सारांश
  • प्रधानमन्त्री बालेन शाहले रास्वपाका ११ युवा सांसदसँग छलफल गर्दै सरकारको कार्यसम्पादन र युवा पुस्ताका अपेक्षाहरूबारे प्रतिक्रिया लिए।
  • उनले सांसदहरूलाई पुरानो राजनीतिक शैली त्याग्न, अध्ययनशील बन्न र राजनीतिबाहेक अन्य व्यवसायमार्फत आर्थिक रूपमा आत्मनिर्भर हुन सुझाव दिए।
  • सांसदहरूले मल अभाव, बेरोजगारी, सामाजिक विभेद र सडक पूर्वाधार जस्ता जनसरोकारका समस्या समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
  • शाहले एआईलाई सहयोगी उपकरण मात्र ठान्न र परिपक्व नेता बन्न आफ्नै अध्ययन र कार्यसम्पादनमा भर पर्न आग्रह गरे।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ११ जना युवा सांसदसँग करिब साढे दुई घण्टा छलफल गरेका छन्। शुक्रबार भएको छलफलमा उनले आफ्नो सरकारले युवाको अपेक्षा पूरा गर्न सके–नसकेकोबारे सांसदहरूबाटै प्रतिक्रिया मागे।

बैठकको सुरुवातमै शाहले सांसदहरूलाई सोधे, “मैले तपाईंहरूको अपेक्षा कति पूरा गर्न सकेँ? के मैले तपाईंहरूको पुस्ताको प्रतिनिधित्व गर्न सकेँ?”

बैठकमा सहभागी सांसदहरूका अनुसार शाहले सबै सांसदका कुरा ध्यानपूर्वक सुने र उनीहरूले उठाएका विषयमा प्रतिक्रिया दिए।

शाहले युवा सांसदहरूलाई पुरानो पुस्ताका नेताहरूको शैलीमा राजनीति नगर्न आग्रह गरे। उनीहरूले आफ्नो पुस्ताको सोच, आवश्यकता र प्राथमिकतालाई राजनीतिमा ल्याउनुपर्ने उनको भनाइ थियो।

“तपाईंहरू आफ्नै पुस्ताबाट आउनुभएको हो। त्यसैले आफ्नै पुस्ताजस्तो भएर काम गर्नुस्,” सहभागी सांसदहरूका अनुसार शाहले भने, “५० वर्षको सांसदजस्तो देखिनुपर्छ भनेर आफूलाई दबाब नदिनुस्।”

उनले युवा सांसदहरूलाई आफूभन्दा कम उमेरका युवासँग पनि नियमित संवाद गर्न सुझाव दिए। नयाँ पुस्ताले के चाहन्छ भन्ने बुझेर त्यसलाई राजनीतिमा जोड्नुपर्ने उनले बताए।

शाहले संसद्मा युवा सांसदको संख्या बढ्दैमा मात्रै राजनीतिमा परिवर्तन नआउने बताए। युवा सांसदको संख्या बढे पनि संसद् सञ्चालन गर्ने तरिका अझै पुरानै शैलीको रहेको उनको भनाइ थियो।

उनले युवा सांसदहरूलाई नयाँ सोच र नयाँ अभ्यास ल्याउन तथा संसद्को काम गर्ने तरिकामा परिवर्तनका लागि पहल गर्न आग्रह गरे।

शाहले नेकपा (एमाले) का केही युवा सांसदको उदाहरण दिँदै उनीहरू पुरानो पुस्ताको राजनीतिक शैलीबाट बाहिर निस्कन नसकेको बताए। उनले युवा सांसदले आफ्नै पहिचान बनाउनुपर्नेमा जोड दिए।

एआई प्रयोग गर्नुस्, तर त्यसैमा भर नपर्नुस्

छलफलका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) को विषय पनि उठ्यो।

शाहले सांसदहरूलाई एआईलाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सकिने भए पनि हरेक विषयमा त्यसैमा निर्भर नहुन सुझाव दिए।

