सारांश
  • तिहारको अवसरमा नेपाली मौलिक संस्कृति र चाडपर्वको उल्लास समेटिएको नयाँ म्युजिक भिडियो ‘गाउँघरै घमाइलो’ सार्वजनिक भएको छ।
  • भीमकुमार ओझाको शब्द र लगानी रहेको यस गीतमा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ।
  • गीतले आधुनिकतासँगै ओझेल पर्दै गएका मौलिक परम्पराको संरक्षण र नयाँ पुस्तालाई सांस्कृतिक महत्त्वबारे जानकारी दिने लक्ष्य राखेको छ।
  • भिडियोमा तिहारको झिलिमिली, देउसी-भैलो र पारिवारिक आत्मीयता प्रस्तुत गर्दै विशेषगरी प्रवासी नेपालीलाई गाउँघरको सम्झना गराउन खोजिएको छ।

काठमाडौं । तिहारलाई लक्षित गर्दै तयार पारिएको नेपाली मौलिक संस्कृति, गाउँघरको आत्मीयता र चाडपर्वको उल्लास समेटिएको गीत ‘गाउँघरै घमाइलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। २०८३ सालको तिहारका अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली समाजका सांस्कृतिक परम्परा, पारिवारिक सम्बन्ध र चाडपर्वसँग जोडिएका भावनालाई प्रस्तुत गरेको छ।

पूर्वी नेपालका गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द तथा लगानीमा तयार भएको गीत उहाँकै आधिकारिक युट्युब च्यानल Bhim Kumar Ojha Official मार्फत सार्वजनिक गरिएको हो।

गीतमा संगीतकार सन्तोष बिसीको संगीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर रहेको छ। नारायण दङ्गालले संगीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुले प्राविधिक योगदान दिएका छन्।

कोरियोग्राफर यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा स्वयं, उहाँकी धर्मपत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्का देखिएका छन्।

गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ मनोरञ्जनमा मात्र सीमित नभई गाउँघरको सम्झना, नेपालीपन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो। आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका मौलिक परम्परा र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तामाझ परिचित गराउँदै तिनको संरक्षण र निरन्तरतामा योगदान पुर्‍याउनु गीतको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

गीतमा तिहारको झिलिमिली, आँगनमा बल्ने दीप, देउसी–भैलोको गुञ्जन तथा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयतालगायत नेपाली जनजीवनसँग जोडिएका सांस्कृतिक पक्षलाई समेटिएको छ। गीत तथा दृश्यका माध्यमबाट चाडपर्वको उल्लास र पारिवारिक सम्बन्धको महत्त्व प्रस्तुत गर्ने प्रयास गरिएको छ।

विशेषगरी रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउनुका साथै स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति र परम्पराप्रतिको अपनत्व अभिवृद्धि गर्ने अपेक्षा गीतबाट गरिएको छ।

गीत सार्वजनिक गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गर्दै गीतकार ओझाले आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्‍याउन पाउनु सुखद अनुभूति भएको बताउनुभयो।

‘गाउँघरै घमाइलो’ ले तिहारको उल्लाससँगै पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र मौलिक संस्कृतिको संरक्षणको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

यस्तो छ ‘गाउँघरै घमाइलो’।https://youtu.be/pljd_y74thE?si=2OvbilYLIFUWhDNP

https://youtu.be/pljd_y74thE?si=2OvbilYLIFUWhDNP

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।