको विकास र सम्भावनाबारे धारणा राखेका थिए।
सम्मेलनमा नाइजेरियाको युनिभर्सिटी अफ एग्रिकल्चरका प्राध्यापक डा. डेनियल ओलुवारेगुन एडम्स, लिथुआनियाका प्राध्यापक डा. अदेबायो अबायोमी–अल्ली, दक्षिण कोरियाका प्राध्यापक डा. क्युङ साई बे र अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका डा. रोजेन प्रधानले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए।
आयोजकका अनुसार सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब २२० जना सहभागी थिए। सम्मेलनमा एआई, कम्प्युटेसनल साइन्स र इन्जिनियरिङसँग सम्बन्धित विषयमा ३९ वटा अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो। ती कार्यपत्र चारवटा समानान्तर प्राविधिक सत्रमा प्रस्तुत गरिएको थियो।
प्राविधिक सत्रको अध्यक्षता एसीईएमका डा. विपुलमान पाटी, नेपाल इन्जिनियरिङ कलेजका डा. तुषिता चाँदनी शाही, नेपाल टेलिकमका डा. कमल लामिछाने र एभरेस्ट इन्जिनियरिङ कलेजका डा. सुनील चौधरीले गरेका थिए।
सम्मेलनलाई विभिन्न संघसंस्था तथा निकायले प्राविधिक र आर्थिक सहयोग गरेका थिए। नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका विज्ञलाई एक घण्टा बराबरको निरन्तर पेशागत विकास (CPD) मूल्याङ्कनमा समेटेको आयोजकले जनाएको छ। सम्मेलनमा IEEE Nepal लगायतका संस्थाको पनि सहकार्य रहेको थियो।
समापन समारोहमा सहआयोजक, प्रायोजक तथा सत्र अध्यक्ष र सहअध्यक्षलाई सम्मान गरिएको थियो। मुख्य वक्तालाई प्रमुख अतिथिले तथा अनुसन्धान पत्र प्रस्तुतकर्तालाई सम्बन्धित सत्रका अध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए।
अन्य सहयोगीलाई सम्मेलनका अध्यक्ष तथा एभरेस्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार भण्डारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरेका थिए।
अनुसन्धान पत्र प्रस्तुतकर्ता तथा सम्मेलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सम्मेलन अध्यक्षले समापन मन्तव्य दिएका थिए।
