- किर्गिस्तानको आईएलपीएमएस विश्वविद्यालयले गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई साहित्य र संगीतमा पुर्याएको योगदानबापत मानार्थ विद्यावारिधि (डीएचएल) बाट सम्मानित गरेको छ।
- भारतको जयपुरमा आयोजित विशेष समारोहमा राजस्थानका उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवाको प्रमुख आतिथ्यमा उनलाई सो उपाधि प्रदान गरियो।
- विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका डा. उपाध्यायले प्राप्त गरेको यो दशौँ मानार्थ विद्यावारिधि हो।
- साहित्य र संगीतमा सक्रिय उनका १७ उपन्यास, ३६ एल्बम र २५० भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन्।
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधिबाट सम्मान गरिएको छ। साहित्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधि प्रदान गरेको हो।
भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधिले डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए।
समारोहमा राजस्थानका उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवा प्रमुख अतिथिका रूपमा सहभागी थिए। राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान तथा पद्मश्री पुरस्कार विजेता एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम. वलीलगायतको उपस्थिति थियो।
विश्वविद्यालयले प्रदान गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा डा. उपाध्यायको साहित्य र संगीत क्षेत्रप्रतिको योगदान, उपलब्धि, समर्पण तथा सामाजिक प्रभावको प्रशंसा गरिएको जनाइएको छ। समारोहमा उनलाई साहित्य तथा संगीत क्षेत्रमा गरेको योगदान र उपलब्धिका लागि स्मृतिचिह्नसमेत प्रदान गरिएको थियो।
डा. उपाध्यायले यसअघि विभिन्न नौ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरिसकेको जनाइएको छ। समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका उनलाई आईएलपीएमएस विश्वविद्यालयबाट प्रदान गरिएको उपाधि दशौँ मानार्थ विद्यावारिधि भएको बताइएको छ।
गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन्। उनका करिब २५० गीत सार्वजनिक भएको र तीमध्ये केहीका भिडियोसमेत निर्माण भएको जनाइएको छ।
उनका पछिल्ला कृतिमा उपन्यास ‘आशक्ति’ र कवितासंग्रह ‘अन्तसंस्करण’ रहेका छन्। पछिल्लो समय उनका ‘श्रीराम’ र ‘हरे कृष्ण’ नामका दुई भजनसमेत सार्वजनिक भएका छन्।
डा. उपाध्यायले विभिन्न विधामा १५३ वटा विश्व कीर्तिमान कायम गरेको दाबी गरिएको छ। उनका विश्व कीर्तिमानसम्बन्धी उपलब्धिहरू विभिन्न रेकर्ड संस्थासँग सम्बन्धित रहेको बताइएको छ।
