काठमाडौँ । सन सेक्युरिटिज प्रालिले मनीमेज इस्लिङ्टन कम्युनिटीको सहकार्यमा इस्लिङ्टन कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ।
भदौ ८, २०८३ देखि सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरूले सिमुलेसन प्लेटफर्ममार्फत शेयर खरिद–बिक्रीको अभ्यास गरेका थिए। प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई शेयर बजारको कारोबार, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनबारे व्यावहारिक जानकारी दिनु रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताका क्रममा सहभागीहरूले बजारको अवस्था र विभिन्न कम्पनीको प्रदर्शनका आधारमा लगानीसम्बन्धी निर्णय लिएका थिए। सिमुलेसनमा वास्तविक रकम प्रयोग नगरिने भएकाले विद्यार्थीले बजारमा हुने सम्भावित उतारचढाव र लगानी निर्णयको प्रभावलाई अभ्यासमार्फत बुझ्ने अवसर पाएका थिए।
आयोजकका अनुसार प्रतियोगिताको अन्तिम नतिजामा अछुर्णा काफ्ले विजेता बनेकी छन्। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। अरुण भण्डारी प्रथम उपविजेता बन्दै १५ हजार रुपैयाँ र सोनु कुमार द्वितीय उपविजेता बन्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
सन सेक्युरिटिजले विद्यार्थी तथा युवा पुस्तामा वित्तीय साक्षरता र पूँजी बजारसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। कम्पनीका अनुसार यस्ता सिमुलेसन कार्यक्रमले विद्यार्थीलाई वास्तविक लगानी नगरी शेयर बजारको अभ्यास गर्न र लगानीसम्बन्धी निर्णय प्रक्रियाबारे बुझ्न सहयोग गर्न सक्छ।
प्रतियोगिता सम्पन्न भएपछि सन सेक्युरिटिजले सहभागी विद्यार्थी तथा विजेताहरूलाई बधाई दिएको छ। प्रतियोगिता सञ्चालनमा सहकार्य गरेको इस्लिङ्टन कलेज र मनीमेज इस्लिङ्टन कम्युनिटीप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा विद्यार्थी तथा युवालाई लक्षित गरी वित्तीय साक्षरता, पूँजी बजार शिक्षा र लगानीसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