सहभागी सांसदहरूका अनुसार उनले भने, “एआईसँग उत्तर माग्न जोसुकैले सक्छ। तर त्यसले मात्रै कसैलाई परिपक्व नेता बनाउँदैन। परिपक्वता काम र अध्ययनबाट आउँछ।”

नीति बनाउने जिम्मेवारीमा रहेका सांसदले आफैं विषय अध्ययन गर्नुपर्ने शाहको भनाइ थियो। कुनै विषय बुझ्न समस्या भए आफ्नो सचिवालयसँग सहयोग लिन सकिने उनले बताए।

राजनीतिसँगै आफ्नो भविष्यबारे पनि सोच्न सुझाव

शाहले युवा सांसदहरूलाई राजनीतिक जिम्मेवारीसँगै आफ्नो आर्थिक भविष्यबारे पनि सोच्न सुझाव दिए।

राजनीतिमा मात्रै निर्भर नभई व्यवसाय वा अन्य काममार्फत आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटो खोज्नुपर्ने उनले बताए।

“साइड बिजनेस सुरु गर्नुस्। आर्थिक रूपमा आत्मनिर्भर हुने बाटो खोज्नुस्। नत्र पछि समस्या पर्न सक्छ,” सहभागीहरूका अनुसार शाहले भने।

उनले सांसदको पद सधैं रहँदैन भन्ने कुरा सम्झाउँदै भविष्यका लागि अहिलेबाटै तयारी गर्न सुझाव दिए।

“तपाईंहरू २५ वर्षमै सांसद बन्नुभयो। ३० वर्ष पुग्दा के गर्नुहुन्छ? त्यसका लागि अहिलेबाटै तयारी गर्नुपर्दैन?” शाहले सांसदहरूलाई भनेका थिए।

उनले युवा सांसदहरूलाई पुरानो पुस्ताभन्दा फरक ढंगले राजनीति गर्न र आफ्नो छुट्टै पहिचान बनाउन आग्रह गरे।

सांसदले राखे सरकारप्रति गुनासा

छलफलमा शाहले सुझाव मात्रै दिएनन्। सांसदहरूले पनि सरकारका कामकारबाही र जनताले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीसमक्ष खुलेर कुरा राखे।

केही सांसदले सरकार र संसद्बीच पर्याप्त समन्वय हुन नसकेको गुनासो गरे। सञ्चारमाध्यम र अन्य क्षेत्रसँग सरकारले अझ प्रभावकारी रूपमा संवाद गर्नुपर्ने उनीहरूको भनाइ थियो।

केही सांसदले विभिन्न मन्त्रालयको कामप्रति पनि प्रश्न उठाए।

रास्वपाका सहमहामन्त्री तथा सांसद पुरुषोत्तम यादवले सरकारी नियुक्तिमा मधेसी समुदायप्रति अझै विभेद भइरहेको विषय उठाए। उनले जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई अझै रिहा नगरिएकोबारे पनि प्रश्न गरे।

यादवले मधेशका सीमावर्ती क्षेत्रमा युवामाझ बढिरहेको लागुऔषधको समस्याबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

सांसद शिव यादवले मधेसी समुदायले अवसर पाउने क्रममा भोग्दै आएको विभेदको विषय उठाए। उनले अस्पतालमा सर्पदंशको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभावबारे पनि कुरा राखे।

मल अभावदेखि किसानका समस्यासम्म

सांसद बाब्लु गुप्ताले मलको अभावको समस्या अझै समाधान हुन नसकेको भन्दै कृषि मन्त्रालयको ध्यानाकर्षण गराए। मनसुनको समय सकिन लाग्दा पनि किसानले मल नपाउने अवस्था अन्त्य हुन नसकेको उनको भनाइ थियो।

सांसद श्रद्धा कुँवरले युवा मतदाताको ठूलो समर्थनमा सरकार बने पनि युवामा अपेक्षाअनुसार आशा र उत्साह पैदा गर्न नसकेको बताइन्।

