काठमाडौं । गीतसंगीत, चलचित्र, कला, साहित्य तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका स्रष्टा, कलाकार तथा सञ्चारकर्मीलाई सम्मान र अवार्ड प्रदान गर्दै ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ ।
यमन इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा काठमाडौंको नयाँबानेश्वरस्थित आइएनआइ सिनेमाहलमा आयोजित समारोहमा विभिन्न विधाका स्रष्टा तथा कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालिका अध्यक्ष पूर्णबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुश्मा प्रोडक्सन ग्लोबल, सिक्किमकी सञ्चालक सुश्मा गुरुङ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
समारोहमा वरिष्ठ गायिका तारा थापालाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिएको थियो । नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप थापालाई उक्त सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक तारावीर पाण्डेले बताउनुभयो । महाकाव्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको थियो ।
त्यस्तै, वरिष्ठ गीतकार अम्बिका गुरुङ, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, फुर्बा खाण्डु गुरुङ, प्रेमचन्द्र गुरुङ, रिकि लेप्चा, सविना भण्डारी, खिमानन्द आचार्य, शीतल कात्मविनी, शिव पराजुली, सुशील नेपाल, तुलसी बास्कोटा, शर्मिला गौतम र सोमराज तामाङलगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो । पत्रकारितातर्फ स्वतिका पन्थीलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा गीतसंगीत, चलचित्र, कला तथा साहित्यलगायत विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा र कलाकारलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार स्थापित कलाकारसँगै विभिन्न विधामा योगदान पुर्याइरहेका नयाँ पुस्ताका कलाकारलाई समेत यस वर्षको अवार्डमा समेटिएको छ ।
समारोहकै अवसरमा सिक्किमका गायक छविन गुरुङको नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको थियो । गुरुङकै शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो तारावीर पाण्डेको निर्देशनमा तयार भएको हो । भिडियोमा छविन गुरुङसँगै कविता आले, पवित्रा आचार्य र प्रेमचन्द्र गुरुङलगायतले अभिनय गर्नुभएको छ । बाल कलाकारतर्फ एलेक्स खड्का र संयम कटवालले अभिनय गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको गीतको भिडियोको दृश्य सम्पादन तथा कलर राकेश दाहालले गर्नुभएको हो । गीत ‘आमा’मार्फत पारिवारिक सम्बन्ध र आमाप्रतिको भावनालाई प्रस्तुत गर्न खोजिएको निर्माण पक्षले जनाएको छ ।
अवार्ड समारोहमा नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रका कलाकार, सर्जक, निर्देशक तथा प्राविधिकलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । पल शाह, प्रकाश सपुत, अर्जुन पोख्रेल, शिव परियार, डिपी खनाल, हरि सायमी, शंकर थापा ‘स्माइल’, छविन गुरुङ, प्रताप दास, बबिना भट्टराई, सारिका घिमिरे, सरोज पोख्रेल, रोकश दाहाल, सिमरन परियार, ईश्वरी बराल, नकुल कार्की, शुक्र आम्बुराङ राई, सुन्दर हाङ राई, रश्मि पाण्डे, नरहरि प्रेमी, निशा देशार, रचना रिमाल, षडष सम्बाहाम्फे, शेरु बराइली, बुद्धिमान बराइली, विनोद दनुवार, सुशील भट्टराई, मञ्जु लावती, शक्ति थामी, राजु हाङदम्बे र प्रकाश खरेललगायतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी संगीता भण्डारी, सुनिता बुर्लाकोटी लुइँटेल, अनिश योञ्जन, सञ्जीव वाइवा, विजय दोङ, मुकेश गुरुङ, पासाङ शेर्पा, ज्ञानेन्द्र शर्मा हुमागाईं, सुनिल राउत, निर्देशक अर्जुन पोख्रेल, निशान एसके, विनोद बम, सुशील डागी, शिला गजुरेल, पवित्रा आचार्य, बबिना किराती, प्रशान्त सिवाकोटी, डम्बर नेपाली, जुरी ठाकुर र सोम मङरातीलगायतलाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
ई–हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौड्याललाई पत्रकारिता अवार्ड प्रदान गरिएको थियो ।
आयोजकले ‘यमन ग्लोबल म्युजिक अवार्ड’मा संगीतका पर्दापछाडिका स्रष्टा तथा प्राविधिकलाई समेत समेटेको जनाएको छ । पहिलोपटक वाद्यवादकलाई समेत अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ । तालवादनतर्फ भुवन गन्धर्व र बाँसुरीवादनतर्फ रत्न विकलाई अवार्ड प्रदान गरिएको थियो ।
संगीत सिर्जनामा गायक–गायिकासँगै विभिन्न वाद्यवादकको योगदान महत्त्वपूर्ण हुने भएकाले उनीहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यले वाद्यवादकतर्फ समेत अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक सम्बाहाम्फे प्रपर्टी डेभलपर्स प्रालि तथा सह–प्रायोजक मन्टेश्वरी एसोसिएसन नेपाल रहेका थिए ।
अवार्ड संयोजक तारावीर पाण्डेले गीतसंगीत क्षेत्रका स्रष्टा तथा सर्जकको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको बताउनुभयो । नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रको विकासमा योगदान पुर्याइरहेका विभिन्न पुस्ताका कलाकार तथा सर्जकलाई एउटै मञ्चमा ल्याउने प्रयासस्वरूप कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।
संगीत सिर्जनाका साथै वाद्यवादन, चलचित्र, कला, साहित्य र पत्रकारिता क्षेत्रलाई समेत समेटेर अवार्डलाई फराकिलो बनाइएको पाण्डेले बताउनुभयो ।
अवार्डका अध्यक्ष पारिजात बरालले आगामी दिनमा कार्यक्रमलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । आगामी संस्करणमा विभिन्न विधा र क्षेत्रलाई थप व्यवस्थित रूपमा समेट्दै नेपाली कला तथा संगीत क्षेत्रका स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । अवार्डलाई आगामी दिनमा अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि उहाँको भनाइ थियो ।
