- 'लालीबजार' चलचित्रले बादी समुदायको इतिहास र आत्मसम्मानमा चोट पुर्याएको भन्दै नेपाल दलित उत्पीडित केन्द्रले निर्मातासँग क्षतिपूर्ति माग गरेको छ।
- चलचित्रले समुदायलाई नकारात्मक रूपमा चित्रण गरी व्यावसायिक लाभ लिएको भन्दै यसको डिजिटल प्रसारण तत्काल रोक्न माग गरिएको छ।
- सर्लाहीका निसान मैनालीले महतो परिवारको जग्गा र नगद गरी करिब दुई करोड रुपैयाँ ठगी गरेको अर्को गम्भीर आरोप सार्वजनिक गरिएको छ।
काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्रले ‘लालीबजार’ चलचित्रले बादी समुदायको इतिहास, सामाजिक पहिचान र आत्मसम्मानमा चोट पुर्याएको आरोप लगाउँदै निर्मातासँग क्षतिपूर्ति माग गरेको छ। केन्द्रले चलचित्रको डिजिटल प्रसारण रोक्नसमेत माग गरेको छ।
मंगलबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा केन्द्रका पदाधिकारी तथा बादी समुदायका प्रतिनिधिले चलचित्रको कथावस्तु र पात्रहरूको चित्रणले समुदायलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाए। उनीहरूले शक्ति केन्द्रको प्रभावमा चलचित्र प्रदर्शन गरिएको दाबी गर्दै त्यसको पुनरावलोकन र आवश्यक कारबाहीको माग गरे।
नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानेले चलचित्रले बादी समुदायको इतिहासलाई विकृत रूपमा प्रस्तुत गरेर व्यावसायिक लाभ लिएको आरोप लगाए। चलचित्र हलमा प्रदर्शन भइसके पनि अब डिजिटल माध्यमबाट प्रसारण गर्ने तयारी भइरहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताए।
“हलमा करिब १० लाखले चलचित्र हेरे, करोडौँ कमाए। अब त्यसलाई डिजिटल माध्यममा लैजान खोजिँदै छ,” घतानेले भने।
उनले चलचित्र निर्माण र प्रदर्शनका क्रममा समुदायका सरोकारलाई बेवास्ता गरिएको आरोपसमेत लगाए। चलचित्रको डिजिटल प्रसारण रोक्न र समुदायलाई परेको भनिएको क्षतिको उचित सम्बोधन गर्न उनले माग गरे।
कार्यक्रममा अभियन्ता डा. रोशनी बादीले पनि चलचित्रले दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएको बताइन्। कथावस्तु र पात्रहरूको चित्रणले समग्र बादी समुदायलाई नकारात्मक रूपमा प्रस्तुत गरेको उनको आरोप थियो।
चलचित्रबारे पुनरावलोकन गर्न माग गर्दा पनि सुनुवाइ नभएको भन्दै बादीले असन्तुष्टि व्यक्त गरिन्। चलचित्रलाई रोक्नुको सट्टा व्यावसायिक लाभ कमाउने माध्यम बनाइएको उनको भनाइ थियो। उनले बादी समुदायको मानमर्दन भएको दाबी गर्दै सरकारसँग चलचित्रका निर्मातामाथि आवश्यक कारबाही गर्न माग गरिन्।
कार्यक्रममा वक्ताहरूले चलचित्रको विषयवस्तुले समुदायको सामाजिक प्रतिष्ठा र पहिचानमा पार्न सक्ने प्रभावबारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका थिए। यद्यपि, चलचित्र निर्माण पक्षको प्रतिक्रिया र यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा उपलब्ध हुन सकेको छैन।
महतो परिवारलाई करिब दुई करोड रुपैयाँ ठगी गरेको आरोप
सोही कार्यक्रममा सर्लाहीको बरहथवा नगरपालिका–९ का निसान मैनाली र उनको परिवारले उमाकुमारी देवी महतोको परिवारलाई करिब दुई करोड रुपैयाँ बराबरको ठगी गरेको आरोपसमेत सार्वजनिक गरिएको छ।
उमाकुमारीका श्रीमान् भागनारायण महतोले आफू विदेशमा रहेका बेला श्रीमतीले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको विषयमा जग्गा र रकमसमेत गुमाउनुपरेको दाबी गरे। उनका अनुसार उक्त कारोबारका क्रममा १० कट्ठा जग्गा र ६५ लाख रुपैयाँसमेत ठगी भएको छ।
भागनारायणले मैनालीले शक्तिको आडमा गैरकानुनी रूपमा चार दिनभित्र उमाकुमारीका नाममा दुईवटा जग्गाधनी प्रमाणपुर्जा बनाएको र पछि ती जग्गा आफ्नी आमा निर्मला पन्त मैनालीका नाममा नामसारी गराएको आरोप लगाए।
न्यायका लागि आफूहरू गृहमन्त्री सुदन गुरुङ र कानुनमन्त्री सोविता गौतमसम्म पुगेको उनले बताए। सम्बन्धित मन्त्रीहरूले न्याय दिलाउने आश्वासन दिए पनि हालसम्म न्याय नपाएको उनको भनाइ छ।
महतो परिवारले लगाएका आरोपबारे निसान मैनाली तथा सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएको छैन। जग्गा नामसारी, ऋण कारोबार र कथित ठगीसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि तथा सम्बन्धित निकायको आधिकारिक धारणा पनि उपलब्ध हुन सकेको छैन।