उनले किसानका समस्यामा सरकारले थप ध्यान दिनुपर्ने बताइन्। महँगी र बेरोजगारीका कारण सर्वसाधारण थप समस्यामा परेको उनको भनाइ थियो।

खेलकुद, विपद् र चितवन राष्ट्रिय निकुञ्जको विषय

सांसद मनीष खनालले युवालाई खेलकुद र मनोरञ्जनसँग जोड्ने कार्यक्रम बढाउनुपर्ने बताए।

उनले नेपालमा प्राकृतिक विपत्ति आउँदा अन्तर्राष्ट्रिय खेलकुद समुदायले देखाउने चासो र सहयोगलाई नेपालले प्रभावकारी रूपमा उपयोग गर्न नसकेको बताए।

उनका अनुसार नेपालमा विपत्ति हुँदा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा मौनधारण गर्ने, सामाजिक सञ्जालमार्फत समर्थन जनाउने र सहयोगका लागि अपिल गर्ने गरिन्छ। यस्तो सहयोगलाई नेपालले खेलकुद कूटनीतिमार्फत अझ प्रभावकारी बनाउन सक्ने उनले बताए।

खनालले चितवन राष्ट्रिय निकुञ्ज आसपासका व्यवसाय र बफर जोनमा बस्ने स्थानीयका समस्याबारे पनि कुरा उठाए। त्यहाँका स्थानीयले पछिल्लो समय थप कठिनाइ भोग्नुपरेको उनले बताए।

सांसद प्रशान्त उप्रेतीले त्रिशूली सडकमा बारम्बार हुने अवरोधको विषय उठाए। सडक बन्द हुँदा भीमफेदी–हेटौंडा सडकमा थप चाप पर्ने भन्दै उनले वैकल्पिक सडकको तयारी गर्न सरकारलाई आग्रह गरे।

खानेपानीजस्ता आधारभूत सेवाका विषयमा समेत नागरिकले अझै प्रश्न उठाउनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

बैठकमा खिमा बीके, स्मृति सेन्चुरी, सुलभ खरेल, केपी खनाललगायत अन्य सांसदहरूले पनि विभिन्न समस्या र सुझाव प्रधानमन्त्रीसमक्ष राखेका थिए।

सुझाव कार्यान्वयन गर्ने शाहको प्रतिबद्धता

बैठकको अन्त्यमा शाहले रोजगारी र त्यससँग जोडिएका विषय सरकारका मुख्य प्राथमिकतामा रहेको बताए। उनले युवा सांसदहरूलाई आफ्नो जिम्मेवारीमा पनि उत्तिकै ध्यान दिन आग्रह गरे।

शाहले युवा सांसदहरूसँग यसअघि नै भेट्न चाहेको भए पनि विभिन्न कारणले बैठक हुन ढिला भएको बताए।

सांसदहरूले दिएका सुझावमध्ये सम्भव भएसम्म धेरै सुझाव कार्यान्वयन गर्ने प्रयास गर्ने प्रतिबद्धता पनि उनले जनाए।

युवा सांसदहरूका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या र गुनासा राख्ने यो अवसर बनेको थियो। उनीहरूले बेरोजगारी, मल अभाव, विभेद, स्वास्थ्य, सडक, खानेपानी र सरकारी निकायको कामकारबाहीजस्ता विषय उठाए।

प्रधानमन्त्री शाहले भने युवा सांसदहरूलाई संसद्मा युवा हुनु मात्रै पर्याप्त नहुने सन्देश दिएका छन्। उनीहरूले आफ्नै सोच विकास गर्नुपर्ने, विषयको अध्ययन गर्नुपर्ने र पुरानो पुस्ताको राजनीतिक शैलीलाई मात्र पछ्याउन नहुने उनको जोड थियो।

पूर्ण भारद्वाज
लेखक
पूर्ण भारद्वाज

पूर्ण भारद्वाज काठमाडौंस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक तथा समसामयिक विषयका विविध पक्षलाई समेट्दै विभिन्न समकालीन विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।